प्रकाश न्यौपाने
भैरहवा । जिल्लामा प्रत्येक वर्ष घरेलु उद्योगको संख्या बृद्धि हुँदै गएको छ । यहाँ संचालित घरेलु उद्योगमा साढे १८ हजार बढीले रोजगारी पाएका छन् । सानो लगानीबाट मनग्य आम्दानी हुने भएपछि उद्योग स्थापना गर्नेक्रम बढ्दै गएको छ ।
उद्योग बढेसँगै रोजगारी समेत बृद्धि भएको घरेलु तथा साना उद्योग कार्यालय रुपन्देहीका निमित्त प्रमुख युबराज पौडेलले बताए ।कार्यालयका अनुसार पछिल्लो समय जिल्लामा स्थापित घरेलु उद्योगहरुले रोजगारी प्रशस्त मात्रामा सिर्जना गरेका छन् । यहाँका घरेलु उद्योगहरुमा १८ हजार ७ सय ६२ जना रोजगारत छन् ।
महिला मात्रै ३ हजार ९ सय ७९ छन् । पुरुष १४ हजार ७ सय ८३ छन् । ‘उद्योगहरु बढ्दै जाँदा महिलाहरु प्नि धेरैले रोजगारी पाएका छन्, यो सकारात्मक पाटो हो’, निमित्त कार्यालय प्रमुख पौडेलले भने, ‘स्वदेशमै काम गर्छौ भन्ने महिला–पुरुष दुवैलाई रोजगारीका अवसरहरु बढ्दै गएका छन्, यो मुलुकको हितका लागि अत्यन्तै सबल पक्ष हो ।’
लगानीमैत्री वातावरण बन्दै जाँदा महिला उद्यमीहरुको संख्या पनि बढेको छ । जिल्लामा महिला उद्यमीहरुको संख्या ३ हजार १ सय ६ छ । पुरुष उद्यमीहरु ८ हजार ८ सय २७ छ । गत आर्थिक वर्ष २०७४-७५ मा मात्रै रुपन्देहीमा १ हजार ९० घरेलु तथा साना उद्योग दर्ता भएका छन् । जसमा सबैभन्दा बढी उत्पादनमूलक उद्योग छन् । उत्पादनमूलक उद्योग ४ सय २८ छन् । यस्तै सेवामूलक २ सय ९१, पर्यटनमूलक उद्योग १ सय ८० र कृषि तथा वनजन्य उद्योग १ सय ९० वटा छन् ।
घरेलु तथा साना उद्योग कार्यालयका अनुसार असार मसान्तसम्म यहाँ सञ्चालनमा रहेका साना तथा घरेलु उद्योगहरुको चालु पुँजी मात्रै ८ अर्ब ६० करोड ३९ लाख ६१ हजार ८ सय ७२ रुपैयाँ छ । निमित्त प्रमुख पौडेलका अनुसार यहाँ दर्ता भएका उद्योगहरुको स्थिर पूँजीमात्रै १२ अर्ब ३० करोड ९६ लाख ९० हजार ७ सय ७९ रुपैयाँ छ । ‘रुपन्देहीमा घरेलु तथा साना उद्योग ब्यवसाय गर्नेहरुको संख्या निरन्तर बढ्दो छ, उद्योग संख्या बढेसंगै लगानी समेत उल्लेख रुपमा बढीरहेको छ’, उनले भने, ‘यसले रोजगारी त बढाएको छ नै मुलुकलाई आत्मनिर्भरतर्फ उन्मुख समेत गराएको छ ।’
घरेलु तथा साना उद्योमा ३ करोडसम्म स्थिर पूँजी रहेका ब्यवसायिक प्रतिष्ठानहरु दर्ता हुने व्यवस्था छ । ३ करोडमाथिको पूँजी भएका उद्योगहरु उद्योग बिभागमा दर्ता हुन्छन् । जिल्लामा असार मसान्तसम्म विभिन्न प्रकृतिका गरी जम्मा ११ हजार ९ सय ३३ घरेलु तथा साना उद्योगहरु दर्ता भएका छन् । ती उद्योगहरुमा उत्पादनमूलक ५ हजार ६ सय ८० बढी छन् । यस्तै सेवामूलक ३ हजार २ सय ९०, पर्यटनमूलक २ हजार २ सय ५ र कृषि तथा वनजन्य उद्योग ७ सय ४५ छन् ।
घरेलु उद्योग तथा व्यवसाय गर्न सहज हुनु, कच्चा पदार्थ पर्याप्त हुनु, उत्पादनपछि ढुवानी सहज हुनु, लुम्बिनी जस्तो महत्वपूर्ण धार्मिकस्थल हुनु, निर्माणाधीन गौतमबुद्ध विमानस्थल संचालनको अपेक्षा जस्ता कारणले पनि जिल्लामा घरेलु तथा साना उद्योग स्थापना गरी सञ्चालन गर्नेको संख्या हरेक वर्ष बढ्दै गएको सिद्धार्थ उद्योग बाणिज्य संघका महासचिव नेत्रप्रसाद आचार्य बताउँछन् ।
‘उद्योगहरुको संख्या र रोजगारी बृद्धि हुनु हामी सबैलाई सकारात्मक पक्ष हो’, आचार्यले भने, ‘यसले राष्ट्रिय अर्थतन्त्रमा पनि उल्लेख्य टेवा पुर्याउँछ ।’ उनले अझै पनि उद्योग बाणिज्यको क्षेत्रमा धेरै नीतिगत समस्याहरु रहेकोले त्यस्ता समस्याहरु समाधान गर्न सके थप लगानी बृद्धि हुने र आकर्षण बढ्ने उल्लेख गरे ।