प्रेम बुढा
बर्दिया । नगर तथा गाउँपालिका क्षेत्रका किराना पसलहरुले म्याद नाघेका खाद्य वस्तुहरु विक्री वितरण गर्ने क्रम नरोकिएपछि त्यसलाई रोक्न जिल्ला प्रशासन कार्यालय बर्दियाले व्यापारीलाई कार्वाही गर्ने पक्रिया अघि बढाएको छ ।
भदौ १ गतेबाट लागु भएको मुलुकी अपराध संहिता अनुसार अखाद्य वस्तु बेचविखन गर्ने व्यापारीहरुलाई कार्वाहीको दायरामा ल्याउने गरि प्रशासन कार्यालय बर्दियाले बजार अनुगमनलाई तिव्रता दिएको हो ।
मुलुकी अपराध संहिता २०७४ को दफा १ सय ९ मा अखाद्य वस्तु विक्री गर्ने व्यापारीहरुलाई ३ बर्ष कैद र ३० हजार जरिवाना वा दुवै सजाय हुने नयाँ व्यवस्था तोकिए छ । उक्त कानुन व्यवस्थाको कार्यान्वयनका लागि जिल्ला प्रशासन कार्यालय बर्दियाले अग्रसरता देखाएको हो ।
पहिलो चरणमा जिल्लाका मुख्य बजारका किराना पसलहरुमा अनुगमन गर्ने र उद्योग वाणिज्य संघलाई कानुन कार्यान्वयनमा चलाएमान बनाउने गरि बजार अनुगमन सुरु गरिएको प्रशासकीय अधिकृत अर्जुन सुवेदीले बताउनुभयो । उहाँका अनुसार प्रशासन कार्यलयले मधुवन नगरपालिकाका बजारमा शुक्रबार अनुगनम गरि जफत भएका म्याद सकिएका स्वास्थ्यहित विपरितका सामान नष्ट गरिएको छ । यस अघिको कानुनमा अनुगमनका क्रममा फेला परेका म्याद नाघेका अखाद्य सामाग्री जफत गरि नष्ट गर्ने व्यवस्था भए पनि त्यस्ता सामाग्री विक्रि गर्ने व्यापारीलाई कार्वाही गर्न सकिएको थिएन ।
नँया मुलुकी संहितामा व्यवस्था भएको सजायका बारे सम्पूर्ण व्यापारीलाई जानकारी गराईने र निश्चित समयपछि अटेरी गर्ने व्यापारीलाई पक्राउ गरि कार्वाही गर्ने रणनिति अवलम्बन गरिएको प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङ्गले बताउनुभयो । यस अघी कानुनको दायरा फराकिलो नहुँदा पसलमा मूल्य सूची नराख्ने,उपभोक्तालाई म्याद गुज्रेका सामान विक्रि गर्दै केही व्यापारीले मनोमानी गर्दै आएका राष्ट्रिय उपभोक्ता मञ्च बर्दियाका अध्यक्ष विष्णु प्रसाद तिमिल्सिनाको भनाई छ ।
प्रशासनले गैर कानुनी ढंगले अखाद्य वस्तु विक्री गर्ने व्यापारीलाई पक्राउ गरि कार्वाही गर्ने तयारी गरेपछि जिल्लाका उद्योग वाणिज्य संघहरुले सवै व्यापारिलाई कानुनी सचेतनाको लागि समय दिन माग गरेका छन ।‘पुरानो कानुनी व्यवस्था अनुसार सबै व्यापारी सचेत थिए’उद्योग वाणिज्य संघ कुसुम्बा बजारका अध्यक्ष देवेन्द्र प्रसाद तिमिल्सिनाले भन्नुभयो‘नयाँ कानुनको सबै व्यापारीलाई ज्ञान नभएको हुन सक्छ, हामीले सबै व्यापारीहरुसंग छलफल गर्नुपर्छ ।’
बजार क्षेत्रका होलसेल व्यापारीहरुले गाउँका खुद्रा पसलेहरुलाई म्याद सकिएका र म्याद सकिनै लागेका सामाग्री विक्रि गर्ने गरेका कारण बजार भन्दा गाउँ क्षेत्रका पसलहरुमा पछिल्लो समय अखाद्यबस्तु विक्री गर्ने बढेका छन । नँया मुलुकी संहिताले कानुन विपरित गर्ने व्यापारीलाई कार्वाही गर्ने व्यवस्था गरे पछि मिसावट गरिएका, म्याद गुज्रिएका हानिकारक सामान प्रयोग नहुँदा धेरैलाई फाईदा हुने भन्दै उपभोक्ताहरु भने खुशी भएका छन ।