प्रकाश न्यौपानेभैरहवा । श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरीसेनाले शनिबार बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमण गर्नुभएको छ । काठमाडौंमा भएको विमेस्टेक सम्मेलनमा भाग लिन नेपाल आउनुभएका सिरीसेना सम्मेलन सकिएपछि शनिबार बिहान काठमाडौंबाट चार्टर विमान मार्फत् भैरहवामा रहेको गौतमबुद्ध विमानस्थल अवतरण गरी कडा सुरक्षाकाबीच स्थलमार्ग हुँदै बुद्ध जन्मस्थल लुम्बिनी पुग्नु भएको थियो ।
दम्पत्तिसहित लुम्बिनीमा भ्रमणमा आउनु भएका राष्ट्रपति सिरीसेनालाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी, प्रदेश ५ का प्रमुख उमाकान्त झा, प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरी, लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्य (अवदेश कुमार त्रिपाठी), सांसद नविना लामा, प्रदेश पाँचका प्रहरी शेरबहादुर बस्नेत र प्रमुख जिल्लाअधिकारी उदय बहादुर रानामगरले स्वागत गर्नु भएको थियो । यस्तै राष्ट्रपति सिरीसेनाको स्वागतका लागि लुम्बिनीलाई लुम्बिनी विकास कोषले झकिझकाउ बनाएको थियो ।
त्यसपछि उहाँले मायादेवी मन्दिरमा आफ्नो परम्परा अनुसार पुजाआजा गर्नुभयो । राष्ट्रपति सिरीसेनाले मायादेवी मन्दिर परिवरमा दीप प्रज्वलन गरी विश्व शान्तिको कामना समेत गर्नु भएको थियो । सोही ठाउँमा श्रीलंकन भिक्षुहरुले शान्ति पाठ समेत गरेका थिए । उहाँ शान्ति पाठमा सहभागी भएपछि मायादेवी मन्दिर परिसरमा आयोजित विशेष समारोहमा सरिक हुनुभयो ।
समारोहमा संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रविन्द्र अधिकारीले गौतमबुद्धको जन्मस्थल र लुम्बिनीको महत्वका बारेमा राष्ट्रपति सिरीसेनासहित उहाँको भ्रमण दलका सदस्यहरुलाई जानकारी गराउनुभयो ।
लुम्बिनीको बारे बताउँदै मन्त्री अधिकारीले लुम्बिनीलाई शान्तिको सहर र विश्व शान्तिको मुहानका रुपमा विकास गर्न लागेको भन्दै अभियानमा अन्तर्राष्ट्रिय समुदायको समेत साथ र सहयोग रहने अपेक्षा व्यक्त गर्नुभयो । मन्त्री अधिकारीले लुम्बिनीमा विश्वका सबै बौद्ध सम्पदाको विकास हुँदै गएको बताउँदै लुम्बिनी गुरुयोजना पूरा हँुदा यो संसारकै आकर्षक स्थल हुने बताउनुभयो । ‘नेपाल सरकारले लुम्बिनीको विकास गर्न श्रीलंका सरकारसँग सधै हातेमालो गर्न तयार छ’, मन्त्री अधिकारीले भन्नुभयो, ‘लुम्बिनी विश्वको शान्ति सहर हो, बौद्धमार्गीहरुको उद्गम थलो पनि हो । यहाँको बृहतर विकासका लागि गुरुयोजना अन्तिम चरणमा पुगेको छ, यसलाई छिट्टै पुरा गर्छौ ।’
श्रीलंकाका राष्ट्रपति सिरीसेनाका तर्फबाट विदेश मामिला मन्त्रालयका सचिव रविनाथा पि आर्यसिंहाले बोल्दै भगवान बुद्धको जन्मस्थल लुम्बिनीको विकास र गुरुयोजना पूरा गर्न श्रीलंकन सरकार सहयोग गर्न तयार रहेको बताउनुभयो । उहाँले लुम्बिनीलाई धेरै बौद्धमार्गीहरुको केन्द्र रहेकाले पवित्र ठाउँको विकासमा आफूहरु सधै लाग्ने बताउनुभयो । मायादेवी मन्दिर परिसरमा भएको विशेष समारोहमा राष्ट्रपति सिरीसेनालाई पर्यटनमन्त्री अधिकारीले मायाको चिनो स्वरुप बुद्ध मूर्ति प्रदान गर्नु भएको थियो । राष्ट्रपति सिरीसेनाले आगन्तुक पुस्तिकामा सानो हरफ लेखेर हस्ताक्षर गर्नु भएको थियो ।
त्यसपछि राष्ट्रपति सिरीसेनाले श्रीलंकन गुम्बाको अवलोकन गर्नुभएको थियो । अवलोकनपश्चात उहाँ श्रीलंकन गेष्टहाउसमा पुग्नुभएको थियो । उहाँ शनिबारै काठमाडौं फर्कनु भएको छ । राष्ट्रपति सिरीसेना लुम्बिनी आउँदा लुम्बिनी र आसपासको क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको थियो । सुरक्षाका लागि सुरक्षा निकायका ४ वटै अंग परिचालन भएका थिए ।
सुरक्षाका लागि बिहान ८ बजेदेखि नै भैरहवा लुम्बिनी सडक खण्डमा सर्वसाधरणलाई निषेध गरिएको थियो । अतिविशिष्ट पाहुनाको सुरक्षामा कमी आउन सक्ने भन्दै लुम्बिनीमा दिनभर नै सर्वसाधरण, आन्तरिक तथा बाह्य पर्यटकलाई प्रवेश निशेध गरिएको थियो ।