[caption id="attachment_61910" align="alignleft" width="106"]
–रञ्जन भण्डारी[/caption]
हो स्तब्ध छु, किनकी विश्वास छैन । कानमा सात महिनाकी अबोध बालिकासँग दुष्कर्म गरी मारेको खबर सुनाए । त्यसैबेला स्तब्ध भएँ । फेरि तीन वर्षीया बालिका गतवर्ष मात्र उनकै मामा पर्नेबाट करणीमा परेको घटना सम्झिएँ । त्यतिबेला पनि स्तब्ध थिएँ । ६ वर्षीय बालकसँग दुष्कर्म गरेको अर्को युवकको पनि खबर बाहिरिएको थियो । पटकपटक स्तब्ध बनेँ तर आफैँलाई असहायका अलावा कहीँ बलियो देखाउन सकिनँ समाजमा ।
कलम समाजमा सकारात्मक परिवर्तनका लागि चल्ने गरे पनि बालक वा बालिकासँग हुने दुष्कर्म नियन्त्रणमा बहादुर बनेर प्रस्तुत हुन सकेको छैन । अझ यसो भनौँ, दुष्कर्म रोक्न सकिएको छैन । पछुताउँदै छु, कुन पेशा रोजेँ । अबोध बालक बालिका नरपिसाचको सिकार हुँदै गरेका समाचार दर्जनौँपटक लेख्दैमा करियर बूढो हुँदैछ । हरेक पटक घटनामा साक्षी करार छु । फलानाले यति वर्षीया बालिका बलात्कार गर्यो, अपहरण गर्यो वा मार्यो । आखिर किन हामी सञ्चारकर्मी यतिमै सीमित हुन पुग्यौँ ? किन हाम्रो समाचारको प्रभाव ती प्रहरी अधिकारीमाथि वा नेपालको कानुन व्यवस्थामाथि पर्न सकेन ? किन त्यस्तो समाचार प्रकाशित भएपश्चात् सम्बन्धित निकाय सचेत हुन सकेन ? हाम्रो समाचार नै प्रभावहीन तरिकाले लेखिएर हो वा नेपालको कानुन वा प्रहरी प्रशासनले सञ्चारकर्मी यसरी नै लेख्छन्, यिनको लेखाइले हाम्रो केही बिग्रने होइन सम्झेर हो ? कसको आशीर्वाद छ ती अधिकारीमाथि ?
एउटी बालिका बलात्कृत भएको अधिकांश शव देख्नेले भनिरहँदा र स्वयम् ती बालिकाको शव देखेर उनी वास्तवमै बलात्कृत भएको छर्लंगै देख्दासमेत उनी बलात्कृत भएको लेख्न नपाउनु दुर्भाग्यपूर्ण छ । चिकित्सकको पुष्ट्याइँ लिनै पर्छ तर पदीय मर्यादाका उच्च व्यक्ति यस्तो घटनाबारे डाक्टरको मुख बन्द गर्न लगाएर बलात्कारलाई समेत हत्या कै घटना बनाएर दबाउन खोज्छ । त्यो सुनेर पनि स्तब्ध हुने गरेको छु । हो, त्यतिबेला स्तब्ध हुन्छु जब कलमले कुनै बालक वा बालिकाको चित्कार लेख्न खोज्छ । आफैँ लज्जाबोध गर्छु किन यस्तो लेखेर चलिरहेको छ दैनिकी ?
प्रहरी कार्यालयमा सामान्य पारिवारिक झगडामै महिला मरणासन्न हुने गरी कुटाई खाएर प्रहरीको शरणमा पुग्छिन तर प्रहरीले श्रीमान, आफन्त वा पीडकलाई कानुनी दायरामा ल्याउनुको साटो बैठक र छलफल डाक्छ । त्यतिबेला पनि स्तब्ध हुन्छु । अधिकांश मिलापत्र पीडककै पक्षमा हुने गरेको छ । पीडित मिलापत्रपश्चात झनै पीडित भएको र कानुन तथा न्यायमाथिको विश्वासलाई तिलाञ्जली दिँदै पुनः कानुनको शरणमै पुग्दिनन् । स्तब्ध हुने धेरै कारण हुन सक्छन् तर जब एक महिला, बालिका, वृद्ध, बालकमाथि अत्याचार र अन्याय हुँदासमेत कानुन नपुंशक बनेर तमासा मात्र देख्छ । त्यतिबेला हो झनै स्तब्ध हुन्छु । दैनिक प्रहरी कार्यालयमा दर्जनौँ महिला पीडा लिएर आउँछिन् । सायद त्यसमा केही वास्तविक पीडित नभएको पनि हुनसक्छ तर प्रहरीको पीडित भन्दा पनि पीडकप्रतिको झुकाव देखेर स्तब्ध हुन्छु र आफैसँग प्रश्न गर्छु, ‘यहाँ नपाइएको न्याय अब कसले दिने ?’
एक फरियादीको अन्तिम विकल्प प्रहरी नै हुन्छ । त्यहाँसम्म पुग्न नै उसले सयौँ तगारो पार गर्नु पर्ने हुन्छ । आफन्त, गाउँ, समाज, भद्रभलाद्मी, नेता र गाउँका बलिष्टसँग लडदै उनी अन्तिम आस लिएर प्रहरीमै पुग्छिन् । तर जब यहाँ पनि मोलतोल गरिन्छ र फरियादीलाई बैठक र छलफलका नाममा बाध्य पारिन्छ मिलापत्र गराउन । त्यतिबेला अरु स्तब्ध हुन्छु । आँखासामुने देखेको दर्जनौँ महिलालाई प्रहरीले यसरी नै न्यायको साटो मिलापत्रको कागज थमाउँदा हरेकपटक स्तब्ध भएको छु । त्यतिबेला ती अन्यायमा परेकी महिलाको समस्याको समाधान हुँदैन । घर गएर पुनः पुलिसमा किन गएको भनेर कुटाइ खान्छिन् र त्यही प्रहरी र न्यायमाथिको विश्वास टुटेर घरमै कुटाई खान विवश हुन्छिन् । हाे एकदमै स्तब्ध हुन्छु ।
असफलताबीच जब प्रहरीले कुनै सामान्य सफलता पाएर पत्रकार सम्मेलन गरी आफ्नो बडप्पन देखाउँन खोज्छ । त्यतिबेला समाचार लेख्न खोज्दा स्तब्ध हुन्छु । सानी सोनालीको समाचार लेख्न खोज्दा स्तब्ध हुन्छु । बालिकाको शव देखेको छु र त्यसको दशा पनि कसैले लेखोस् वा नलेखोस् । भन्छु, ‘ती सातमहिने दुधे बालिकासँग बलात्कार गरिएको छ र त्यही कारण उनको मृत्यु भएको छ ।’ र, सबैले यस्ता अपराध न्युनिकरण गर्न लेख्नै र बोल्नै पर्ने हुन्छ । न बोले वा नलेखे अरु दर्जनौँ सोनालीको यस्तै हविगत हुन्छ । प्रहरी प्रशासन निश्चय नै दबाब कम गर्न वा तत्कालको माहोल शान्त गर्न बाध्य हुन सक्छन्, घटना तत्काल लुकाए माहोल शान्त हुन्छ भनेर । तर एउटा आन्दोलन शान्त गर्न अरु दर्जनौँ छोरीचेलीको बलि दिन सकिँदैन ।
एउटै निवेदन पुनः मेरो महोत्तरी र मेरो नेपालमा कसैको छोरीचेली बलात्कृत नहोस् । बलात्कार गर्ने वा हत्या गर्नेलाई कानुनबाट उन्मुक्ति नमिलोस् । किनकी अपराधीको कुनै जाति हुँदैन र अपराधीले यो फलानो हाकिमको छोरी वा श्रीमती वा आफन्त हो भनेर पनि छोड्दैन । जनताको पीडा आफ्नै पीडा मानेर जुन दिन बुझिदिनु हुन्छ । त्यो दिन अपराधी काँप्नेछन र अपराध न्युन हुने छ, अनि म चैँ स्तब्ध हुन छाड्नेछु ।