नारायण भण्डारी
काठमाडाैं । गौरा, सुदूरपश्चिमेलीहरुको बिशेष पर्व । भेरीपश्चिम कर्णालीदेखि महाकालीकिनारसम्म शहरमा उत्साहपूर्वक मनाउन थालिएको छ । गौरा पर्वमा समाजका सबै सदस्य समानरुपमा सहभागी हुन्छन् ।
भाद्रशुक्ल अष्टमीमा मनाइने गौरापर्वमा हिमालय पुत्री गौरीको पूजाआजा गरिन्छ । नौ वर्षमुनिका कन्यालाई सनातन संस्कृतिमा गौरी मानेर पुज्ने चलन छ । कन्या अवस्थाकी पार्वती वा गौरीले महादेव पति पाऊँ भनी सानैदेखि कामना गरेकी र कठोर व्रत बसेकी हुनाले उनको चरित्र स्मरण गरी गौरा पर्व मनाउने गरिन्छ ।
गौरा पर्वको विशेष परिकार बिरुडाको अर्थ बाँड्दा बाघजस्तो बलियो, स्यालजस्तो चतुर,कागजस्तो सावधान दुवोजस्तो दीर्घजीवी होऊन् भन्ने हो ।
गौरा पर्वमा शिवपार्वती सम्बन्धी कथानक गीत गाएर डेउडा नाचिने भएकाले यो गीति पर्वको रुपमा परिचित छ । गणेशका साथै अन्य देवतालाई दुवो चढाएर विशेषपूजन गरिने भएकाले यसलाई दुर्वाष्टमी पनि भन्ने गरिन्छ । साथै सामाको बोटलाई सिँगारेर मानव पुतलीका रुपमा नचाउने चलन छ ।
गौरापर्वको अघिल्लो दिन सप्तमी तिथिमा विवाहिता महिलाहरुले गौरा पूजा गर्ने स्थलमा गौरालाई धागो चढाउने र आफूले पनि नयाँ धागो लगाउने गर्छन् । यसलाई दुबधागो भनिन्छ । भाद्रशुक्ल पञ्चमीका दिन लिपपोत गरी शुद्ध पारिएको कोठामा मास,गहत,गहुँ, केराउ र गुराउँस गरी पाँच प्रकारका बीउबिजन भिजाएर राखिन्छ । पञ्चबीज मिश्रित बिरुडा वा क्वाँटी अष्टमीका दिन आपसमा बाँड्ने चलन छ ।
गौरा पर्वको विशेष परिकार बिरुडा बाँड्दा बाघजस्तो बलियो, स्यालजस्तो चतुर,कागजस्तो सावधान दुवोजस्तो दीर्घजीवी र विस्तृत बन्नू भनेर आशीर्वाद दिने गरिन्छ । बिरुडा बितरण गरेपछि पर्व सम्पन्न भएको मानिन्छ ।
समाजका सबै सदस्य एकापसमा मिलेर सामूहिक गोलनृत्य गरिने गौरा पर्वले हर्षखुशीका साथै एकताको भावना अभिवृद्धि गरेको पाइन्छ । सुदूरपश्चिमबाट काठमाडौं आएर बसोबास गरेकाहरुले टुँडिखेलमा धुमधामका साथ गौरा मनाउँदै आएका छन् ।