काठमाडौं । केही दिन अघि नेपालका अनलाइन न्युजपोर्टलसँगै छापामा पनि एउटा समाचारले ठाउँ पायो । समाचारमा नेपालका १० धनीबारे थियो । पूर्वराजा ज्ञानेन्द्र नेपालका १० धनीमध्ये परेको समाचारले धेरैलाई आकर्षित गर्ने नै भयो ।
[caption id="attachment_62389" align="alignright" width="150"]
-मिलन राई[/caption]
‘नेपालका दश धनी व्यक्ति, विनोद चौधरीदेखि पूर्वराजासम्मका सम्पत्ति विवरण, राजा भन्दा धनी पशुपति शमशेर जबरा, हेटौँडाका व्यापारी नेपालकै चौथो धनी’ समाचारका शीर्षक यस्तै थियो । तर यी सबै समाचार तथ्यहीन र गलत सावित भएका छन् । अमेरिकी पत्रिका फोर्ब्सको हवाला दिँदै प्रकाशन गरिएका समाचार पूर्णतया गलत भएको पुष्टि भएको छ ।
फोर्ब्सको वेबसाइटमा अहिले पनि नेपालका धनीबारे विनोद चौधरीको मात्र नाम उल्लेख छ । चौधरीबाहेक अरु धनाढ्यलाई विश्वको धनी व्यक्तिको सूचीमा राखेको छैन । नाम चलेकै न्युजपोर्टलले समेत फोर्ब्सको हवाला दिएको समाचार फोर्ब्समै नभएपछि नेपाली पत्रकारिता कागको पछि दौडिएकामा शंका रहेन । ती सबै समाचार नामक नक्कली वेबसाइट http://www.forbes10.com/breaking-news-forbes-announces-10-richest-people-in-nepal-in-august-2018/10/ बाट लिइएको थियो । तर सबैले फोर्ब्सको हवाला दिएर समाचार दिएर पाठक, स्रोता र दर्शको समय बर्बाद मात्र पारेनन्, पत्रकारिताको विश्वसनीयतामै प्रहार गरे ।
यसले के पुष्टि गर्छ भने नेपाली पत्रकारिता स्याल हुइँयाका भरमा कुद्ने वा भेडाको बथान जस्तो एकोहोर देखिएकामा शंका रहेन । समाचारको सत्यता बुझ्नुको सट्टा कपी पेष्ट वा साभारको होडबाजीमा पत्रकारिता रमाउन थालेको छ । समाचार समाजको चित्र हो, समाचारले समाजको यथार्थ बोल्नु पर्दछ, समाचार तथ्यपरक हुनु पर्दछ, समाचार खोजमूलक हुनु पर्दछ । जब यी सबै चरित्र समाचारमा हराउँदै गएको छ । मात्र दुश्प्रचार भइरहेको छ ।
च्याउसरि उम्रेका समाचार संस्था र अनलाइन पत्रिकाले पत्रकारिताको विश्वसनीयतामा मारेको लातको क्षतिपूर्ति कहिले तिर्न सक्छौँ ? एउटा बन्द कोठा अनि दुई तीन जना टाइप गर्ने व्यक्तिका भरमा समाचार उद्योग चलाउने कामसँगै हुर्किरहेको बेइमानीमा हामीले घोत्लिने कि नघोत्लिने ? रचनात्मकता अभाव र अनुसन्धानरहित सामग्रीले पाठक, स्रोता दर्शकलाई कति दिन दिगभ्रमित बनाउने ? अझ कतिपय अनलाइन पत्रिकाको समाचारको समाचार देख्दा यस्तो लाग्छ कि, पत्रिका कुनै एक पार्टी वा व्यक्तिको प्रचार प्रयोजनकै लागि खोलिएका हुन् । यस्ता समाचारले नेपाली समाजलाई कहाँ पु¥याउँछ ?
पछिल्लो समाचारमा भनिएका व्यक्तिहरु नेपालका दश धनी होलान् । त्यसमा असहमति होइन । तर विश्वासहीन वेबसाइट र आधारहीन ¥यांकलाई आधार बनाएर समाचार प्रकाशन गरेपछि नेपाली पत्रकारितामा गम्भीर प्रश्न चिन्ह खडा भएको छ । पत्रकारितालाई खोजमूलक बनाऔँ, समाजलाई सही दिशा र सन्देश दिउँ । सत्य समाचार लेखौँ । दार्शनिक रुपचन्द्र विष्टले भनेका छन्, ‘सत्य डग्दैन, झूटो टिक्दैन ।’ हाम्रो पत्रकारिता यसरी कति दिन टिक्ला ? विवेचना गरौँ ।