अमरराज पुन
रुकुम । रुकुम पश्चिमको आठविसकोट नगरपालिका वडा नम्बर ९ को राडिबजारमा नगरपालिकाको मुख्य केन्द्र रहेको छ । भूगोल र जनसङ्ख्याको आधारमा जिल्लाको ६ स्थानीय तह मध्ये यो नगरपालिका सबैभन्दा ठुलो नगरपालिका हो । स्थानीय सरकार बनेसँगै राडिबजारमा चहलपहल बढेको छ । बजारमा पक्की भवनहरू धमाधम निर्माण भइरहेका छन् ।
स्थानीय बासिन्दाले पुराना घरहरू भत्काउँदै नयाँ घरहरू जोड्दै छन् । निर्माण हुँदै गरेका पक्की घरको वरपर गिट्टी सङ्कलन गरिएको छ । तर राडिज्यूला हुँदै मुसिकोट जोड्ने सडकखण्डको छेउछाउमा पसिना चुहाउँदै दिनभर गिट्टी कुट्नेहरूको पीडा अर्कै छ । घर व्यवहार चलाउनकै लागि गिजा गाउँका धेरैजसो स्थानीयहरू बिहानै उठेर साँझ सम्म सडकछेउमा गिट्टी कुट्ने गर्दछन् ।
गिट्टी कुटेरै घरमा नुन, चामल, तेल लगायतको जोहो गर्ने भन्दै आठविसकोट नगरपालिका वडा नम्बर ९ की वर्ष ४२ की मनकली विक बिहानै गिट्टी कुट्ने काममा व्यस्त हुन्छिन् । घरमा फुर्सद भएको समयमा हरेक दिन गिट्टी कुट्ने गरेको विक बताउँछिन् । ‘गाउँमा सडक बनेको छ, गाडी गुड्छन् गिट्टी सडकले लिन्न, हामीले कुटेको गिट्टी पक्की घर बनाउनेले मात्र लिन्छन्, तर सोचेजस्तो श्रम पाउँदैनौँ,’ विकले सुनाइन् ।
विकका अनुसार राडिबजारमा पक्की घर निर्माण गर्नेले प्रति ट्रयाक्टर पाँच हजारका दरले गिट्टी किन्ने गरेका छन् । प्रति ट्रयाक्टर गिट्टी बेच्दा आफूहरूको कडा परिश्रम खेर गएको र परिश्रम अनुरूपको श्रमले मूल्य नपाएको विकको गुनासो छ ।
गाउँमा गिट्टी कुट्नेको लहरै चलेपछि गिजा गाउँकै वर्ष ४५ की दीपा शाह पनि गिट्टी कुट्ने काममा लागिन् । सडक छेउमा गिट्टी कुट्न सुरु गरेपछि आसपासमा गिट्टी कुट्ने ढुङ्गा नपाउँदा एक दुई घण्टा माथिबाट ढुङ्गा बोकेर गिट्टी कुट्ने गरेको शाहको भनाई छ । ‘धेरै दुःख गरेर गिट्टी कुट्ने गरेका छौँ, गिट्टीको भाउ नै छैन अब दुःख अनुसारको गिट्टीले भाउ पाउनुपर्छ,’ शाहले भनिन् ।
यहाँको सडक छेउमा विक र शाह जस्ता थुप्रै महिलाहरू घर व्यवहार चलाउन दिनहुँ गिट्टी कुट्ने काममा व्यस्त देखिन्छन् । पछिल्लो समय गाउँ नजिकै नगरपालिकाको केन्द्र बनेकाले धेरैजसो महिलाहरू आयआर्जनमा जुटेका हुन् । नगरपालिकाको केन्द्र आसपास र राडिबजारमा पक्की घर बन्ने काम तीव्र रूपमा चलिरहेकाले गिट्टीको माग समेत बढेको हो । तर पनि यहाँका घरधनीहरूले सस्तो मूल्यमा गिट्टी सङ्कलन गर्दा दुःख गरेर गिट्टी कुट्नेहरूले सोचेजस्तो परिश्रमको मूल्य नपाएकोमा चिन्ता व्यक्त गरेका छन् ।
यता आठविसकोट नगरपालिकाले भने यस विषयमा एक खालको मापदण्ड तयार गर्न लागेको बताएको छ । नगरपालिकाका कार्यकारी अधिकृत रामबहादुर केसीका अनुसार गिट्टी सङ्कलन तथा उत्खननका लागि कुनै क्षेत्र तोक्ने तयारी भइरहेको छ ।
बजारभित्र नयाँ भवन बनाउनेले समेत गिट्टी सङ्कलन गर्दा अब नगरपालिकाको मापदण्डमा रहेर सङ्कलन गर्नुपर्ने बताइएको छ । यसका लागि केही समय लाग्ने र त्यस लगत्तै गिट्टी कुट्नेहरूले समेत मापदण्ड अनुरूप नै परिश्रमको उचित मूल्य पाउने केसीको भनाई छ ।