काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि भएको हत्या घटना झन जटिल बन्दै गएको छ । प्रहरीले गरेको फरक अनुसन्धान पन्तको हत्यारा भनिएका दीलिप विष्टकै वरिपरी घुमेको छ । यसअघि सिआइबी नेतृत्वको टोलीले जम्मा पारेका यथेष्ठ प्रमाण र अभियुक्त भनिएका विष्टको बयानमा धेरै पाटो मेल खाएको प्रहरीको पछिल्लो अनुसन्धानले देखाएको छ । प्रहरी अनुसन्धान यतिमै सीमित छैन, घटनामा सिंगो राज्य आकर्षित बनेकाले पनि प्रहरीले पछिल्लो अनुसन्धान अरु बलियो बनाएको दाबी गरेको छ । घटनालाई दोहो¥याइ–तेह¥याइ हेर्दा प्रमाण अभियुक्त दीलिप बिष्ट नजिक देखिएको हो ।
चर्चा गरौं अभियुक्त भनिएका दीलिप विष्टबारेः–
१. कञ्चनपुर निबासी दीलिप विष्ट यसअघि भिनाजुको हत्या गरी १० वर्ष कैद सजाय भोगेर निस्किएका व्यक्ति हुन् । उनी २०६५ मा भिनाजुको हत्या गरी सजाय भोगेर २०७४ जेठ १५ गते रिहा भएका हुन् । उनको विगतको आचरण र व्यवहार हेर्दा नैतिक पतन भएको देखिन्छ ।
२. प्रहरी अनुसन्धानक्रममा विष्टले घटना भएको वरपर आफूले अश्लील हर्कत गर्ने गरेको स्वीकार गरेका छन् । त्यहाँका केही स्थानीयले पनि दीलिपले सोही स्थान वरपर घटना हुनुभन्दा अगाडि अश्लील हर्कत गर्ने गरेको बताएका थिए ।
३. उनले प्रहरी सोधपुछक्रममा एक केटीले साइकल बिग्रेको भन्दै बनाउन आग्रह गरेको र साइकलको चेनमा काठको टुक्रा हालेर बनाइदिएको स्वीकार गरेका छन् । त्यसपछि ह्याण्डिल पनि सोझो बनाइदिन्छु भन्दै विष्टले जानिजानी साइकललाई नजिकैको खोलामा फालिदिएको स्वीकारेका छन् । पुनः खोलामा आफैँ साइकल लिन गएको तर मैले उचाल्न सकिनँ भन्दै निर्मलालाई सघाउन आग्रह गरेको प्रहरी सोधपुछमा देखिएको छ । निर्मला साइकल लिन गएकै मौकामा दीलिपले घाँटी समातेर च्यापेको स्वीकारेका छन् । घाँटीमा समातेर ‘भोकल कर्ड’ भाँचिएको र त्यसलाई पोष्टमार्टमका बेला जाँच गर्दा मेल खाएको प्रहरी अनुसन्धानमा देखिएको छ ।
४. रोशनी बमको घरमा होमवर्कको कपी लिन गएकी निर्मला पन्तलाई रोशनीले अघिल्लो दिन खाएको गोलगप्पाको २० रुपैयाँ दिएकी थिइन् । प्रहरी अनुसन्धानक्रममा दीलिपले त्यो केटीको खल्तीबाट २० रुपैयाँ पाएको र त्यसको गुटखा खाएको स्वीकारेका छन् । घटना प्रकृति हेर्दा र प्रहरी अनुसन्धान मिलाउँदा दीलिप विष्टमाथि शंका गर्ने आधार प्रष्ट देखिएको छ । अझै पनि प्रहरीले आफ्नो अनुसन्धानलाई जारी राखेको छ । यसैसाता सोमबार र मंगलबार प्रहरीले एसपी डिल्ली विष्टका छोरा किरण र कांग्रेस महासमिति सदस्य भूपेन्द्रसिंह विष्टका छोरा आयुषलाई समेत सोधपुछ गरेको छ । त्यहाँबाट कुनै प्रमाण फेला पर्न सकेन ।
प्रश्न कहाँ उठ्यो ?कञ्चनपुर घटनाले जटिल प्रश्न खडा गरेको छ । प्रहरीको अनुसन्धान एकातिर र अधिकारकर्मीको आन्दोलन अर्कातिर । त्यहाँका स्थानीयले घटनामा संलग्न रहेको आशंका गरिएकी बम दिदीबहिनी बबिता र रोशनी बमको अवस्था के हुन्छ । प्रहरीले उनीहरुबाट चित्तबुझ्दो प्रमाण अझै फेला पार्न नसकेको जनाएको छ । उनीहरुको बाँच्न पाउने अधिकार र बाँकी जीवनका विषयमा कैयन प्रश्न खडा भएका छन् । प्रधानमन्त्री केपी ओलीले टेलिभिजन कार्यक्रममार्फत् नै भन्नुभएको छ, ‘निर्मला हत्या प्रकरणमा अनुसन्धानक्रममा रहेकी बम दिदीबहिनीलाई बाँच्न पाउने अधिकार छ कि छैन ?’ अनुसन्धानक्रममा रहेकी उनीहरुलाई बलमिच्याइँ जबर्जस्त अपराधी बनाउन मिल्छ कि मिल्दैन ? कञ्चनपुरमा देखिएको त्यो वातावरणले उनीहरुको बाँकी जीवन के हुन्छ ? यदि दोषी हुन भने उनीहरुलाई राज्यले कारबाही गर्छ । अनुसन्धान हुँदै गर्दा हुलहुज्जत गरेर बबण्डर मच्चाउनु कति जायज छ ?
हो, अबको प्रश्न यदि बम दिदीबहिनीको त्यो घटनामा संलग्नता देखिएन भने सामाजिक हैसियत कस्तो हुन्छ उनीहरुको ? सुनियोजित ढङ्गबाट अपुष्ट प्रमाणले सामाजिक सञ्जालका भित्ता रंग्याउँदै राज्यको अनुसन्धानमाथि प्रश्न गर्ने हामीहरु समृद्धि कल्पना कसरी गर्दैछौँ । निर्मला पन्तको वास्तविक हत्यारा कुनै तवरले पनि नछुपोस् ।
https://www.youtube.com/watch?v=ke8du7ZV-6M