नयाँ दिल्ली । भारत सरकारको निमन्त्रणामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणमा हुनुहुन्छ । भ्रमणक्रममा नयाँ दिल्लीमा रहेका प्रवासी नेपालीसँग छलफल गर्दै उहाँले नेपाल भारतबीच सम्बन्ध थप बलियो बनाउन आफूले भारतको भ्रमण गरेको बताउनु भयो ।
प्रचण्डले भन्नुभयो, ‘सरकारले अगाडि सारेको विकास योजनाको पक्षमा वातावरण बनाउन, नेपाल भारतबीच भएका सम्झौता कार्यान्वयन गराउन र नेपाल भारतबीचको सम्बन्ध थप बलियो बनाउने भारत भ्रमणको उद्देश्य हो ।’ उहाँले दुई देशबीचको सम्बन्धमा सकारात्मक विकास भएको पनि उल्लेख गर्नुभयो । बदलिएको परिस्थितिमा नेपाली कार्यबाहक राजदूत र कर्मचारीलाई अझ सक्रियतापूर्वक र गम्भीरतापूर्वक कार्यसम्पादन गर्न आग्रहसमेत गर्नुभयो । प्रवासी नेपालीसँग भेटघाट व्यवस्था मिलाएकामा कार्यबाहक राजदूत तथा दूतावासका कर्मचारीमा धन्यवाद ज्ञापन गर्नुभयो ।
कार्यक्रममा प्रवासी नेपालीले नेपाली सीमामा हुने गरेका घटना रोक्न पहल गर्न आग्रह गरेका थिए भने बैंक खाता, भोटर आइडी, इस्योरेन्स लगायतका समस्याबारे समाधानका लागि पहल गर्न अनुरोध गरेका थिए । यसअघि अध्यक्ष प्रचण्डसँग भारतीय राष्ट्रिय सल्लाहकार अजित डोभालसँग बिहीबार भेट भएको थियो । भेटका अवसरमा दुई पक्षीय सम्बन्धका बिषयमा छलफल भएको थियो । पछिल्लो समय दुई देशबीचमा बढ्दै गएको सम्बन्ध र हार्दिकता सुदृढ गर्ने र दुई देशबीच पछिल्लो चरणमा भएका सहमति र समझदारी कार्यान्वयनमा लैजाने विषयमा छलफल भएको थियो ।
प्रचण्ड-सिंह भेटवार्ता
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्ड र भारत सरकारका गृहमन्त्री राजनाथ सिंहबीच दिउँसो भेटवार्ता भएको छ । भेटमा नेपाल भारत सम्बन्धका लागि सकारात्मक वातावरण बनेको भन्दै नेपालको आर्थिक समृद्धिमा दुवै देश मिलेर अघि बढ्ने छलफल भएको थियो । भेटमा अध्यक्षले नेपाल र भारतबीच भएका समझदारीको प्रभावकारी कार्यान्वयनमा जोड दिनुभयो ।
अध्यक्षले आज बिहान प्रवासी नेपालीसँग भएको छलफलमा प्रवासीले सीमा क्षेत्रमा नेपाली माथि हुने गरेका लुटपाटका घटनाका सम्बन्धमा गृहमन्त्रीको ध्यानाकर्षण गराउनु भएको थियो । गृहमन्त्री सिंहले सीमा क्षेत्रका सबै अधिकारीलाई तत्कालै खबर गरी घटना हुन नदिने विश्वास दिलाउनु भयो ।