खेम बम/धर्मराज कठायत
कञ्चनपुर । निर्मला पन्त हत्याको अध्ययन अनुसन्धान गर्न कञ्चनपुर पुग्नुभएका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी हत्यारा बचाउमा नलागेको स्पष्ट पार्नुभएको छ । अनुसन्धान फितलो भएको भन्ने गुनासो निराधार भएको बताउँदै खनालले प्रहरी आफ्नो कर्तव्यबाट बिमुख हुन नसक्ने बताउनुभयो ।
कञ्चनपुरमा आयोजित हिंसा विरुद्धको एक कार्यक्रममा बोल्दै उहाँले अनुसन्धानमा कहिकतै त्रुटि भए र घटनालाई गुमराहमा पार्न खोजे कुनैपनि प्रहरी अधिकारी कारवाहीको दायरामा आउने प्रष्ट पार्नुभयो । कसको गल्ति, कमजोरी हो भन्ने बिषय अनुसन्धानपछि मात्रै भन्न सकिने बताउँदै उहाँले बिना प्रमाण जथाभाबी नबोल्न सबैलाई आग्रह गर्नुभयो । प्रहरीको अधिकार र क्षेत्राधिकारको बिषय आफूलाई थाहा भएको बताउँदै खनालले घटनामा भएको विरोध र छानबिनमा सहज पार्न एसपी डिल्ली बिष्टलाई निलम्बित गर्नुपरेको उल्लेख गर्नुभयो ।
गृहमन्त्रालयको समेत कञ्चनपुर घटनामा प्रत्यक्ष नजर रहेको बताउँदै महानिरीक्षक खनालले जनताले अराजकका पछाडि नलागी प्रहरीको विश्वास गर्नुपर्ने उहाँको भनाइ थियो । पीडितलाई न्याय दिन सरकार प्रतिबद्ध रहेको खनाललको भनाइ थियो । तदअनुरुप प्रहरी आफ्नो मिसनमा सफल हुने उहाँको दाबी थियो ।
महानिरीक्षक खनालका पाँच प्रतिबद्धताः–
१. प्रहरी संगठन भित्रका अधिकारीले अपराधी बचाउन खोजेको भए कानुन बमोजिम कडा कारवाही हुन्छ ।
२. पूर्व एसपी डिल्लिराज बिष्टप्रति स्थानीयले अनुसन्धानमा कमजोरी गरेको भन्ने गुनासोकै आधारमा निलम्बित गरेको हो ।
३. कञ्चनपुर घटनाप्रति गृहमन्त्रालयको सिधा नजर रहेकाले कुनैपनि हालतमा गुमराहमा पार्ने दुष्प्रयास कसैले गर्न सक्दैन ।
४. जनताले प्रहरीको अनुसन्धानमा विश्वास गरी दोषी पत्ता लगाउन सहयोग गर्नुपर्ने ।
५. प्रहरीले पीडितलाई न्याय दिलाउन गम्भीर रुपमा अनुसन्धान गरिरहेको र जनताको सेवा, सुविधामा प्रहरी संगठन सधै अग्रस्थानमा रहनेछ ।
https://youtu.be/grTb2z8U2GU