प्रकाश न्यौपाने
भैरहवा । अन्तर्राष्ट्रिय जगत्मा बुद्ध जन्मस्थललाई प्रचारप्रसार गरी थप टेवा पुर्याउने उद्देश्यले लुम्बिनी उद्यानमा अन्तर्राष्ट्रिय सामूहिक त्रिपिटक पाठ हुने भएको छ । अन्तर्राष्ट्रियस्तरको त्रिपिटक पाठ नेपालमा हुन लागेको यो पहिलो पटक हो ।
कार्तिक २८, २९ र ३० गते उक्त कार्यक्रम हुन लागेको अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष भिक्षु मैत्री महास्थविरले बताउनुभयो । अखिल नेपाल भिक्षु महासंघ तथा शाही थाइ मन्दिरको संयुक्त आयोजनामा भगवान बुद्धद्वारा देशित उपदेश त्रिपिटकको सामूहिक पाठ गरिने उहाँले बताउनुभयो ।
त्रिपिटकमा नेपाल, भारत, श्रीलंका, म्यानमार, क्याम्बोडिया, थाइल्याण्ड, चीन, कोरिया, जापानलगायत देशका बौद्ध भिक्षु, लामा, भिक्षुणी, आमगारिकाहरू गरी करिब ३ सयले सामूहिक रूपमा पाठ गर्ने आयोजकले जनाएको छ । यस्तै त्रिपिटकमा गृहस्थ उपासक उपासिकाहरू गरी करिब ५ सय जनाले भाग लिने छन् । कार्यक्रमका लागि आयोजकले तयारी थालिसकेको छ ।
‘हामीले कार्यक्रम सफल पार्न अहिलेबाटै योजनाबद्ध तरिकाले अघि बढेका छौं, नेपालको इतिहासमा यति ठुलो कार्यक्रम बुद्ध जन्मस्थलमा आयोजना हुनु भनेको सबैको गौरवको कुरा हो’ भिक्षु महासंघका अध्यक्ष मैत्री महास्थविरले भन्नुभयो, ‘कार्यक्रम सफल बनाउन जिल्लाबासी सबैको सहयोग आवश्यक, यसले यहाँको मात्रै होइन विश्वमा नै नेपाललाई थप परिचित बनाउन सहयोग गर्छ ।’
नेपालमा योभन्दा पहिला अमृतानन्द भन्तेले कल्पना गरेअनुसारको संगायना देशना २०४५ सालमा भएको थियो । त्यसयता यस किसिमको कुनै कार्यक्रम आयोजना हुन सकेको छैन । ‘हामी मध्ये धेरैले त सम्पूर्ण त्रिपिटक देखेका पनि छैनौं । अब यस पवित्र ग्रन्थका पाठ लुम्बिनीको उद्यानमा नै हुने भएको छ । यो सबै नेपालीहरूको लागि खुशी र गर्वको पनि कुरा हो’, मैत्री महास्थविरले भन्नुभयो ।
गत १५ वर्षदेखि लाइट अफ बुद्धधर्म फाउन्डेशन इन्टरनेशनल नामक संस्थाको अगुवाइमा बुद्धगया तथा पछि भारतका विभिन्न बौद्ध तीर्थस्थलहरूमा हुँदै आइरहेको त्रिपिटक कार्यक्रमलाई बुद्ध जन्मस्थलसम्म ल्याउने मैत्री भन्तेको ठुलो योगदान छ ।
‘त्रिपिटक भनेको त निकै ठुलो हुन्छ । यहाँ लुम्बिनीमा पाठ गरिनेमा विशेष गरी नेपालमा थेरवाद भिक्षु अनागारिकाहरूले हाम्रै कपिलवस्तुमै भगवान बुद्धले शुद्धोदन महाराजलाई देशना गर्नुभएको बिसन्तर जातक तथा शाक्य र कोलीयहरूको युद्ध हुनलाग्दा कपिलवस्तुमै देशना गर्नुभएको महासमय सुत्र पाठ गरिने छ’, भिक्षु मैत्रीले भन्नुभयो । यसका लागि देवनागरीमा तथा थाइ लिपिमा उक्त ग्रन्थको पुस्तक ५ सय प्रति प्रकाशित गर्न लागिएको उहाँले जानकारी दिनुभयो ।
तीन दिनसम्म चल्ने कार्यक्रममा मायादेवी मन्दिरतर्फ शोभायात्रा गरिने छ भने थाइ, नेपाली, बर्मा, श्रीलंका, क्याम्बोडिया, चिनियाँ, जापानिज भिक्षुहरूले पाठ गर्नेछन् । अन्तिम दिन मायादेवी मन्दिरको वरिपरी मैनबत्तीसहितको शान्ति पदयात्रा तथा द्वीप प्रज्वलन कार्यक्रम गरिने आयोजकले जनाएका छन् । यसका साथै दुई दिन नेपालकै प्रतिष्ठित बौद्ध विद्वानहरूबाट धर्म देशना पनि हुने कार्यक्रम छ ।
पहिलो दिनको धर्मदेशना उपसंघनायक भिक्षु ज्ञानपूर्णिकबाट र दोस्रो दिनका लागि चोकी निमा रिम्पोछेलाई आमन्त्रण गर्ने तयारी भइरहेको छ । कार्यक्रमका लागि करिब १० लाख खर्च हुने अनुमान गरिएको छ । यसमा प्रदेश सरकार लुम्बिनी विकास कोष र स्थानीय नगरपालिका तथा होटल व्यवसायी संघसंस्थाबाट पनि सहयोग हुने जनाइएको छ ।
आयोकजले कार्यक्रम सफल पार्न अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष तथा लुम्बिनी विकास कोषका आध्यात्मिक सल्लाहकार भिक्षु मैत्री महास्थबिरको संयोजकत्वमा १५ सदस्यीय समिति गठन गरेर तयारी थालेका छन् । आयोजक सदस्यहरुमा प्रमुख थाई राजकीय बिहार लुम्बिनीका भिक्षु सुपथ, लुम्बिनी विकास कोषका ३ जना प्रतिनिधी लगायतलाई राखिएको छ । यस्तै ७ सदस्यीय सल्लाहकार समिति गठन समेत गरिएको छ ।