काठमाडौं । काठमाडौंको कुलेश्वरमा अवस्थित डेजायर बचत तथा ऋण सहकारी संस्था लिमिटेडले स्थापनाकालको ७ बर्षमै राम्रो मुनाफा आर्जन गर्न सफल भएको छ ।
सहकारीका क्षेत्रमा देखिएको अविश्वासलाई चिर्दै डेजायरले स्थापनाकालदेखि हालसम्म सफल कार्य गर्दै आएको छ । करिब ४ सय ६४ जना शेयर सदस्य रहेको डेजायर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको शनिबार काठमाडौंमा भएको सातौ बार्षिक साधारणसभामा आफ्नो प्रगति विवरण सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०७४/०७५ को संस्थाको चालू तर्फको पूँजी १३ करोड १४ लाख भन्दा माथि रहेको छ भने शेयर पूँजी १ करोड ४६ लाख ६० हजार रहेको छ ।
डेजायर बचत तथा ऋण सहकारी संस्था लिमिटेड सञ्चालक समितिका अध्यक्ष उद्वव सापकोटाको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अथिति डोटीबाट निर्वाचित प्रतिनिधिसभाका सदस्य प्रेमबहादुर आलेमगर रहनुभएको थियो । कार्यक्रममा बोल्दै सांसद आलेले यस सहकारीको प्रगतिको प्रशंसा गर्नुभएको थियो ।
सहकारी भनेको भावना मिल्नेहरुको समुह भएको बताउँदै उहाँले राजनीतिमा आफूले गरेको त्याग र मेहनतलाई सहकारीका प्रतिनिधिहरुले गरेको मेहनतसँग तुलना गर्नुभएको थियो । सांसद आलेले डेजायर बचतको काठमाडौंमा मात्रै नभइ अन्य ठाउँमा समेत शाखा बिस्तार गर्नुपर्नेमा जोड दिनुभएको थियो । सहकारीले लिएको लक्ष्य र सपनाको वर्णन गर्दै उहाँले यस्तै सहकारीले राष्ट्रको समृद्धिमा टेवा पु¥याउने बताउनुभयो । सहकारी मुनाफमा मात्रै केन्द्रित नभई सामान्य जनस्तरको मर्का बुझी अगाडि बढ्नुपर्ने र सो कुराको डेजायर बचतले आत्मसात गरेको उहाँको भनाई थियो । कार्यक्रममा राष्ट्रिय सहकारी बैंक लिमिटेडका सञ्चालक समिति सदस्य ज्ञानबहादुर तामाङले डेजायर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको प्रशंसा गर्नुभएको छ ।
सात बर्षमा यति धेरै प्रगति गरेको भन्दै तामाङले सहकारी जनमैत्री हुनुपर्नेमा जोड दिनुभएको थियो । धेरै ठाउँमा सहकारीमा फाटो आउने गरेको उल्लेख गर्दै उहाँले डेजायरले ती संस्थाका अगाडि उदाहरण दिन लायकको काम गरेको उहाँको भनाई थियो । कार्यक्रममा बोल्दै सहकारीका अध्यक्ष उद्वव सापकोटाले डेजायरको विश्वासलाई मर्न नदिई बढीभन्दा बढी बचतकर्ता र सर्वसाधारणको माझमा लैजानुपर्नेमा जोड दिनुभयो ।साधारणसभामा संस्थाका अध्यक्षको प्रतिवेदन, लेखा तथा सुपरिवेक्षण समितिको प्रतिवेदन, कोषाध्यक्षको प्रतिवेदन र संस्थाका सचिवको प्रतिवेदनलाई सर्वसम्मत पारित गरिएको संस्थाका सल्लाहकार समिति सदस्य टेक बमले जानकारी दिनुभएको छ । सातौ बार्षिक साधारणसभाले कार्यक्षेत्र विस्तार सम्बन्धि विधान संशोधन, मूनाफाबाट आउने रकमबाट प्रत्येक बर्ष ५ प्रतिशत संस्थाको घरजग्गा खरिदका निम्ति र शेयर सदस्यहरुलाई बार्षिक मूनाफाको १०.५ प्रतिशत लाभांश वितरण गर्ने बमले जनता समाचार डटकमलाई जानकारी दिनुभयो ।
कार्यक्रममा बर्षभरी उत्कृष्ट कार्य गर्नेलाई सम्मान तथा प्रशंसा पत्र प्रदान गरिएको छ । सम्मान पाउनेहरुमा उत्कृष्ट कर्मचारी तर्फ सञ्जिवकुमार शर्मा, उत्कृष्ट बचतकर्ता राजु दाहाल, उत्कृष्ट ऋणी अच्यूत अधिकारी र जेष्ठ शेयर सदस्य कृष्णप्रसाद रिसाल रहेका छन् ।
साधारणसभामा ३ सय भन्दा बढिको उपस्थिति रहेको थियो । उक्त कार्यक्रमको उद्घाटन कार्यक्रमको सञ्चालन संस्थाका सचिव श्याम सापकोटाले गर्नुभएको थियो भने बन्दसत्रको कार्यक्रम कार्यकारी प्रमुख विजय सापकोटाले गर्नुभएको थियो । कार्यक्रममा सहभागि अथितिहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।
https://www.youtube.com/watch?v=YNCgv91dA7w