राजनीतिक ब्युरो काठमाडौं । घनश्याम भूसाल । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य तथा प्रतिनिधिसभा सांसद । कार्यकर्तालाई मात्र होइन, नागरिकलाई पनि वैचारिक रुपमा प्रशिक्षित पार्न सक्ने, विश्वस्त बनाउन सक्ने, आफ्ना विचारले हलचल ल्याउन सक्ने ल्याकत भएका नेता ।
यिनै नेता भूसालसहित एउटा वैचारिक नेतागण देशदौडाहामा छ, केही समयदेखि । कार्यकर्तालाई मार्क्सवाद पढाउने ध्येयसहित सातै प्रदेशका विभिन्न जिल्लामा पुगेको टोली आवद्ध छ, कार्लमार्क्स जन्म द्विशतवार्षिकी समारोह समितिमा । यसैले प्रदेश हुँदै जिल्लासम्म कार्यक्रम गरिरहेको छ । शनिबार पारेर रुपन्देहीको मणिग्राममा गरिएको जिल्ला गोष्ठीमा भूसालसँगै पुगेका अरु वैचारिक नेताहरु राम कार्की, डा. विजयकुमार पौडेल ।
कार्यक्रममा टाढा–टाढाबाट पार्टीका कार्यकर्ता, शुभचिन्तक, शुभेच्छुक र सर्वसाधारणको सहभागिता थियो । हलमा अटाइनअटाइ भयो । कार्यक्रमका एक सहभागीले भने, ‘किन जानु घनश्याम समूहका गफ सुन्न भनेर अफवाह पनि फैलाइएको थियो, कोही जाँदैनन् भनिएको थियो तर, आउँदा त झण्डै बस्ने ठाउँ नै नपाइएको !’ उनले कार्यक्रममा न्यून सहभागी हुने र गृह जिल्लामै घनश्याम भूसालको कार्यक्रम फितलो हुने हल्ला सुनेको तर, कार्यक्रम भने भव्य भएको बताए ।
कार्यक्रममा नेता भूसालले मार्क्सवाद र आजको कार्यभार विषयमा प्रशिक्षण दिनु भएको थियो । यस्तै, अर्का नेता राम कार्कीले मार्क्स र आजको समाजवादी आन्दोलनका विषयमा बताउनु भयो । डा. विजयकुमार पौडेलले कार्ल मार्क्सको जीवनी र कृतित्वबारे बताउनु भएको थियो । पुरुषोत्तम घिमिरेको अध्यक्षतामा भएको कार्यक्रम सिद्धिचरण भट्टराईले सञ्चालन गरेका थिए ।
नजानू भनेकाले झन् भीडदेशका विभिन्न भूगोलमा पुगेर मार्क्सवादबारे पढाउने टोलीमा भूसाल, कार्की र पौडेलको समूह सक्रिय छ । पछिल्लो समय भूसालले आफ्नो वैचारिक धरातल अरु विशाल बनाएको र उनको फलोअर पनि बढेको छ । गृह जिल्लामा भूसालसहितको टोलीले मणिग्राममा कार्यक्रम गरेको थियो । नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकीकृत भएर पार्टी बने पनि भूसाललाई पाखा लगाउन पाए हुन्थ्यो भन्ने जमात जिल्लादेखि केन्द्रसम्म छ । देशका विभिन्न भूगोलमा भएको कार्यक्रममा उत्साहजनक सहभागिता भएको सन्देशपछि जिल्लामा भने कार्यक्रम फितलो बनाउन सकिन्छ कि भनेर एउटा अमूक समूह सक्रिय बनेको आभाष आयोजकलाई भएको थियो । तर, भूसालको भाषणमै यस्तो जादू छ कि, मन पराउनु–नपराउनु अलग तर भूसालको जादूमयी सम्बोधन सुन्नेको भिड थेगिनसक्नु भयो मणिग्राममा ।