विकास पराजुली
रुपन्देही । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरुले प्रतिक्रान्तिको खतरा औल्याएका छन् । तिलोत्तमामा भएको कार्लमार्क्सको जन्म दुई शताब्दी समारोहमा बोल्दै नेकपाका नेताहरुले नयाँ व्यवस्था कार्यान्वयनकै पहिलो चरणमा प्रतिक्रान्तिको सबैभन्दा बढी खतरा रहनेतर्फ सचेत हुनुपर्ने बताएका हुन् ।
नेता घनश्याम भूसालले देशलाई अगाडि बढाउने जिम्मा सत्ताको नेतृत्वमा रहनेहरुको हुनुपर्ने बताउनु भयो ।प्रतिक्रान्ति बाजा बजाएर नआउने भन्दै भुसालले ‘लोकमानतन्त्र’को पुनःबहाली गर्न खोजे उपलब्धी गुम्न सक्नेतर्फ सचेत रहनुपर्ने बताउनु भयो । भूसालले राजपाठ छाडेर मुलुक बनाउनेतर्फ जनप्रतिनिधि लाग्नुपर्ने अन्यथा संघीयता प्रणालीमै प्रश्न खडा हुने भूसालको भनाइ थियो ।
नेकपाका अर्का नेता राम कार्कीले देशभर कम्युनिष्ट पार्टीको बहुमत भएका बेला जनताले सुखद अनुभूति गर्नुपर्नेमा त्यसो हुन नसकेको बताउनु भयो । ‘महँगीले मजदुर बाँच्न नसक्ने भइसके, किसानको बेहाल छ, सरकार समाजवादीको छ,’ कार्कीले भन्नुभयो, ‘यस्तो बेला कम्युनिष्ट पार्टीले के गर्ने भन्ने नै प्रष्ट छैन ।’ कार्कीले कम्युनिष्ट पार्टीको सरकार भए पनि पुँजीवादले जनतालाई अँचेटिरहेको बताउनु । ‘पुँजीवादले सत्यानास गर्छ, समाजमा प्रेम र सद्भाव हराउँछ, त्यसैले अबको गन्तव्य समाजवाद हो,’ कार्कीको भनाइ थियो, ‘मार्क्सवादलाई समयसापेक्ष थपघट गनै पर्छ, मार्क्सवादमै टेकेर समाजवाद स्थापना गर्न सकिन्छ ।’
नेकपाका नेता डा. विजयकुमार पौडेलले कम्युनिष्ट पार्टीका नेताहरुमा धन आर्जन गर्ने होडबाजीले को कम्युनिष्ट भनेर छुट्याउनै नसकिने अवस्था आएको बताउनु भयो । पुरुषोत्तम घिमिरेको अध्यक्षतामा भएको कार्यक्रम सिद्धिचरण भट्टराईले सञ्चालन गर्नु भएको थियो ।
यो पनि पढ्नुहोस्ःके छ भूसालको भाषणमा जादू ?
https://45.77.241.73/2018/09/63262