वर्षदिनमा एकदिन मनाइने अर्थात् नारीहरुको महान पर्व हरितालिका तीजको रौनक छ जताजतै । तीजको विशेषता होः माइत जाने, साथीसंगी भेट्ने अनि आफ्ना वेदनाको पोको फुकाउने र मन हलुको बनाउने । वेदना पस्केसँगै सुखदुःख बाँड्ने चलन पनि छ । हाम्रो समाजमा अझै पनि हरेक कुरामा पतिको अनुमति, बुहार्तन अनि माइत जानसमेत कतिलाई अनुमति नहुने चलन कायमै छ । सासूको हेपाहा प्रवृत्तिसँगै संघर्षपूर्ण जीवन बिताउन बाध्य नारी माइत जाँदा फुर्फर हुने भनेको कम्तीमा मनका बह पोख्ने ठाउँ भेटिन्छ भन्ने हो । समग्रमा फेरि पनि उनै पतिको दीर्घायू कामना गर्दै व्रत बस्दै आफूलाई वफादार नारीका रुपमा प्रस्तुत गर्नु हो । तीजको रौनक, महत्व र महिमा यही हो ।तर समय परिवर्तन भएको छ । मानिसका सोचाइ पनि फेरिएका छन् । समयअनुकूल परिवर्तन जरुरी पनि छ । नेपाली पहिचान, रीतिरिवाज अर्थात् चालचलन र संस्कृति मात्र होइन सम्पदा बनेको पर्व जगेर्ना सबैको कर्तव्य हो । नारीको महान चाड मनाउने क्रम हाम्रो समाजमा अलि बाक्लिएको छ । फरक तरिकाले मनाउन शुरु भएका छन् ।
पर्व सम्पदा भए पनि मनाउने तौरतरिका परिवर्तन हुँदै जाने नै भयो । समाज अनुकुल बन्ने नै भयो । राम्रा पाटाहरु स्वीकार गर्ने र अव्यवहारिक अनि भद्दा देखिएका संस्कार छोड्दै जाने नै हो । जंगली युगदेखि यो प्रगतिको यात्रामा संस्कार र मानिस दुवै फेरिएका छन् । अब गाली गर्ने पति पनि फेरिएका छन् । पत्नीको सल्लाहमा परिवार र उद्यम गर्ने पतिको संख्या बढ्दो छ र उसको प्रगतिमा पत्नी सारथी बनेकी हुन्छे । आफ्नो छोरी पनि कसैको बुहारी नै हुने हो भन्दै अब बुहारीलाई पेल्ने सासूको सोच पनि फेरिएको छ । बुहारीलाई छोरीका ठाउँमा राख्ने काम शुरु भएको छ । अब माइत जान तीज कुरिरहनु पर्दैन । पतिको अनुमति र सासूको स्वीकृति जरुरी छैन । सासूले नै माइत पठाउने काममा अनुमति दिन थालेकी छिन् । प्रविधिको विकाससँगै माइत जान अब भूगोलले साथ नदिए पनि भेट भएजस्तै भिडियो कलको सेवा गाउँगाउँ पुगेको छ । वेदना होस् या खुशीको खबर सुनाउन तीज नै कुर्नु पर्दैन । ज्यानै जाने खोला तरेर माइती जान हत्ते हाल्ने दिन पनि अन्त्य भएका छन् ।
तर फेरिएको समाजमा हामीले हाम्रो पर्वलाई टिकाइराख्न जुन व्यवस्था गरेका छौँ । यसले एउटा त पर्व कतै विकृत बन्छ कि भनेर सोच्ने बेला आएको छ । अर्कातिर हामीले मनाउँदै आएको चाडपर्व अब पर्व र सम्पदा नभएर समृद्धि प्रदर्शनको होड बनेको छ । कतै यो होडले हामी आर्थिक संकटमा त फस्दैनौँ भन्ने पनि सोच्नु पर्छ । एक महिनाअघि नै विभिन्न पार्टी प्यालेसमा दर खाने प्रचलन बढ्दो छ । परर्निभर हाम्रो अर्थतन्त्रमा साउनमा सोमबारे व्रत बस्दा नै ३६ करोड रुपैयाँको चुरा किनेछौँ । यत्रो रकम विदेशिँदा हाम्रा युवा पुस्ता विदेश बसेर परिवारको सुखका लागि पठाएको रकम सानातिना रहरमै सिध्याइरहेका छौँ । यो त साउनमा किनिने एक दर्जन हरिया चुराको प्रसंग भयो । एक महिनाअघिबाटै पार्टी प्यालेसमा दर खान थालेका छौँ । तीजका मर्मविपरीत पश्चिमा शैलीका गीतमा नाच्न थालेका छौँ । त्यति मात्र होइन, पार्टी प्यालेन्समा मदिरा खपत बढ्दो छ । हामीले तीजका नाममा छाडापन रोजेका छौँ, आर्थिक भार थपेका छौँ । हाम्रा पहिरनहरु उस्तै महँगा हुन थालेका छन् ।
लगत्तै दशैँ छ । त्यसलगत्तै तिहार छ । जनैपूर्णिमामा चीनबाट जनै आउन थालेको छ । अर्थात् परनिर्भर नेपाली जनजीवनमा बढ्दो निर्यात घाटा अनि अर्थतन्त्रमा परेको भारलाई हामीले पर्वका नाममा अरु ऋणात्मक बनाइरहेका छौँ । जनैसमेत चीनबाट आउँछ । चुरा भारत र अन्य मुलुकबाट आउँछ । तीजका नाममा हामीले पहिरन, गरगहना र पार्टी प्यालेसमा गरेको खर्चले कतै हाम्रा पुरुषलाई अरु भ्रष्ट पो बनाउन मलजल गरिरहेको छ कि ? साविकको काम र कमाइले हाम्रो शानशौकत नजोगिएला भनेर अनि पत्नीको रहरको कीरा मार्ने ध्याउन्नमा कतै कार्यालयमा भ्रष्टाचार गर्न उत्साहित पो भइरहेका छन् कि । कतै गहना किनिदिने जोहोभित्र अनियमितता, बदमासीमा पो पुरुष समाहित भए कि ? हामीले दरका नाममा भित्र्याएको ‘डर’ले कतै हाम्रो आर्थिक परनिर्भरता अरु बढ्दै छ कि ? हाम्रा पुरुष भ्रष्टाचारमा भोलि जाकिए भने त्यसपछिका तीजहरु कस्ता होलान् ?
जनै र हरिया चुरामा भएको खर्चका तुलनामा तीज निकै महँगो भएकामा शंका छैन । अचेल हरेक संस्था, सहकारी, क्लबसमेत तीजको दर पार्टी राखिरहेका छन् । त्यहाँ विस्तारै मदिरा स्थापित भइरहेको छ । अर्थात् हामी तीज मान्न जाँदा बहिनी, छोरीलाई पनि लगिरहेका हुन्छौँ । पहिरनको होड, मदिराको मात र उन्मादमा तीज मान्ने होइन देखाउने पर्व भइरहेको छ । फलानाले तीजमा यति हजारको सारी लगायो, यति लाख त दरपार्टीमा खर्च ग¥यो । मदिरा र डिजे पार्टीमै यति पैसा सिध्यायो । यो तीजको मान हो अपमान अनि तीज मानिरहेका छौँ कि आफ्नो अभिमान पस्किरहेका छौँ छिमेकीलाई ?
हाम्रा बहिनी छोरीले मदिराको चुस्कीबाट शुरु गरेको मध्यपानले उनीहरुको भविष्य कस्तो होला ? हो, हामीले पर्वलाई विकृत बनाउनु हुन्न । हामी पनि देखासिकीको शिकार बन्नु हुन्न । विकृति होइन समयसापेक्ष सामाजिक काम गरेर पर्व मनाऔँ । पार्टी प्यालेसमा गरिने दर पार्टीको खर्चले कसैको जीवन परिवर्तन हुन सक्छ । उसको जीवन ऋणमुक्त हुन्छ र कुनै उद्योग गरेर स्वरोजगार हुन सक्छ भने किन सहयोग नगर्ने ? दर पार्टीका खर्च सहकारीमै बचत गर्दा अर्को उद्योगीले ऋण पाउँछ र उत्पादन बढ्छ । रोजगारी थपिन्छ । तीज मनाउने तर भड्किलो नबनाउने । आज हामी भड्किलो तीज मनाइरहँदा हाम्रा पुरुषलाई भ्रष्टाचार गर्न झन उत्साहित र अग्रसर बनाउँदै गइरहेका त छैनौँ ? मदिरा निषेध गर्दा केही फरक पर्छ र ? किन मदिरारहित तीज नमनाउने ? ‘दर’ डर नहोस् । सबैमा तीजको शुभकामना ।