प्रिमेश शिवाकोटीरौतहट । रौतहटको कटहरिया नगरपालिकाका मेयर सियाराम कुशवाहा काँसी तिवारी हत्या काण्डमा जेल परेपछि सो नगरपालिका लथालिंग बन्दै जान थालेको छ । पछिल्लो समय कटहरिया नगरपालिकामा एकै पार्टीका जनप्रतिनिधिबीच विश्वासको संकट गहिरिएपछि नगरपालिका सञ्चालनमा समस्या उत्पन्न हुन थालेको छ । नगरपालिकामा ६ महिना यता कर्मचारी र जनप्रतिनिधिबीच विवाद हुँदा नगरपरिषद् हुन सकेको छैन भने चालु आर्थिक वर्षको विकास निर्माणको काम समेत अन्यौलमा परेको छ ।
जनप्रतिनिधिबीच नै एकले अर्काेलाई समाप्त पार्ने खेल सुरु भएसँगै कटहरिया नगरपालिकाकी कार्यवाहक मेयर नुरजहाँ खातुनलाई बुधबार कार्यपालिका बैठकले निलम्बन गर्ने बहुमतले निर्णय नै गरेको छ । निलम्बन गरेर छानविन गरी कारवाही गर्नका लागि कार्यपालिकाको बहुमत पदाधिकारीहरुले बुधवार निर्णय गरेसँगै कटहरिया नगरपालिकाको विवाद चरम उत्कर्षमा पुगेको छ । कार्यपालिकाको बैठकले कार्यवाहक मेयर खातुनले लाखौं रुपैयाँ अनियमतिता गरी अनवाश्यक रुपमा कार्यालयलाई लथालिंग बनाएको भन्दै निलम्बन गरेर छानविन गरी कारवाही गर्न कार्यपालिकाको बहुमत सदस्यको हस्ताक्षरसहितको पत्र सम्बन्धित निकायमा पत्राचार गरेको छ । कटहरिया नगरपालिकामा तत्कालिन मओवादी केन्द्रबाट निर्वािचत उपमेयरलाई सोही दलका कार्यपालिका सदस्यहरुले निलम्वित गरेपछि विवाद सतहमा आएको हो ।
१९ सदस्यीय कार्यपालिकाका १४ सदस्यले कार्यवाहक मेयरको जिम्मेवारीमा रहेकी नुरजाँहा खातुनलाई निलम्वन गरेपछि उनले नगरपालिकाको ४ करोड रुपैयाँ हिनामिना गर्न नपाएको झोकमा आफुमाथि झूटो आरोप लगाएर आफूलाई निलम्वन गर्न खोजिएको बताएकी छिन् ।उनले नगरसभा चाँडै गर्नका लागि बोलाइएको कार्यपालिकाको बैठकमा प्रदेश सांसद कुन्दन कुश्वाहाका समर्थकले घेरा हालेर धम्काउँदै जवर्जस्ती निर्णय गराएको आरोप समेत लगाएकी छिन् । कार्यबाहक मेयर त्यसमाथि पनि महिलालाई सार्वजनिक स्थलमा गाली बेइज्जत गर्ने गरेको उनले बताईन् ।
आफुले एक पैसा भ्रष्टचार नगरेको र भ्रष्टचार गरेको प्रमाण पु¥याउन उनले चुनौति समेत दिएकी छिन् । ‘जसले ममाथी यस्तो संगिन आरोप लगाएको छ ,प्रमाण पु¥याएर आउन म सहजै कुर्सी त्याग्न तयार छु,उनले भनिन ् ।’ कार्यबाहक मेयरलाई कोमामा पु¥याउने षडयन्त्र रच्ने अनि नगरपालिकाको रकममा चलखेल गर्ने सपना देख्नेहरुले ज्यान मार्नेसम्मको धम्की दिने गरेको उनले बताईन । स्थानीय प्रशासनसँग सुरक्षाको माग गर्दा कुनै सुनुवाई गर्दैनन् उल्टै घरभित्रै बस्नुहोस भन्ने जवाफ दिन्छन्,उनले भनिन् । कटहरिया नगरपालिका ४ का वडाध्यक्ष चन्दन प्रसाद कुशवाहाले उपप्रमुखले आफुहरुलाई काम गर्न नदिएको आरोप लगाएका छन् । उनले उपमेयरले बजेट विनियोजनदेखि कार्यालय सञ्चालनको बजेट एकलौटी खर्च गर्ने गरेको आरोप लगाँउदै कार्यपालिकाले उनको बदमासीको अन्त गर्न महाअभियोग लगाउने निर्णय गरेको बताएका छन् । उपमेयर खातुनले आर्थिक वर्ष २०७४÷०७५ को बजेट खर्चमा आर्थिक अनियमितता गरेको उनको आरोप छ । गाडी, घरभाडा, इन्धन खरिद, सञ्चालन तथा मर्मतसम्भार, तालिम गोष्ठी, विविध कार्यक्रम खर्च, औषधि खरिद शीर्षकमा भ्रष्टाचार गरेको आरोप लगाउँदै बुधबार बसेको कार्यपालिकाको बहुमत सदस्यको बैठकले निलम्बन तथा छानबिनको निर्णयसहितको प्रस्ताव पारित गरेको उनले बताएका छन् ।
कटहरिया नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामलाल सहनीले कार्यपालिकाको वैठकमा एक्कसी प्रदेश साँसद कुन्दन कुश्वाहाले सयौं व्यक्तिलाई लिएर आएको र आफूलाई गाली गलौजका साथै हात पात गरेर जबरजस्ती कारवाहीका लागि पत्र लेख्न लगाएको आरोप लगाए । उनले कार्यालयमा आएर जथाभावी बोल्ने र हातपात गर्ने अधिकार कसैसंग नहरेको बताउँदै दोषिमाथी कारवाही गर्नुपर्ने र आफ्नो ज्यानको सुरक्षाको माग गरेका छन् ।
किन बढ्यो विवाद
सियाराम कुशवाहा तत्कालिन नेकपा माओवादी केन्द्रबाट स्थनीय तहको निर्वाचनमा विजयी भएका थिए । कटहरिया नगरपालिकाका मेयरमा विजयी भएका कुशवाहा जेल परेपछि सो नगरपालिकामा विवाद शुरु हुन थालेको थियो । वीरगञ्जको अशोकबाटिकास्थित शिवपार्वती मन्दिर परिसरमा हिन्दु युवा संघ पर्साका संस्थापक अध्यक्ष काशी तिवारीको २०६७ साल असार १२ गते गोली हानी हत्या गरेको आरोपमा कुशवाहालाई जेल सजाय भएको थियो । उनी जेल परेपछि नगरपालिकाको विवाद चरम उत्कर्षमा पुगेको हो । कर्मचारी र जनप्रतिनिधिबीच को ठूलो भन्ने विषयमा तीव्र मनमुटाव छ । मेयर नरहेको अवस्थामा हाल उपमेयर नुरजहाँ खातुनले कार्यवाहक मेयरका रुपमा नगरपालिका चलाउँदै आएकी छन् । कुशवाहा नगरपालिकामा रहँदा भने केही विवाद थिएन । उच्च अदालत जनकपुरको इजलास वीरगन्जले जिल्ला अदालत बाराको फैसला उल्टाउँदै कुशवाहलाई दोषी ठहर गर्दै गएको फागुन २८ गते सर्वश्वसहित जन्मकैदको सजाय सुनाएको थियो । कुशवाहा त्यती बेला मेयर थिए ।