भगीरथ भण्डारी/श्याम कुशवाहइलाम/पर्सा । समाज कता जाँदैछ ? कलिला बालिका, किशोरी संरक्षण कसरी गर्ने चिन्ताको विषय बनेको छ । इलामको देउमाइ नगरपालिका, जहाँ आफ्नी १३ वर्षीया नातिनी बलात्कृत भई र गर्भवती बनिन् भन्दै हजुरबुबा प्रहरीमा उजुरी गर्न जानु परेको छ अनि प्रहरीले बलात्कार आरोपमा पक्राउ गरेका आरोपी एक–जना दुई जना होइनन्, ११ जना छन् । तीमध्ये दुईको उमेर त ६० वर्ष छ ।
१३ वर्षीया बालिकालाई करणी गरी गर्भवती बनाएको आरोपमा देउमाइ नगरपालिका–९ का ६० वर्षीय चित्रवीर लिम्बू, हप्पे भनिने राजेश लिम्बू, ५४ वर्षीय ढुण्डीराज गिरी, १९ वर्षीय शान्तहाङ फत्र लिम्बू, १९ वर्षीय कुसाङ पत्रे लिम्बू, ३५ वर्षीय बीरबहादुर खजुम लिम्बू, ५० वर्षीय रामबहादुर लिम्बू, ६० वर्षीय भीमचन्द्र लिङदेन र १९ वर्षीय मिलन साँवोलाई पक्राउ गरिएको प्रहरी निरीक्षक माधव श्रेष्ठले बताउनुभयो ।
बालिकाको गर्भपतन गराउन जिल्ला बाल कल्याण समितिले सिफारिस गरे पनि आठ महिनाको गर्भ भइसकेकाले गर्भपतन गराउन नमिल्ने चिकित्सकले बताएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले जानकारी दिनुभयो ।
उता, पर्साको वीरगञ्ज महानगरपालिकाको बजारमै १२ वर्षीया बालिका बलात्कृत भएकी छिन् । मुर्ली पोखरीटोलमा १२ वर्षीया बालिका छिमेकी १५ वर्षीय सोयल हवारीबाट बलात्कृत भएकी हुन् । हवारी पक्राउ परेका छन् । बालिकाको रक्तस्राव नरोकिएपछि वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार गर्नु परेको थियो ।
बालिकाका पिता रोजगारीकालागि भारतबाट वीरगञ्ज आएका हुन् । परिवारसहित मुडलीमा डेरामा बस्छन् । घरमा कोही नभएको मौका पारेर बालिका बलात्कृत भएकी हुन् ।