[caption id="attachment_63772" align="alignleft" width="160"]
–नम्रता बानियाँ[/caption]
काठमाडौं । यदि तपाईं संसारको सबैभन्दा पुरानो विश्वविद्यालय युरोप, चीन वा कुनै विकसित देशमा भएको भन्ने अनुमान लगाइरहनुभएको छ भने गलत हुनुहुन्छ । विश्वको सबैभन्दा पुरानो विश्वविद्यालय मोरोक्कोमा छ । जसलाई अल–काराबियिन नामले चिनिन्छ । विश्वविद्यालय सन् ८५९ मा ट्युनिसियाको राजकुमारी फातिमा अल फिरीले स्थापना गरेकी थिइन् ।
विश्वविद्यालयलाई युनेस्को र गिनिज वर्ल्ड रेकर्डले समेत पहिचान गरेको छ । स्थापनादेखि अहिलेसम्म यो विश्वविद्यालय निरन्तर सञ्चालनमा आइरहेको छ । विश्वविद्यालय फेसमा अवस्थित छ । मुसलमानको आध्यात्मिक र शैक्षिक संस्थाको केन्द्रका रुपमा यो परिचित छ । इतिहासमा वर्णन भएअनुसार १ हजार २ सय वर्षअघि अल–फिरी र उनका परिवार कायरावान (अहिलेको ट्युनिसिया) बाट फेस (मोरोक्को) मा बसाइँ सरेका थिए ।अल–फिरीको बुबाको मृत्युपश्चात उनले परिवारको सम्पत्ति मदरसा विद्यालय खोल्न खर्चेकी थिइन् । जसको मुख्य उद्देश्य मुसलमान समुदायका मानिसलाई आफ्नो ज्ञान प्राप्ति र आध्यात्मवादमा सहयोग पु¥याउनु थियो । यो इस्लाम धर्मावलम्बीको पवित्रस्थल मस्जिदको रुपले पनि चिनिन्छ । एकपटकमा २२ हजार उपासक अटाउन सक्ने कोठा पनि छ । यो अफ्रिकाकै सबैभन्दा ठूलो मस्जिद र शैक्षिक केन्द्र हो ।
शुरुवाती दिनमा विश्वविद्यालयमा धार्मिक ग्रन्थ कुरान मात्र पढाइ हुन्थ्यो । पछि यसलाई विस्तार गरेर क्यालिग्राफी, अरबिक, व्याकरण, सुफिज्म, संगीत र खगोल विज्ञानको अध्ययन गराउन थालियो । सन् १९४७ मा यसलाई विद्यालयका रुपमा दर्ता गरियो ।
दशवर्षमै रसायन विज्ञान, भौतिक शास्त्र र विविध भाषा पढाउने विद्यालय बन्यो । १९६३ मा यो विद्यालय विश्वविद्यालयका रुपमा दर्ता भयो । गुणस्तरीय पढाइका लागि शिक्षक एकठ्ठा गरेर विद्यालयले राम्रो परिचय बनाइसकेको थियो । विश्वविद्यालयमा विश्वभरबाट विद्यार्थीले आवेदन दिने गरेका छन् ।
विश्वविद्यालयमा पढ्न चाहने विद्यार्थीले अनिवार्य कुरान पढ्न जानेकै हुनुपर्छ । विश्वविद्यालयमा अहिलेसम्म परम्परागतरुपमै पढाइ हुन्छ । विशेषगरी १३ देखि ३० वर्षसम्म उमेरका विद्यार्थी अर्ध गोलाकार भई मौलानासँग पढ्छन् । विश्वविद्यालयको पुस्तकालय विश्वकै पुरानो पुस्तकालयको रुपमा परिचित छ । पुस्तकालयमा नवौँ शताब्दीका ४ हजार पान्डुलिपि संग्रिहित छन् । (एजेन्सीको सहयोगमा)