[caption id="attachment_63787" align="alignleft" width="122"]
–श्रीराम अधिकारी[/caption]
दक्षिणपूर्वी एसियामा इन्डोनेसिया भन्दा पछि दोस्रो ठूलो अर्थतन्त्र भएको देश हो थाइल्यान्ड । सिंगापुर, ब्रुनाइ र मलेसियापछि चौथो धनी देश हो थाइल्यान्ड । ६ करोड ७२ लाख जनसंख्या भएको देश हो थाइल्यान्ड । कृषिक्षेत्रमा आमूल परिवर्तन, विकास र विस्तार गर्न सफल देश थाइल्यान्ड चामल उत्पादन र निर्यातका हिसाबले विश्वकै ठूलो देश हो । थाइल्यान्डको जनसंख्याको ४९% जनसंख्या कृषिक्षेत्रमा क्रियाशील छ । त्यसो त कृषि, वन र माछा उत्पादन व्यवसायले मात्र ८.४% जिडिपीमा योगदान दिएको छ ।
राजतन्त्रामक देश थाइल्यान्ड बदलिँदो विश्व परिवेशअनुसार समयानुकूल बन्दै विकासको पथतिर लम्कँदै छ । त्यहाँ राजा र प्रजाबीच अन्योन्याश्रित सम्बन्ध छ । थाइल्यान्डको विकास र परिवर्तनमा राजाको पनि भूमिका छ । नेपालमा पनि राजा र प्रजाबीचको सम्बन्ध विकास र समृद्दितिर उन्मुख हुन्थ्यो भने सायद राजतन्त्र समाप्त हुने थिएन । देशका दुर्गम गाउँबस्ती घुमेर धेरै समय बिताएका थाइल्यान्डका राजाको गाउँठाउँ घुम्नु राजकीय शौख मात्र थिएन । उनी दूरदराजमा रहेका जनताको समस्या के छन् र त्यसलाई राष्ट्रले कसरी सम्बोधन र समाधन गर्न सक्छ भन्नेबारे तल्लीन हुन्थे ।
सन् १९८२ सम्ममा रोयल डेभलपमेन्ट प्रोजेक्टका रुपमा ३ हजार भन्दा बढ़ी प्रोजेक्ट प्रत्यक्ष सञ्चालनमा रहनुले पनि राजा र विकासबीचको सम्बन्ध थप पुष्टि गर्दछ । अहिले यो संख्या बढेर ९ हजारको हाराहारीमा पुगेको छ । रोयल डेभलपमेन्ट प्रोजेक्टको मुख्य उद्देश्य दूरदराजमा रहेका गाउँ बस्तीका जनताको दैनिक जनजीवन उकÞास्नु हो । रोयल डेभ्लपमेन्ट प्रोजेक्टले विशेष गरी ८ क्षेत्रमा काम गर्दछ । त्यसमा कृषि पहिलो प्राथमिकतामा छ । अन्य क्षेत्रमा वातावरण, जनस्वास्थ्य, जलस्रोत, सञ्चार, जनकल्याण पर्दछन् ।
कृषिक्षेत्रको आमूल परिवर्तन र विकासका लागि थाइल्यान्डका राजाले एउटा सूत्र प्रतिपादन गरे । त्यो सूत्र हो ३०–३०–३०–१० । थाइल्याण्डले यही सूत्र पछयाउँदै विगतदेखि हालसम्म कृषिक्षेत्रलाई अघि बढाइरहेको छ । सूत्रानुसार जमीनलाई ४ भागमा विभाजन गरिन्छ । ३०% जमीन पानीको स्रोतका लागि, ३०% जमीन धानखेतीका लागि, ३०% जमीन मिश्रित खेतीजस्तै तरकारी तथा फलफूलका लागि र १०% जमीन मानिस र जनावरका लागि र आवास तथा बाली ब्यवस्थापनका लागि । कृषि, उपकरण, मल, बिउ, बिजन खरीदमा न्युनतम कर व्यवस्था हुनुले पनि थाइल्यान्डले कृषिक्षेत्रमा आमूल परिवर्तन र विकास गरेको छ । माटो जाँच र उत्पादन अभिवृद्धि गर्न प्रशस्त अध्ययन र अनुसन्धान हुने गर्दछ । गुणस्तरीय कृषि उत्पादन र राम्रो बजार व्यवस्थापनले पनि किसान यो पेशामा आकर्षित छन् ।
नेपाल सरकारले पनि कृषिक्षेत्रमा लगानी गर्ने वातावरण बनाइदिए हाम्रो देश पनि आधुनिक कृषि र प्रविधितिर उन्मुख हुनेथियो । हामी कागजी र कलमी मात्र भयौ व्यवहारिक र इलमी हुन सकेनौँ । एउटा सरकारी आँकडा हेर्ने हो भने नेपालमा ७३.९% जनता कृषि पेशामा आवद्ध छन् । धेरै प्रतिशत जनता कृषिक्षेत्रमा हुनु र यो क्षेत्रको आधुनिकिकरण नहुनुबाट स्पष्ट हुन्छ कि हाम्रो देशको श्रम र जनशक्ति खेर गइरहेको छ । यति ठूलो जनशक्ति यो क्षेत्रमा लाग्नु अन्य क्षेत्रमा दक्ष जनशक्तिको अभाव हुँदै जानु हो । जुन हामी भोगिरहेका छौँ । इजरायलको जनसंख्या लगभग ८० लाख छ । यहाँ कृषि कर्ममा समर्पित जनसंख्या मुस्किलले ४ प्रतिशत मात्र छ । आधुनिक कृषि प्रणाली अपनाउदै कृषिक्षेत्रमा ठूलो फड्को मार्न सफल देश इजरायल ४ प्रतिशतले उत्पादन गरेको कृषि जन्य उत्पादनबाट आत्मनिर्भर मात्र छैन । ठूलो परिणाममा युरोप र अमेरिकामा आफ्ना उत्पादन निर्यात गर्दछ । नेपालमा कृषिक्षेत्रमा जम्मा २०% जनसंख्या काफी हुन्छ । बस् आधुनिक कृषिप्रणाली अपनाउनु पर्यो । कृषिमा अध्ययन, अनुसन्धान, आधुनिक प्रविधि प्रयोग, थोपा सिञ्चाइँमा आधारित कृषिप्रणाली, मल बिउबिजनको सर्वसुलभता, बिचौलिया अन्त्य, कृषि बजार व्यवस्थापनमा जोड दिने हो भने हाम्रो समृद्धि यात्रा सफलताको सिँढी चढ्नेछ ।