काठमाडौं ।सर्वोच्च अदालतका नवनियुक्त प्रधानन्यायाधिश ओमप्रकाश मिश्रले सोमबार पदभार ग्रहण गर्नु भएको छ । राष्ट्रपति विद्या भण्डारीले सितल निवासमा सपथ ग्रहण गराएलगत्तै नवनियुक्त प्रधानन्यायाधिश मिश्रले साँझ सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गर्नु भएको हो । संसदीय सुनुवाई समितिले अनुमोदन गरेलगत्तै उहाँलाई राष्ट्रपति विद्या भण्डारीले आजै प्रधानन्यायाधिशमा नियुक्त गर्नु भएको थियो । पदभार ग्रहण गरेलगत्तै उहाँले संचारकर्मीमाझ न्यायालयमा भ्रष्टाचार हुन नदिने प्रतिवद्धता व्यक्त गर्नु भयो । नवनियुक्त प्रधानन्यायाधिश मिश्रले न्याय सेवालाई प्रभावकारी बनाउन उपयुक्त विधि स्थापित गराउन पनि आफूले पहल गर्ने बताउनु भयो ।
नवनियुक्त प्रधानन्यायाधिश मिश्रले संहिताहरुको कार्यान्वयनको कामलाई प्रभावकारी बनाउने पनि बताउनु भयो । उहाँले न्याय सेवालाई प्रभावकारी बनाउन न्यायाधिशहरुको दक्षता वृद्धिको कामलाई पनि अघि बढाउने योजना सार्वजनिक गर्नु भयो । २०७१ साल जेष्ठ १३ गते सर्वोच्च अदालतको न्यायाधिशमा नियुक्त हुनु भएका मिश्रलाई अप्रत्याशित रुपमा प्रधानन्यायाधिश बन्ने अवसर प्राप्त भएको हो । प्रधानन्यायाधिशमा प्रस्तावित दिपकराज जोशीलाई संसदीय समितिले अस्विकृत गरेपछि दोस्रो वरियतामा रहनु भएका उहाँलाई प्रधानन्यायाधिश बन्ने अवसर प्राप्त भएको हो । मिश्रले उमेर हदका कारण आगामी पुस १७ गतेसम्म प्रधानन्यायाधिश बन्न पाउनुहुनेछ ।
यसैबीच सोमबारको संसदीय सुनुवाईमा प्रस्तावित प्रधानन्यायाधीश मिश्रले न्यायिक काम (कारवाहीको प्रभावकारी अनुगमन गरेर अदालतको भ्रष्टाचार रोक्ने प्रतिवद्धता जनाउनुभयो । जनआस्था अभिवृद्धिलाई प्राथमिकतामा राखेको भन्दै उनले समयको मागअनुसार सबै अदालतहरुलाई आइटीयुक्त बनाउने, मुद्दा फछ्र्यौटलाई छिटोछरितो बनाउने, न्यायालयभित्र हुने भ्रष्टाचार र अनियमिमता अन्त्य गर्नेलगायतका योजनाका फेहरिस्त सुनाउनुभयो ।
मिश्रले समितिसमक्ष आफ्नो २५ पन्ने अवधारणापत्र रकार्ययोजना प्रस्तुत गरिरहँदा बीचमै समिति सभापति लक्ष्मणलाल कर्णले रोक्नुभएको थियो। कर्णले भन्नुभयो, ‘तपाइको अहिलेसम्मको प्रस्तुतीमा धेरै विषय आइसकेको छ । अहिले यहीँ रोकौं ।’ त्यसबेलासम्म मिश्रले आफ्नो कार्ययोजना आधाभन्दा केही बढी पढेर सुनाइ सक्नुभएको थियो। प्रस्तावित प्रधानन्यायाधीश मिश्रले आफ्नो योजना सुनाइरहँदा लामो भएको ठानेर हो वा अन्य कुनै कारणले, समितिका सभापति कर्णले बीचमै रोके अनि सांसदहरुलाई मिश्रको योजना र प्रतिवद्धतामाथि प्रश्न वा जिज्ञासा राख्ने समय उपलब्ध गराउनुभयो।
सुरुमै बोलेका नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले न्यायालयमा एकता र अनुशासनको अभाव भएको र न्यायमा प्रतिकुल प्रभाव परेको बताउनुभएको थियो । उहाँले संविधानले स्वतन्त्र न्यायालय र सक्षम न्यायप्रणालीको विकास गर्ने कल्पना गरेको भन्दै मिश्रलाई छिटोछरितो काम गर्ने योजना के छ भन्दै प्रश्न गर्नुभएको थियो । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद सुरेन्द्र पाण्डेले मिश्रलाई प्रभावकारी काम गर्न र आफ्नो छवि उच्च बनाउन सक्ने गरी काम गर्न सुझाउनुभएको थियो ।