काठमाडौं । किरात राई संस्कृतिमा आधारित चलचित्र ‘सायाबुङ’ (शीरफुल) को विशेष प्रदर्शन हुने भएको छ । किरात राई यायोक्खा केन्द्रीय कार्यालय कोटेश्वरस्थित सुम्निमा हलमा भदौ ३० गते ‘सायाबुङ’ को विशेष प्रदर्शन हुने निर्माण पक्षले सोमबार पत्रकार सम्मेलन गरी जानकारी दिएका छन् ।
द पाल्म ग्रुप प्रालिको ब्यानरमा निर्माण गरिएको सायाबुङ चलचित्र किरात राई संस्कृतिमा आधारित छ । चलचित्रमा किरातीको परम्परागत मूल्य र मान्यतालाई जीवन्त रुपमा प्रस्तुत गरिएको छ । चलचित्रको नाम किराती सभ्यता र भाषाबाट लिइएको भए पनि चलचित्र नेपाली भाषामा छ । पूर्वी नेपालको उच्च पहाडी भेग जहाँ गाई तथा चौरी गोठपालनको संस्कृति छ ।
सौजन सुब्बा, निशा राई, सगुन सुसारा, साया राई, राहुल राई, दर्पण राई, उमेश राई र दिब्य आङ्देम्बेको अभिनय रहेको चलचित्र साया राईले निर्माण गरेका हुन् । भगिराज राईको लेखन निर्देशन, भक्त सुनुवार र उदय नेम्बाङको संगीत छ । देबजंग थापाले सम्पादन गरेका छन् । चलचित्रमा दिपक लिम्बू, रजिना रिमाल, दिपा लामा, उदय नेम्बाङ गौरिमान राई र भगिराज राईको गीत समेटिएको छ ।
काठमाडौंको विशेष प्रदर्शनपछि झापा, बिर्तामोड, धरान लगायत नेपालको अन्य ठाउँमा समेत प्रदर्शन गरिने निर्देशक राईले बताए । भारतको दार्जिलिङ, सिक्किम, मणिपुर, कालेबुङ, दिल्ली र साउदी अरबमा पनि प्रदर्शन गर्ने मिति तय भइसकेको राईले जानकारी दिए ।