निर्मला पन्त हत्याकाण्डमा ‘झुटो’ अनुसन्धान गर्दै नक्कली अभियुक्त खडा गर्ने प्रहरी अधिकारीममाथि कारबाही हुने भएको छ । प्रहरी प्रधान कार्यालयले कञ्चनपुर घटनामा प्रहरीको भूमिका शंकास्पद र अनुसन्धानमा गम्भीर त्रुटि रहेको निष्कर्ष निकाल्दै कारबाही गर्न लागेको हो ।
प्रहरी स्रोतका अनुसार, भदौ १४ गते नै प्रहरी अधिकारीमाथि छानबिन र कारबाही सिफारिसका लागि एसएसपी उत्तमकुमार सुवेदीको नेतृत्वमा समिति गठन गरिएको थियो । निर्मला हत्याकाण्ड अनुसन्धानमा कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्ट यसअघि नै निलम्बनमा परिसकेका छन् भने अन्य प्रहरी अधिकारीको भूमिकाबारे अनुसन्धान भइरहेको छ । प्रहरी स्रोत भन्छ, अनुसन्धानमा दीलिप बिष्टलाई नै मुख्य अभियुक्त बनाएर प्रस्तुत गर्ने कार्यमा सिआइबीका डिएसपी अंगुर जिसीको पनि संलग्नता छ ।
[caption id="attachment_60797" align="alignright" width="150"]
-राधिका जोशी[/caption]
कञ्चनपुरका तत्कालीन डिएसपी ज्ञानबहादुर सेठी र अनुसन्धान अधिकृत एकेन्द्र खड्कालगायत अन्य केही जुनियर अधिकृतको पनि कमजोरी भेटिएको छ । अब कसलाई के कारबाही गर्ने भन्नेबारे छलफल भइरहेको छ । तर बिगतका दिनमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले कमाएको अन्तर्राष्ट्रिय ख्याति, अनुसन्धानमा अब्बल रहेको र अहिलेसम्मका अनुसन्धानमा धोका नखाएको प्रहरीको छविमै प्रश्न तेर्सिएको छ । अपराध अनुसन्धानमा अन्तर्राष्ट्रियस्तरमै दोस्रो–तेस्रो स्तरमा रहेको सिआइबी निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा भने नराम्रोसँग चुकेको छ ।
सिआइबीबाट एकपटक होइन, पटकपटक टोली खटिएको थियो । डिएसपी अंगुर जिसी र एसएसपी ठाकुर ज्ञवाली देखिने गरी नै ब्युरोबाट खटिएका थिए । सिआइबीको टोलीकै सहयोगमा निर्मला हत्याको आरोपमा ४१ वर्षीय दीलिपसिंह बिष्टलाई कञ्चनपुर प्रहरीले पक्राउ गरेको थियो । सिआइबीकै सहयोगमा दीलिपको डीएनए परीक्षण गर्न लगाइएको र उनको डिएनए निर्मलाको पोष्टमार्टमपछि आएको डिएनए रिपोर्टसँग मेल नखाएको पक्ष सार्वजनिक भइसकेको छ । डिएनए मेल नखाएपछि दीलिप थुनामुक्त भइसकेका छन् ।
दीलिप थुनामुक्त भएकै दिन मंगलबार राति गृह मन्त्रालयमा बसेको बैठकले समेत गृह र प्रहरी नेतृत्वलाई झुक्याएको ठहर गरेर अनुसन्धानमा संलग्नबारे छानबिन गर्ने निर्णय गरिसकेको छ । यसले, विशेष दक्षता भएको र अनुसन्धानमा पोख्त प्रहरी अधिकारी रहेका भनिएका सिआइबीमाथि प्रश्न नउठ्ने कुरै भएन । अझ सिआइबीको ब्रिफ सुनेपछि प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले सार्वजनिकरुपमा मानसिक अवस्थाको मान्छेले यस्तो घटना गर्दैन भन्न सकिँदैन भनेर दीलिप नै अभियुक्त ठहरिन्छन् भनेका थिए । यहाँनेर उनको विश्वासले धूलो चाटेको छ ।
महेन्द्रनगरमा प्रहरीले नक्कली अभियुक्त खडा गरेर अपराधी जोगाउन खोज्यो भन्दै आन्दोलन चर्किँदा, प्रहरीको गोली लागेर १४ वर्षीय शनि खुनाको मृत्यु हुँदा र गोली लागेर कसैको हातखुट्टै काट्नु पर्दासम्म पनि प्रहरी प्रधान कार्यालय आफ्ना निकायको अनुसन्धानप्रति विश्वस्त थियो । तर, यतिबेला भने प्रहरी प्रधान कार्यालयको पनि शिर झुकेको छ ।प्रहरीले मुख्य अभियुक्त भनेर पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेका दीलिपको मानसिक अवस्था ठीक नभएको भनियोे । उपचारका लागि काठमाडौं ल्याइयो । यति मात्रै होइन, डिएनए परीक्षण गरियो । रिपोर्ट सिधै खामबन्दी गरेर कञ्चनपुर पुग्यो । सार्वजनिक नहुँदासम्म दीलिप चार दिन थुनामै बसे । मंगलबार डिएनए नमिलेपछि सार्वजनिक भए । एकै झट्कामा सिआइबीको हविगत छरपष्ट भयो । यसले छरप्रष्ट हुन्छ, सिआइबीको अपरिपक्वता मात्र या रफ्फूदफ्फूमा घटना सामसुम ? धेरै पछिसम्म नेपाल प्रहरीले यसको जवाफ दिइरहनु पर्नेमा शंका रहेन ।