जनताको अभिमतबाट कम्युनिष्ट पार्टी सरकारमा पुगेपछि सरकारले लोकप्रिय ढंङ्गले काम गरे मात्र राज्यसत्तामा श्रमजीवी वर्गको नेतृत्व कायम हुन्छ । सरकारलाई पार्टीका नीतिअनुरुप नीति तथा कार्यक्रम बनाएर लागु गर्न पार्टीले हरहमेसा निर्देशित गरिरहनु पर्दछ । पार्टीले नीति कार्यव्रmममा मात्रै होइन, सरकारले प्रभावकारी तवरले कार्य गर्न सक्यो सकेन भनेर पार्टीभित्र अनुगमन गर्ने संयन्त्र पनि हुनु पर्दछ । यसो गर्दा मात्र पार्टी र सरकारबीच सम्बन्ध प्रगाढ र जीवन्त बन्छ । सरकारले अवलम्बन गर्ने हरेक नीति तथा कार्यक्रमबारे पार्टीले अपनत्व लिन सक्ने गरी सरकारमा कार्यक्रम सञ्चालन हुने र सरकारका तर्फबाट पार्टीभित्र जानकारी गराउने कार्य हुनु पर्दछ । सरकारले नीति कार्यक्रम बनाउँदा र सम्बन्धित तहको पार्टी कमिटीबाट सुझाव लिने र तदनुरुपको नीति कार्यक्रमलाई सरकारमार्फत लागू गर्ने कार्य गर्न सक्दा पार्टीपंक्तिले सरकारका नीति, कार्यक्रमको व्याख्या, विश्लेषण गर्ने र सरकारका नीति कार्यक्रमप्रति प्रतिपक्षीले गर्ने विरोधको खण्डनमण्डन सहज हुन्छ ।
नेपाल कम्युनिष्ट पार्टीको नेतृत्वमा वामगठनबन्धनको सरकार गठन भएको छ महिना व्यतीत भयो । निवार्चनमा जनताको विश्वास जितेर सरकार गठन गरेपछि राष्ट्रिय अन्तर्राष्ट्रियरुपमा नै अघि चासो र चर्चाको विषय बन्यो । सर्वत्र खुशियाली छायो, खासगरी श्रमजीवी वर्गबीचमा वामपन्थीहरुले दुई तिहाईको हाराहारीमा विजयी हासिल गरेपछि निन्द्रा हराम हुन थाल्यो ।
लोकतान्त्रिक आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गरेका र जनताको विश्वास जितेर सरकारमा पुगेका वामपन्थीविरुद्ध पूँजीवादीहरुले ‘अधिनायकवादी शासन’ शुरु गरेको अनर्गल प्रचार गरिरहेका छन । सरकारविरुद्ध पूँजीवादीहरुले जुन ढंगले दुष्प्रचार गरिरहेका छन्, यसको पार्टी पंक्तिबाट प्रतिवाद गर्नु पर्दछ । सरकारले जनताको मन छुने कार्यक्रम सञ्चालन गरेर विश्वास आर्जन गर्ने कार्यमा लाग्नु पर्दछ । यसो भए सरकारको लोकप्रियता बढेर जान्छ ।
पार्टी र सरकारबीच सम्बन्ध व्यवस्थित गर्न जरुरी छ । अहिले संघ प्रदेश र स्थानीय तह गरी तीन वटै तहमा पार्टीको तर्फबाट निर्नाचित जनप्रतिनिधिले नेतृत्व गरिरहेका छन् । सरकारको कार्यलाई प्रभावकारी बनाउन निम्न विषयमा पार्टीको ध्यान जान जरुरी छ ।
१) उच्चस्तरीय संयन्त्र निर्माणः
सरकारका कार्य प्रभावकारी बनाउन पार्टीका तर्फबाट उच्चस्तरीय संयन्त्र निर्माण हुन सक्यो भने यसले सरकारका कामलाई नयाँ गति दिनेछ । पार्टीभित्र अनुभवले खारिएका ३–३ जना प्रधानमन्त्री, ३–४ जना उपप्रधानमन्त्री छन । यसरी उच्चस्तरीय संयन्त्रमार्फत सरकारलाई सल्लाह, सुझाव दिने र सरकारले तदनुरुप कार्य सञ्चालन गर्दा पार्टी र सरकारबीच नयाँ रक्तसञ्चार हुनेछ ।
२) सक्षम र योग्य व्यक्ति छानौँ:
सरकारमा नियुक्त गरिने मन्त्री सक्षम र योग्य व्यक्ति छनौट गरिनु वान्छनीय हुनेछ । सरकार सञ्चालन गर्ने कार्य चुनौतिपूर्ण छ । योग्य, सक्षम र विषयविज्ञ भएका व्यक्तिबाट मात्र कर्मचारीतन्त्रलाई निर्देशित र समन्वय गर्न सक्ने सामथ्र्य राख्न सक्दछ । अतः मन्त्री पदमा व्यक्ति छनौट गरिँदा यी विषयलाई ध्यान दिन जरुरी छ ।
३) राजनीतिक नियुक्तिः
पार्टीले विभिन्न आयोग, समिति र कुटनीतिक क्षेत्रमा नियुक्त गर्ने व्यक्ति सक्षम, योग्य र सम्बन्धित क्षेत्रमा अनुभवी र विज्ञ हुन जरुरी छ । यसका लागि पार्टी भित्र राजनीतिक नियुक्तीका लागि सिफारिस गर्ने अधिकारीक निकाय हुन जरुरी छ । पार्टीबाट सिफारिस गरिने व्यक्तिको सबै पक्ष विश्लेषण गरेर पार्टीको संस्थागत निर्णयबाट गरिने सिफारिस र तदनुरुपको नियुक्ति प्रक्रियाले नियुक्त हुने व्यक्तिले पार्टीको नीतिअनुरुप जवाफदेही भएर काम गर्ने स्थिति बन्छ ।
४) सरकारका कामको आवधिक समीक्षाः
पार्टीभित्र तीन तहका सरकारको कामको आवधिक समीक्षा गरिनु पर्दछ । समीक्षाबाट सरकारले गरेका राम्रा कामको प्रचारप्रसार गर्ने र कमीकमजोरी भए तत्काल सुधार गर्ने गुञ्जायस रहन्छ । यसरी कार्य प्रक्रिया अगाडि बढाउन सके पार्टी र सरकारबीच सम्बन्ध राम्रो भएर जान्छ ।
५) मितव्ययिता, आर्थिक अनुशासन र पारदर्शीताः
तीन वटै सरकारबाट सरकार सञ्चालन गरिँदा मितव्ययी, आर्थिक अनुशासन र पारदर्शीता कायम गर्न हरहमेसा ध्यान दिन जरुरी हुन्छ । अहिले प्रदेश र स्थानीय तहका सरकार बढी आर्थिक विषयमा आलोचित छन् । जनप्रतिनिधिको तलब सुविधा, सवारी साधन खरिद विषयले पार्टीको छवि राम्रो हुन नसकेको टिप्पणी छ । अतः यस्ता विषयमा पार्टीभित्र छलफल गर्ने, आर्थिक दायित्व बढ्दै जाने तर जनताले प्रतिफल प्राप्त नगर्ने बजेट खर्चप्रति गम्भीर बन्नै पर्दछ । र, पार्टीको तर्फबाट यस विषयमा गम्भीरतापूर्वक समीक्षा गर्नु पर्छ ।
६) जनसरोकारका एजेण्डाअनुरुप नीति कार्यक्रम सञ्चालनः
पार्टीभित्र जनताले भोगिरहेका जल्दाबल्दा समस्या के कस्ता छन् ? कसरी समाधान गर्न सकिन्छ ? सरकारमार्फत जनताका समस्या कसरी पूरा गर्न सकिन्छ भनेर छलफल हुन जरुरी छ । जनताका समस्याप्रति पार्टी बेखबर बन्नु हुँदैन । सबै कार्य सरकारले नै गर्ने हो भनेर पार्टी बेखबर बन्ने हो भने सबै कार्य एकपाखे बन्न पुग्दछ । खासगरी सरकारबाट सञ्चालन गरिने विकास निर्माणका कार्यमा पार्टीका तर्फबाट पनि अधिकसे अधिक जनसहभागिता र जनश्रमदान जुटाई विकास कार्य सम्पन्न गर्न गराउन ध्यान दिनु पर्दछ । यसो गर्दा सिंगो पार्टी पंक्ति विकास निर्माणका कार्यमा परिचालित हुने आधार तयार हुन्छ ।