राजन पौडेल
पर्वत । मुस्ताङ र म्याग्दीको उपल्लो क्षेत्रमा अत्याधिक बर्षा सँगै कालीगण्डकी नदीमा अत्याधिक भेल बढेको छ ।गएको असार र साउन महिनाभन्दा ठूलो आकारमा नदी बढेका कारण जिल्ला प्रशासन कार्यालय म्याग्दी, जिल्ला प्रहरी कार्यालय म्याग्दी, जिल्ला प्रशासन कार्यालय पर्वत र जिल्ला प्रहरी कार्यालय पर्वतले माइकिङसहित नदीको आसपासमा बसोबास गर्दै आएका तथा कामको शिलशिलामा गण्डकी किनारमा रहेकाहरुलाई नदी किनारबाट हट्न अनुरोध गरेको छ ।
म्याग्दीको रघुंगगा गाउँपालिकासम्म आइपुग्दा पानीको बहाव अत्याधिक भएको भनी जिल्ला प्रहरी कार्यालय म्याग्दीले पर्वत प्रहरीलाई सुरक्षा अपनाउन आग्रह गरेको छ । बु्धबार साँझ र बिहिबार बिहान जानकारी गराएपछि कालीगण्डकी नदी किनारमा बसेकाहरूलाई सुरक्षित ठाउँमा रहनको लागि प्रहरीसमेत परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिनुभयो ।
मुस्ताङका प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलले प्रहरी टोली घटनास्थल पुगेर क्षतिको विवरण संकलन गरेसँगै प्रभावितहरूलाई व्यवस्थापन गरेको बताउनुभयो । म्याग्दीको कुइनेमंगलेको गाउँ खतरामा कालीगण्डकी नदीको बहावकै कारण म्याग्दीको रघुगंगा गाउँपालिका ८ कुइनेमंगलेमा कटान ह्वात्तै बढेको छ ।
बुधबार अपरान्हदेखि रघुगंगा नदीमा आएको बाढीले कटान गर्न थालेपछि घ्याँसीखर्क गाउँ जोखिममा परेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रमुख प्रहरी नायव उपरीक्षक बीरबहादुर बुढाले बताउनुभयो । रघुगंगामा आएको बाढी पसेर रितुङ मावि र स्वास्थ्य चौकीको भवनमा क्षति र्पुयाएको छ ।
रघुगंगाको कटानको जोखिममा रहेका बस्तीका बासिन्दाहरूलाई सर्तकता अपनाउन र सुरक्षित हुन गाउँपालिकाले अनुरोध गरेको छ । यसैगरी माथिल्लो क्षेत्रमा भएको वर्षातपछि म्याग्दी, रघुगंगा नदीमा पनि पानीको सतह निकै बढेको छ।
कालीगण्डकी नदीको पानी जम्मा हुने गरेको स्याङ्जा, गुल्मी र पर्वतको सिमानामा पर्ने शालिग्राम शिला रहेको क्षेत्रमा पनि विशेष सावधानी अपनाउन भन्दै प्रहरी परिचालन गरिएको ईलाका प्रहरी कार्यालय ह्वासका प्रमुख प्रहरी निरीक्षक मित्रबहादुर आचार्यले जानकारी दिनुभयो । मुस्ताङमा स्वास्थ्य चौकी र आमा समूहको भवन पुरिएको छ ।
नदीमा अत्याधिक बहाब बढेपछि मुस्ताङको थासाङ गाउँपालिका ४ कुञ्जोमा पहिरोले स्वास्थ्य चौकी र आमा समूहको भवन पुरिएको छ ।यसैगरी अत्याधिक वर्षापछि खोल्सामा आएको बाढीले थासाङ गाउँपालिका २ मा पर्ने सौरका दश घरमा क्षति पुगेको कोवाङ प्रहरी चौकी मुस्ताङले जानकारी दिएको छ । बाढी घरभित्र पसेपछि स्थानीयबासी विस्थापित भएका छन् । थासाङ गाउँपालिकाको टिटी क्षेत्रमा पनि बाढी पहिरोले खेतीयोग्य जमिन पुर्नुका साथै जमिन पनि बगाएको छ ।