टिप्पणीकाठमाडौं । ‘दुईतिहाइ बहुमतको बर्को ओढेर सत्ताको घ्यू चाख्ने बाहेक सरकारले काम गरेन ।’ सत्ताधारी केन्द्रीय नेताहरुले पनि यस्तै गफका कत्था घुमाउन थालेको ५० दिन नाघेको छ शहरमा–गाउँमा–चोकमा–चियापसलमा । प्रतिपक्षीसँग सरकारको विरोध गर्ने मसिना मुद्दा र पटके आन्दोलन मत्थर भइरहेको छ । तर १०० दिनसम्म सरकारको काम हेर्ने भनेर बसेको सरकारकै एका पक्षधरहरु विस्तारै बोल्न–लेख्न थालेका छन् ।
वरिष्ठ नेता झलनाथ खनालले जनता टेलिभिजनसँगै भने, ‘दुनियाँ अन्यायमा परेँ भनेर न्याय पाउन कम्युनिष्ट पार्टीमा आउँछन्, यहाँ त कम्युनिष्ट पार्टीमै अन्याय भइरहेको छ ।’ सरकार बनेको ६ महिना नपुग्दै कानुनमन्त्री शेरबहादुर तामाङ हटाइए अनि भानुभक्त ढकाल ल्याइए । तत्कालीन एमालेइतरका मन्त्रीहरुको राजनीतिक जीवन लगभग समापन छेउछाउमा छ । अरु त अरु लालबाबु पण्डितले पनि केही गर्न सकेनन् भनेर चोकमा आलु चना बुत्याउँदै आलोचना भएका छन् । गोकर्ण विष्टका राम्रा काम छोपिएको छ, नराम्रा कुरा उछालेर सस्तो मनोरञ्जनमा रमाउने काम भएको छ । दूरसञ्चारमा दूरदृष्टि भएका अरु कोही नभएजसरी दिगम्बर झा ल्याउने कामले ‘लोकमानतन्त्र’को ‘एक रिल’ प्रस्तुत गरेको छ ।
त्यहीमाथि तीन मगर मन्त्रीहरुको राजनीतिमा सत्तापक्ष यसरी रुमल्लिएको छ कि, मगरबाट मुक्त हुन नेताहरुलाई धौ भएको छ । त्यसको छनक पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण र राज्यमन्त्री धनबहादुर बुढाको डोल्पा भ्रमण अनि गृहमन्त्री रामबहादुर थापाको काभ्रे भ्रमणपछि सत्ताभित्रै पनि पेचिलो प्रस्तुतिको स्पर्धा बनेको छ । मौन बसेका नेताहरु त मौन नै छन्, बोल्ने नेताहरुबीच पनि दूरी बढ्यो कि भनेर अनुमान गर्न सामाजिक सञ्जालका भित्ता चढिरहन पर्दैन ।
प्रसंग तीन मगर नेताको हो । जो दुई तिहाइको बहुमत सत्तामा यतिखेर ‘मैदान’ भएका छन् । अरु नेताहरु ‘सिकारु खेलाडी’ बनेर यिनै तीन नेतामाथि दौडिरहेका छन् ।
१. धनबहादुर बुढा मगरप्रतिनिधि सभामा डोल्पाबाट निर्वाचन जितेर पर्यटन राज्यमन्त्री बनेका धनबहादुर बुढाले भदौ १५ सम्ममा राजीनामा दिने भनिएको थियो । बर्दिया–१ बाट निर्वाचनमा पराजित नेता वामदेव गौतमका लागि ठाउँ खाली गर्न बुढाले राजीनामा दिने बताएका थिए । बुढा गौतम निकट मानिन्छन् । निर्वाचन परिणामलगत्तै बधाई खान गौतमकहाँ जाँदा ‘तिमीले मलाइ सहयोग गर्नुपर्छ’ भनेर गौतमले सहयोग मागेका थिए । बुढाले पनि आफू राज्यमन्त्री बन्न पाए गौतमलाई सहयोग गर्ने बताएका थिए । ६ महिनासम्म सांसदविना मन्त्री हुन पाउने नियममा टेकेर बुढाले राजीनामा दिने र उनलाई ६ महिना मन्त्री बनाउने गरी राजनीतिक सहमति भएको थियो ।
बुढाले राजीनामा दिने भनेपछि १७ साउनमा डोल्पाका युवाले काठमाडौं आएर बुढाले राजीनामा दिन नहुने बताए । उनीहरुले यसो नगर्न आग्रह गरे । डोल्पा पुगेर स्थानीयसँग छलफलमा जुटेका बुढाले पनि काठमाडौं आएपछि राजीनामा दिन अन्कनाए । कारण स्थानीयले राजीनामा नदिन भने । निर्वाचनमा जाँदा ‘राजनीतिक बेइमान’ स्थापित हुने भन्दै बुढालाई सम्झाए । यद्यपि पार्टीले भनेपछि बुढा राजीनामा दिन तयार होलान्, जिल्ला भ्रमणपछि काठमाडौं फर्केका उनी राजीनामा दिन भने तयार देखिएनन् ।
यसले सबैभन्दा बढी चोट वामदेव गौतमलाई परेको छ । संसदमा गौतमको जाने चाहना रोकिएको छ । उसो त वामदेवलाई संसदमा खोज्ने, पार्टीमा बाबुरामलाई खोज्ने अरु कोही पनि होइनन्, कोही हुन् भने उनै पुष्पकमल दाहाल प्रचण्ड हुन् । पार्टीमा उमेर हद लगाउने नियमसमेत गौतमका लागि लागू नहुने भनेर आलोचना भइरहँदा संसदमा गौतम भए आफूलाई सजिलो हुने महसुस गरेका दाहालले नै गौतमलाई ल्याउने कुरामा लबिङ गरेका थिए । अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले पनि तत्काल नकार्न सकेनन् र वरिष्ठ नेता माधवकुमार नेपालले पनि दुई नेतालाई हुन्छ भने किन अप्ठेरो मान्नु भनेर मौन बसिदिए । असोजमा उपनिर्वाचन गरेर संसदमा गौतमलाई भित्र्याउने भित्री तयारी पनि थियो । तर जिल्ला भ्रमणपछि राजीनामा दिन तयार नभएका बुढाका कारण सत्तासीन पार्टीमा फेरि चर्चा चुलिएको छ । ‘अहिले म केही बोल्दिनँ, बेला आएको छैन’ भन्दै मौन बसेका वामदेव गौतमको पनि प्रतिक्रिया आएको छैन । तर बुढाको प्रतिक्रिया आएपछि भने यसले केही दरार पनि ल्याएको भनिएको छ । प्रधानमन्त्री र पार्टी अध्यक्ष हुन तयार गौतमलाई किन ल्याउने भन्नेबारे दुई अध्यक्ष र एक अध्यक्षका दाबेदार माधवकुमार नेपालबीच नै मसिनो सल्लाह भएको खबर आएकै छैन । नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेल, रामबहादुर थापा बादल, भीम रावल र विष्णु पौडेल पार्टीमा वामदेव भन्दा कम छैनन् अब ।
२. विना मगरविना मगर केपी ओली क्याबिनेटमा कम उमेरकी मन्त्री हुन् । एकल महिला हुन् । अरु भन्दा राजनीतिमा केही कनिष्ट पनि हुन् । जनजातिकी हुन् । यति हुँदाहुँदै पनि ओली मन्त्रिमण्डलमा वर्षमान पुन र रामबहादुर थापा बादलको भन्दा बढी लोकप्रियता विनाको छ । यसको कारण यो मात्र होइन कि, उनी पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी बुहारी हुन् ।
खानेपानी मन्त्रालय सम्हालेपछि निकै राम्रा कामहरु गरेर विनाले बटुलेको लोकप्रियतामा कतै पनि प्रचण्ड परिवारको ‘शेयर’ छैन भन्दा फरक पर्दैन । मेलम्चीको ३ करोड लिटर पानी काठमाडौं भित्र्याउनेदेखि आधा घण्टा भन्दा बढी खानेपानी संकलनमा समय लाग्ने परिवार र समुदायको लगत संकलनसँगै सानातिना काममा पनि विनाले लोकप्रियता हासिल गरिरहेकी छिन् । सामाजिक सञ्जाल फेसबुकमा उनको उस्तै फलोअर छन् । उनकै सिको गरेर वर्षमान पुनले फेसबुकमा ‘जनताको मर्का सुन्ने’ भने पनि पुनको तुलनामा विनाकै लोकप्रियता कायम छ । यही क्रममा मन्त्रीहरुले काम राम्रो नगरेको भन्दै ओली र दाहालले केही मन्त्री हेरफेर गर्नेमा दाहालले बुहारीबाहेक अरु मन्त्री फेर्ने भनेको कुरा बाहिर आयो । यसले सबैभन्दा बढी घाटा कसैलाई भयो भने प्रचण्डलाई नै भयो ।
प्रचण्डले हेरफेर गर्ने मन्त्रीमा विनाको नाम पर्न जरुरी थिएन । विनाले गरेको काममा प्रश्नचिन्ह नै छैन, तर बुहारी राख्ने अरु हटाउने भनेर माओवादीइतरका मन्त्रीहरु अध्यक्ष तथा प्रधानमन्त्री ओली नजिक भएको खबर बाहिर आए । पार्टी अध्यक्ष दाहाल भारत भ्रमण सकेर आउँदा मन्त्री फेरिने कुरा थियो । तर भारत भ्रमण सकेर फर्कँदा ‘मन्त्री’ होइन ‘मन्त्री फर्ने कुरा’ चैँ फेरियो । प्रधानमन्त्री ओलीले अहिलेका मन्त्रीहरुले काम गरिरहेका छन्, यति चाँडै फेर्ने कुरा हल्ला हो भनेपछि दाहालसँग चिढिएकाहरु त चिढिने नै भए, बेफ्वाँकमा मन्त्री भनेर हल्ला गरेर हुन नपाउनेहरु पनि चिढिने नै भए । यो घटनाले बुहारीको लोकप्रियताले सगरमाथा चढिरहँदा ससुराको चाहना भने नाम्चे बजारको कुहिरोमा हराएको काग भएको टिप्पणी हुन थालेको छ ।
३. रामबहादुर थापा ‘बादल’पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री रामबहादुर थापा बादलको गृहजिल्ला चितवन हो । दुवैको राजनीतिक भूगोल त्यहीँ हो । दुई नेता चितवनकै पर्दा चितवनबाटै राजनीतिमा उदाएका अर्का लोकप्रिय नेता सुरेन्द्र पाण्डेको चर्चा कम भइरहेको छ भने सांसद र पार्टी अध्यक्षमा लोकप्रिय नेता कृष्णभक्त पोखरेललेसमेत अध्यक्षइतरकालाई जिल्ला अध्यक्ष छाडिदिनु पर्छ भनेर हासिहासी पद छाड्न तयार भए ।तर, केन्द्रको राजनीतिमा सुरेन्द्र पाण्डे र कृष्णभक्त पोखरेल मात्र होइनन्, सरकारमा रहेका गृहमन्त्री बादल पनि पेलिन शुरु भए । कयौँ जिल्लामा एमालेले अध्यक्ष छाडेका ठाउँमा माओवादीले पाएको अध्यक्ष बादलइतर भएपछि केही अनौपचारिक बैठकमा ‘अध्यक्ष कमरेड’ ले नै त्यहाँ ‘एमालेले अध्यक्ष लिइदिए हुन्थ्यो’ भनेर बादलका मान्छेलाई छेकेको खबर बाहिर आए ।
यति मात्र होइन, भक्तपुरमा अपहरणकारी मारिँदा श्रमिक मार्ने काम भएको भनेर र कञ्चनपुरमा प्रहरीले गरेको बदमासीमा बादललाई जोडेर सत्तापक्षबाटै मिडिया दुरुपयोग भएको पनि बादलले टुलुटुलु हेरे । गृहमन्त्रीबाट हटाउन अनेक प्रपञ्च भइरहँदा मौन बसेका बादल एकाएक काभ्रे पुगेर भने, ‘मन्त्री फेर्ने कुरा हल्ला मात्र हो ।’ भदौ २७ गते जनतासँग प्रधानमन्त्री टेलिभिजन कार्यक्रममा सचिवहरुसँग पनि फोन ब्रिफ्रिङ मागेका प्रधानमन्त्री ओलीले मन्त्रीहरुले यो छोटो समयमा केही गर्न चाहेका छन्, भ्याएका छैनन्, हेर्दैछु, फेर्दिनँ भने । अत्यन्तै कम बोल्ने बादलले काभ्रेमा बोलेकै कुरामा प्रधानमन्त्रीले सही थापेपछि भारत भ्रमणबाट फर्कँदा अनेक राजनीतिक खिचडी पाकेको अध्यक्ष दाहाललाई अनुभूत भयो कि भएन ? बादलबारे धेरै पाना र अक्षर खर्च गरिरहेका सञ्चारकर्मी नै चित खाएका छन् प्रधानमन्त्री र गृहमन्त्रीको लोलीबोली मिलेकामा ।
पार्टीको सचिवालय बैठक बुधबार र बिहीबार हुँदैछ । बुधबार महासचिवको प्रतिवेदनमै समय बित्यो । बिहीबार प्रदेश र जिल्ला अध्यक्षको प्रसंग छ । मन्त्री फेर्ने र डोल्पामा उपचुनाव गर्ने कुरा उठेन भने ढुक्क बने हुन्छ, तीन मगर शक्ति सञ्चय गर्न सफल भएका छन् । सत्ता राजनीतिमा तीन मगर अरु बलशाली हुनेमा शंका नगरे हुन्छ । धनबहादुर बुढा, विना मगर र रामबहादुर थापा वरिपरी सत्ताको माहुरी डुलिरहने पक्का छ । उनीहरुलाई विकल्प पनि छ, ‘एउटा अध्यक्ष रिसाए अर्काले फकाउने छन् । आधाले ताली बजाउने छन्, आधा निरीह भएर हेरिरहनेछन् ।’