सन्देश पौडेल
लमजुङ । लमजुङमा बुधरबार दिउँसो आएको पहिरोमा परी मृत्यु हुनेको संख्या चार पुगेको छ । पहिरोमा परेर हराएकी एक बृद्धाको शव विहिबार फेला परेपछि मृत्यु हुनेको संख्या चार पुगेको हो ।
मस्र्याङदी गाउँपालिका–३ अर्खलेमा पहिरोमा परी बेपत्ता भएकी ७० वर्षिया ललितमाया गुुरुङको शव पनि विहान फेला परेको छ । पहिरोमा पुरिएर मस्र्याङ्दी–३ खुदी पल्लोटारीमा दुईजनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा ६० बर्षकी अभिरुपा थापा र १० बर्षकी सिरक थापा रहेका थिए ।
पहिरोमा परी मस्र्याङदी–४ श्रीचौरीकी अन्दाजी ४५ वर्षिया विष्णु गुरुङको पनि मृत्यु भएको थियो । दिउँसो बाख्रा चराउनेक्रममा पहिरोसँगै आएको ढुंगाले लागेर गम्भीर घाईते भएकी गुरुङको साँझ निधन भएको हो ।
बाढी र पहिरोमा परी जिल्लामा अझै तिनजना बेपत्ता भएका छन् । लमजुङको दोर्दी जलविद्युत आयोजनामा काम गर्दै गरेका दुई जनालाई मस्र्याङदीले बगाएको छ । बेँसीशहर नगरपालिका–१० चितिमा निर्माणाधिन तल्लो दोर्दी जलविद्युत आयोजनाका श्रमिक बलिराम चौधरी र लक्ष्मण थारुलाई मस्र्याङ्दीको भेलले बगाएको हो ।
मस्र्याङदी किनारमा रहेको हिमालयन पावर पार्टनरद्धारा निर्माणाधिन आयोजनाको पावर हाउसमा काम गर्दैगर्दा एक्कासी बाढी आएपछि उनीहरुलाई नदीले बगाएको थियो । अविरल वर्षा र नदीको ठूलो भेलले गर्दा खोजीकार्य कठिन भएको प्रहरीले जनाएको छ ।
यसैगरी उत्तरी लमजुङको मस्र्याङदी गाउँपालिकाको तोब्रो खोलामा आएको बाढिले दुई घर सहित एउटा ट्याक्टर बगाएको छ । बुधबार अपरान्ह खोलामा आएको बाढिले मस्र्याङदी–४, ताघ्रिङको रामवजारस्थित जितबहादुर गुरुङ र दमै गुरुङको घर बगाएको हो ।
लमजुङ–मनाङ सडकखण्ड अन्तर्गत पर्ने सो खोलामा आएको बाढीले घर नजिकै पार्कीङ गरी राखेको बलबहादुर गुरुङको ट्याक्टर र अन्य तिनवटा मोटरसाईकल पनि बगाएको बताइएको थियो ।
सडक अवरुद्ध हुँदा तत्काल घटनास्थल पुग्नसक्ने अवस्था नरहेको प्रमुख जिल्ला अधिकारी झँकनाथ ढकालले बताउनुभयो ।मुसलधारे बर्षाका कारण उत्तरी लमजुङको बाहुनडाँडामा पनि पहिरोले केहि घर पुरेको छ । मस्र्याङदी–६ बाहुनडाँडाका चन्द्रप्रसाद घिमिरेको घर पहिरोले बगाएको छ । साथै लोकनाथ घिमिरे, चन्द्रकान्त घिमिरे, गिरबहादुर परियार र सम्झना घिमिरेको घरमा क्षति पुगेको छ ।
निरन्तर पहिरो खसेका कारण लमजुङ–मनाङ सडकखण्ड अवरुद्ध छ । अवरुद्ध सडक खण्ड अन्तर्गत मस्र्याङदी–४ घोप्टेभिरमा २० जना भन्दा बढि यात्रु अलपत्र परेका छन् । उनीहरुको उद्धारको लागी हेलिकप्टर प्रयोग गरिएपनि सुरक्षित अवतरण हुन नसक्दा उद्धारमा कठिनाई भएको छ ।