–आनन्द गुरुङ काठमाडौं । बिमस्टेक सम्मेलनक्रममा भारतले संयुक्त सैन्य अभ्यास गर्ने प्रस्ताव राखेपछि नेपाली राजनीतिमा बहसको विषय नै बन्यो । सेना अभ्यासमा सहभागी हुन नहुने भनिएयो । सरकारले पनि सेनापतिसहित २५ अधिकारी सैन्य अभ्यासमा जाने तयारीमा लगाम लगायो । सरकारको निर्देशनपछि सेना ‘ब्याक’ हुनै प¥यो ।
तर भारतको पुनामा सेप्टेम्बर १६ सम्म हुने सेन्य अभ्यासमा तीन नेपाली सेना सहभागी हुन लागेका छन् । पुनामै एड्भान्स तालिममा सहभागी तीन अधिृकत ‘अवलोकनकर्ता’का रुपमा सहभागी हुन लागेका हुन् । देखिने गरी सेनापतिसहितको ठूलो डफ्फा भारत नगए पनि भारतमै भएका अधिकृतको उपस्थितिले सैन्य अभ्यासमा नेपालको सहभागिता नहुने कुरा खण्डन भएको छ । यद्यपि सेनाका प्रवक्ता गोकुल भण्डारीको दाबी छ, ‘हामीले यहाँबाट पठाएका होइनौँ, त्यहीँ भएका अभ्यासमा होइन अवलोकनका लागि सहभागी हुन लागेका छन् ।’
भारतीय सेनाको पत्र र प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्तावअनुसार बिमस्टेक संयुक्त सैन्य अभ्यासमा नेपाली सेना सहभागी हुने तयारीमा सत्तासीन पार्टीभित्रै विरोध भयो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य भीम रावलले यो राष्ट्रहित विपरीत भएको प्रतिक्रिया दिए । प्रतिपक्षी नेपाली कांग्रेसले पनि सैन्य अभ्यासको खुलेर विरोध गरेको थियो । विवादपछि सरकारले नै संयुक्त सैन्य अभ्यासमा सहभागी नहुन निर्देशन दिएपछि सेना भारत नजाने भएको थियो । तर भारतमै भएका अधिकृतलाई सहभागी गराउने कामले सेनाको सहभागिता नहुने कुरामा फेरि विवाद हुने पक्का छ ।
दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्क सदस्य राष्ट्रबीच संयुक्त सैन्य अभ्यासको अवधारणा नआउनु तर, भरखरै स्थापित बिमस्टेक सदस्य राष्ट्रबीच संयुक्त अभ्यासको अवधारणा आएपछि सबैतिर चासो र चर्चाको विषय मात्र बनेन । सैन्य अभ्यासमा नेपाली सहभागी नहुनु नै उचित हुने निष्कर्ष सबैको निस्कियो । पूर्वरथी दमनबहादुर घलेलेसमेत भन्नुभयो, ‘सरकार र सेनाले ढिलै भए पनि उपयुक्त निर्णय लियो, सैन्य अभ्यासमा जानु जरुरी थिए ।’
तर भित्रभित्रै सेनाले तीन अधिकृत किन पठाउन लाग्यो ? ढिलोचाँडो जवाफ दिनै पर्छ । फरक यति हो, प्रधान सेनापतिको डफ्फा पनि त्यहाँ अभ्यास अवलोकनमै जाने हो । तीन अधिकृत पनि सहभागी हुँदा अभ्यासमा नेपालको प्रतिनिधित्व हुने नै हो । यो प्रतिनिधित्व सेनाले गुपचुप राख्नु पर्ने विषय थियो या सरकारकै निर्देशनमा भइरहेको हो ? उत्तर जनताले खोजेका छन् ।