नारायण थापा
मुस्ताङ । हिमाल पारिको जिल्ला मुस्ताङ मुलुकको तेस्रो पर्यटकीय गन्तव्य स्थलको रुपमा परिचित छ । हिउँदको शुरुवातसँगै मुस्ताङको परिवेश रमणीय देखिन थालेको छ ।
डाडापाखा हरियाली छन् । खेतमा फापर झुलेको छ । वर्षातको अन्त्यसँगै हिमाल छर्लङ खुलेको छ । मुस्ताङ यतिखेर सबैको लागि मनमोहक बनेको छ । पर्यटकीय सिजनसँगै मुस्ताङमा चहल पहल बढेको छ । सडक निर्माण भएसगैं यस वर्ष मुक्तिनाथ भ्रमणमा जाने पर्यटकको संख्या बढेको छ ।
मुक्तिनाथ शक्ति र सुन्दरताको प्रतिरुप भएकोले यहाँ देश विदेशबाट पर्यटकहरु आउने गर्दछ । सिजनमा मुस्ताङको कागबेनी, मुक्तिनाथ, जोमसोम, मार्फा, लेतेलगायत र म्याग्दीका अधिकांश होटलसमेत भरिभराउ हुने गरेको छ । यो वर्ष मुक्तिनाथसम्म नै गाडी गुडेपछि पर्यटकको चाप झन् बढेको हो ।
प्रख्यात मुक्तिनाथ मन्दिर मुस्ताङको पर्याय मानिन्छ । मुक्तिनाथ मन्दिरमा दर्शन तथा १ सय ८ धारामा स्नान गर्नका लागि भक्तजन आउने गरेका छन् । । मुक्तिनाथको दर्शन र १ सय ८ धारामा स्नान गरेमा आफ्नो मनोकांक्षा पूरा हुने जनविश्वासले देशका विभिन्न भागबाट पर्यटक यहाँ आउने गरेका हुन् ।
मुस्ताङ आउने आन्तरिक पर्यटकमध्ये अधिकांशको रोजाइमा मुक्तिनाथ पर्ने गरेको छ । बेनीको जोमसोम कागबेनी सडकमार्ग र पोखराको जोमसोम हवाईमार्गको प्रयोग गरी मुक्तिनाथ पुग्न सकिन्छ । म्याग्दी सदरमुकाम बेनीदेखि कागबेनीसम्म कच्ची सडकको यात्रा गर्नुपर्छ भने कागबेनीदेखि मुक्तिनाथसम्म १२ किलोमिटर सडक एक वर्ष अगाडि मात्र कालोपत्रे गरिएको हो ।
मुक्तिनाथ मन्दिर जोड्ने डेढ किलोमिटर सडकको अहिले कालोपत्रे गरिएको छ । स्थानीय विकास मन्त्रालयअन्तर्गत ग्रामीण पुननिर्माण तथा पुर्नस्थापना आयोजना ट्रिपल आरले उक्त सडकमा दोस्रो पटक कालोपत्रे गर्न एक करोड ४४ लाख रुपैयाँ बजेट विनियोजन गरेपछि काम भएको हो ।
एक वर्षअघि ट्रिपल आरकै लगानीमा उक्त सडकखण्डको कालोपत्रे बिच्छ्याउने कार्य सम्पन्न भएको थियो । अघिल्लो पटक कालोपत्रे गर्न बाँकी डेढ किलोमिटर सडकमा यो वर्ष थप बजेट आएपछि कालोपत्रे गरिएको हो ।