काठमाडौं । आधुनिक नेपाली कविता क्षेत्रका पाँच विशिष्ट काव्य साधकहरू सम्मानित भएका छन् । विशिष्ट काव्य साधकहरू बैरागी काइँला, तुलसी दिवस, जसराज किराँती, मञ्जुल र तोया गुरुङ सम्मानित भएका हुन् । नेपाली वाङ्गमय परिषद्, नेपाली प्रतिभा प्रतिष्ठान बेलायत र जसराज किराँती प्रतिभा प्रतिष्ठानद्वारा आयोजित ‘विशिष्ट साधक सम्मान तथा साधक सत्सङ्ग’ कार्यक्रममा उहाँहरु सम्मानित हुनुभएको हो ।
विशिष्ट काव्य साधकहरूलाई पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री कृपासुर शेर्पा, नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य एवं जनसांस्कृतिक महासंघका अध्यक्ष खगेन्द्र राई र नेपाल प्रज्ञा–प्रतिष्ठानका निवर्तमान कुलपति गंगाप्रसाद उप्रेतीले माला, दोसल्ला र ताम्रपत्र सपर्मण गरी सम्मानित गर्नुभएको थियो ।
सत्सङ्ग समारोहमा बोल्दै निवर्तमान कुलपति उप्रेतीले विशिष्ट काव्य साधकहरूको सम्मानमा पृथक ढंगको कार्यक्रम रहेको र सत्सङ्ग शब्दलाई नयाँ किसिमले प्रयोग गरिएको बताउनुभयो । उनले सम्मानित सबै काव्य साधक सत्सङ्गयोग्य भएको दाबी गरे । कार्यक्रममा अध्यक्ष राईले सम्मानित साधकहरूलाई बधाई ज्ञापन गर्दै यस्ता कार्यक्रमहरू आयोजना गरिनु पर्ने धारणा राख्नुभएका थिए ।
सम्मानित साधकहरूको काव्य साधनाबारे बोल्दै मोमिलाले उहाँहरूमाथि बोल्नु सूर्यको अगाडि टुकी देखाउनु सरह भएको बताउनुभयो । कार्यक्रममा सम्मानित विशिष्ट काव्य साधकहरूले आफ्ना तीन–तीन प्रतिनिधि कविता वाचन गरेका थिए । समारोहमा आफ्नो विचार राख्दै नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति समेत रहेका कवि काइँलाले भन्नुभयो, ‘सत्य कुरा बोल्दा यहाँ धेरैलाई मन पर्दैन, कविताले पनि सत्य कुर नै बोल्ने गर्छ । त्यसैले हिजोआज कविता वाचन गर्न मन लाग्दैन ।’
उहाँले कवितामा आन्दोलनको आवश्यकता नभएको भन्दै आयोजित कार्यक्रम अत्यन्त फरक प्रकारको रहेको बताउनुभयो । कार्यक्रममा कवि किराती, कवि मन्जुल र कवि गुरुङले पनि आफूहरुलाई सम्मानको हकदार सम्झेर सम्मान गरेकोमा आभार व्यक्त गर्नुभएको थियो ।