जनकपुरधाम । धनुषा जिल्लाको हंसपुर नगरपालिका–७ नौवाखोर परसाही टोलमा उपभोक्ता समितिले सडक निमार्णको नाममा २० प्रतिशत पनि काम नगरी लाखौ रुपैयाँ अनियमितता गरेको रहस्य खुलेको छ । नगरपालिकाको ७ नम्बर वडा अन्तरगत नौवाखोर परसाहि टोलमा कुल २२ वटा योजनाका लागि १ करोड १५ लाख वजेट छुट्याइएको थियो । जसमा अहिले भएका ११ वटा योजनामा उपभोक्ता समिति देखि लिएर ठेकेदारसम्मले २० प्रतिशत समेत काम नगरी पुरै बजेट झ्वाम्म गरेको देखिएको छ । तोकिएको माटो तथा ग्राभेलको काममा उपभोक्ता समिति तथा ठेकेदारले माटो छर्कने तथा ग्राभेल पनि नहालेर सम्पुर्ण बजेट नै दुरुपयोग गरेको छ ।
कहाँ भयो अनियमितता ?
नौवाखोर परसाही टोलका लागि कुल २२ वटा योजना मध्ये भर्खरै सम्पन्न गरेको ११ वटा योजनामा रामलोचन वरैयको अध्यक्षतामा उपभोक्ता समिति गठन गरी परसाही चौकदेखि मलहनीयासम्म २ किलोमिटर ३ सय ५० मिटर सडक निमार्णका लागि १९ लाख बजेट छुट्याइएको थियो जसमा पाँच फिट उचाई र चालिस फिट चौडाईको सडकमा माटो तथा ग्राभेल गर्नुपर्ने योजनामा उल्लेख रहेको छ । तर निमार्ण सम्पन्न गरिएको सडकखण्डमा अढाइ फिट उचाइ तथा १५ देखि ३० फिट चौडाइ मात्र सडकको काम गरिएको स्थानियबासीहरुले आरोप लगाएका छन् । मुल सडकदेखि पुर्व विद्यालयसम्म ७ सय ३२ मिटर सडक खण्डमा १५ लाख छुट्याएर ६ इन्च उचाइ ग्राभेल तथा १५ फिट चौडाइको काम गर्नुपर्नेमा ४ इन्च उचाइ तथा १० फिट चौडाइको काम गरेको देखिएको छ । त्यस्तै परसाही टोलको सुवोध मण्डलको घरदेखि परसाही पश्चिमवारी मुल सडकसम्म ७ सय ३२ मिटरको सडकको मर्मतका लागि कुल ४ लाख वजेट छुट्याइएको थियो जसमा माटो तथा ग्राभेलिङ गरेर सडकलाई गाडी चल्न लायक बनाउनुपर्नेमा रातारात कुल २० मिटर मात्र माटो छर्केर बजेट झ्वाम्मै पारेको देखिएको छ । सो वडामा नौवाखोर र परसाही गरी दुईवटा टोल रहेको छ जसमा ८ वटा योजनाको काम नौवाखोर र ३ वटा योजनाको काम परसाहीमा भएको छ । अनुगमन गर्दा दुवै टोलमा निमार्ण भएको सडकको अवस्था नाजुक रहेको स्थानियबासीको आरोप छ ।
निमार्ण भएको सडकमा स्थानियबासीको विरोधकुल वजेटको आधा रकम निकासा गरेर २२ वटा योजना मध्ये सम्पन्न गरेको ११ वटा योजनामा कामै नगरी बजेट स्वाहा गरेको स्थानियबासीले थाहा पाएपछि भदौ १७ गते वडा कार्यालयमा भेला भएर सर्वपक्षीय वडा स्तरीय अनुगमन समितिको गठन गरेका थिए । ३६ जना सम्मलित अनुगमन समिति गठन गरेर ११ जनाको मुल अनुगमन समितिले छानबिन गरेर नगरपालिकालगायत सम्पुर्ण निकायमा हिनामिना भएको हिसाब बुझाएको थियो । स्थानीयहरुले गठन गरेको अनुगमन समितिले सम्पुर्ण छानबिन गरेर भाद्र २५ गते वडा नं ७ का लागि आर्थिक वर्ष २०७४/०७५ मा कार्यान्वयन भएका योजनाहरुलाई पुनः अनुगमन गर्न हंसपुर नगरपालिकामा निवेदन दिए ।
के–के छ सो वडाका लागि योजना
योजना अनुसार नौवाखोर गाउँको मुल सडक पूुुुर्व पुलदेखि पश्चिम चौकसम्म सडक ग्राभेल गर्ने, परसाही सुवोध मण्डलको घरदेखि पश्चिम मुल सडकसम्म माटो तथा ग्राभेल कार्य, परसाही रामप्रकाश मण्डलको घरदेखि उत्तर रामनारायण साहको खेतसम्म सडक मर्मत तथा ग्राभेल कार्य रहेको छ भने परसाही बजारदेखि दक्षिण महोलिया सीमासम्म सडक निमार्ण, नौवाखोर स्कुलदेखि पुर्व सिमानासम्म कृषि सडक निमार्ण, जय नारायणको फुलवारीदेखि किलको सडकसम्म कृषि सडक, पुरानो सडकदेखि पैनि बाटो हुँदै बोर्डिङ स्कुलसम्म ,राप्रवि नौवाखोर र राप्रावि परसाहीको कम्पाउण्ड वाल निमार्ण र सौन्दयीकरण, नौवाखेरको विद्यालयको दक्षिण पश्चिम कुनामा रहेको पोखरीको डिल मर्मत जिर्णोद्धार गर्ने कामलगायतको योजनाका लागि १ करोड १५ लाखको वजेट छुट्याइएको छ ।
के भन्छन उपमेयर
हंसपुर नगरपालिकाका उपमेयर तथा अनुगमन समितिका संयोजक रेणु झाले भाद्र २५ गते पुनः अनुगमनका लागि निवेदन आएपछि विहिबार आफै आएर अनुगमन गरेकी थिइन् । अनुगमन पश्चात अहिले गरिएको सडक निमार्णको काममा भयावहरुपमा भ्रष्टाचार गरिएको स्वीकार गरिन् । पहिले नै अनुगमन हुँदा भ्रष्टाचार भएको किन देखिएन संचारकर्मीहरुको प्रश्नमा उनले आफुले रिर्पोट बुझाएको तर हंसपुर नगरपालिकाका मेयर रामज्ञान मण्डलले वास्तै नगरी बजेट निकासा गरेको आरोप लगाइन । उनले दोस्रो पटकको अनुगमन पश्चात कार्यपालिकामा आवाज उठाएर दोषीमाथि कडा कारवाही गर्ने समेत प्रतिवद्धता जनाएकी छन् ।