सुखीलाल चौधरीउदयपुर । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) लाई बम विस्फोट र कर्तव्य ज्यान मुद्दा अभियोगमा उदयपुर जिल्ला अदालत बोक्सेमा उपस्थित गराइने भएको छ । सर्वोच्च अदालतले शुक्रबार रिहा गरेलगत्तै अदालत परिसरबाटै गिरफ्तार गरी प्रकाण्डलाई शनिबार उदयपुर ल्याइएको छ ।
बन्दी प्रत्यक्षीकरण रिटमाथि बहसपछि सर्वोच्च अदालतको आदेशमा शुक्रबार रिहा भएलगत्तै प्रहरीले अदालत परिसरबाटै प्रकाण्डलाई विभिन्न समयमा बम विस्फोट गराई आठ जना घाइते बनाएको आरोपमा उदयपुर ल्याएको हो ।गैरकानुनीरुपमा गिरफ्तार गरी हिरासतमा राखेको जनाउँदै रिहा गर्न मागसहित भाइ वीरेन्द्र विश्वकर्माले गत हप्ता दायर गरेका रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले प्रहरीले लगाएको आरोप पुष्टि नभएको भन्दै रिहा गर्न आदेश दिएको थियो । तर, उनलाई उदयपुरमा बम विस्फोट गराएको अभियोग लगाएर पुनः गिरफ्तार गरिएको हो ।
२०७४ मंसिर १३ गते प्रतिनिधि सभा र प्रदेश सभा चुनाव प्रचारप्रसारको क्रममा उदयपुरगढी नगरपालिका ६ स्थित दनुवारबेसीमा भएको बम विस्फोटमा कांग्रेस उम्मेदवार नारायणबहादुर कार्कीसहित सात जना घाइते बनाएको र चैत २८ गते त्रियुगा नगरपालिकास्थित थरुहट रंगशाला नजिकै हवाई फिल्ड चौरमा भैँसीका पाडा चराउँदै गरेका स्थानीय १४ वर्षीय बालक पारस राईले झोलामा कालो बस्तु देखेको र त्यो हेर्न खोज्दा विष्फोट भई घाइते बनाएको आरोपमा प्रवक्ता प्रकाण्डलाई उदयपुर ल्याएको डिएसपी मेघराज अधिकारीले बताउनु भयो । प्रकाण्डलाई उदयपुर प्रहरीले ‘विष्फोट र कर्तव्य ज्यान’को अभियोग लगाएको छ ।
प्रकाण्ड साउन २२ गते पार्टी कामको सिलसिलामा हेटौँडाबाट काठमाडौं आउँदै गर्दा फर्पिङ–बल्खु सडक खण्डअन्तर्गत टौदह नजिक चाल्नाखेलबाट गाडी, चालकसहित गिरफ्तार गरे यता अदालतको आदेशमा पटकपटक रिहा र पटकपटक गिरफ्तारीमा पर्दै आएका छन् ।
प्रकाण्डलाई व्यापारीसँग सात करोड रुपैयाँ चन्दा असुली गरेको आरोपमा चन्दा ऐन २०३० अनुसार काठमाडौँ प्रहरीले कारबाही अघि बढाएको थियो । त्यसपछि उनलाई काभ्रे, नुवाकोट, दाङ पु¥याएर विभिन्न मुद्दा लगाइएको थियो । दाङमा राखिएका उनलाई प्रहरीले हेलिकप्टरबाट सर्वोच्चको आदेशमा काठमाडौं ल्याएको थियो । सर्वोच्चको आदेशपछि फेरि बम विस्फोट मुद्दामा प्रहरीले पक्राउ गरी उदयपुर ल्याइएको हो ।
सोही घटनामा संलग्न आरोपमा सोलुखुम्बु सोताङ गाउँपालिका १ का राकेश किराँती, खोटाङ साकेला गाउँपालिका–१ च्यानडाँडका चन्द्रबहादुर बुढाथोकी, भोजपुर षडानन्द नगरपालिका–१३ का दीपेश राई र धनकुटा हाटबजार घर भइ मोरङ केराबारी गाउँपालिका–३ बस्ने दीपक राई पनि पक्राउ परेका छन् । जनता आर्काइभ फोटो ।