जाजरकोट । जाजरकोटका जनप्रतिनिधिले सदरमुकाममा रहेका आफ्नै घरमा स्थानीय सरकारको कार्यालय चलाउँदै आवास खर्च भन्दै सरकारी रकम कुम्लाउने गरेका छन् । गाउँमा कार्यालय भएपनि सदरमुकाममा कार्यालय स्थापना गरि सरकारलाई दोहोरो खर्च गर्न बाध्य पार्ने गरेका छन् ।
लिम्सामा सम्पर्क कार्यालय भए पनि जिल्लाको बारेकोट गाउँपालिकाले सदरमुकाममा कार्यालय राखेर प्रतिनिधीले काम गर्दै आएका छन् । गाउँपालिकाका लेखापाल राजबहादुर सिंहको घरमा एक वर्षअघि देखि भाडा तिर्दै कार्यालय सञ्चालन गरिँदै आएको छ ।
त्यस्तै कुशेगाउँपालिकाको कार्यालय पनि सदरमुकाममै छ । कुशेगाउँपालिकाकी उपाध्यक्ष रामछाया शाहीको सदरमुकामको घरमा भाडामा कार्यालय सञ्चालन हुँदै आएको हो । गाउँमा पनि सम्पर्क कार्यालय स्थापना गरी कहिलेकाहीँ काम हुने गरेको छ । सदरमुकाम र गाउँमा गरी बारेकोट र कुशेगाउँपालिकाले डबल भाडा तिर्दै आएका छन् ।
त्यस्तै भाडाको भवनमा बस्दै आएको नलगाडले पनि वडादेखि नगरपालिका कार्यालयसम्मको भाडा तिर्दै आएको छ । नलगाड नपा–८ स्थित मन्मैमा साबिकको खगेनकोट गाविसको भवन छँदाछँदै वडाध्यक्ष गोविन्द शाहीको कारण भाडामा कार्यालय राख्नु परेको कार्यपालिका सदस्य नरबहादुर विकले आरोप लगाएका छन् ।
प्रतिनिधिहरुले आफ्नै घरमा चलाएका कार्यालयको पनि आवास खर्चस्वरुप रकम झुक्तानी लिने गरेका छन् । सदरमुकाम खलङ्गामा भेरी नगरपालिकाको आफ्नै भवन बन्दै छ । भवन नबन्दासम्म भेरी ज्ञानोदय क्याम्पसको भवन भाडामा लिएर काम सञ्चालन भइरहेको नगरपालिकाले जनाएको छ ।
त्यस्तै शिवालय गाउँपालिकाले घर भाडाबापत मासिक ५५ हजार भुक्तानी गर्दै आएको छ । छेडागाड नगरपालिकाले पनि गाउँमा रहेको कार्यालय र सदरमुकाममा रहेको कार्यालय गरी दोहोरो भाडा तिरेर दैनिक काम गर्दै आएको छ ।
सदरमुकाममै घर भएका जनप्रतिनिधिले समेत आवासको सुविधा भन्दै रकम लिने गरेका छन् । यहाँका सात स्थानीय तहले गत आवमा ५० लाख घर भाडामा खर्च लिएको देखिएको छ ।