काठमाडौं । कञ्चनपुर, उल्टाखामकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि भएको हत्या घटनामा अनुसन्धानमा खटिएका डिएसपी अंगुर जिसीलगायत पाँच प्रहरी निलम्वनमा परेका छन् । घटना जिम्मेवारीपूर्वक अनुसन्धान नगरेको भन्दै गृह मन्त्रालयले जिसीलगायत टिमलाई निलम्बन गरेको हो । निर्मला हत्यापछि आन्दोलनमा उत्रिएका कञ्चनपुरका स्थानीय र महिला अधिकारकर्मीले अनुसन्धानमा त्रुटि भएको भन्दै अनुसन्धानमा संलग्न सम्पूर्ण टिम र शंकास्पद सबैमाथि छानबिन माग गरेका थिए । कञ्चनपुरका तत्कालीन जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक डिल्ली विष्ट यसअघि नै निलम्बनमा परिसकेका छन् ।
आन्दोलन रोकिन्छ त ?
घटनाको अनुसन्धानमा खटिएको पूरै टिम र एसपीसहित निलम्बनमा परिसकेको भए पनि आन्दोलन रोकिएको छैन । आन्दोलन अनुसन्धानका लागि कि अन्य कुनै पूर्वाग्रहका लागि ? प्रश्न उठेको छ । निलम्बनमा पर्नेहरुमा डीएसपीद्वय अंगुर जीसी, ज्ञानबहादुर सेट्टी, प्रहरी निरीक्षक एकेन्द्र खड्का, जगदीश भट्ट र प्रहरी नायब निरीक्षक रामसिंह धामी छन् । एसपी डिल्लीराज विष्ट यसअघि नै निलम्बनमा परिसकेका छन् । निर्मला पन्तको हत्या विरोधमा देशैभर आन्दोलन चर्काइएको छ र उनका बुवा आमालाई बोकेर काठमाडौंका विभिन्न सञ्चारमाध्यम र क्लबमा पु¥याइएको छ । राज्यले यसको दबाब थेग्न नसकेर अनुसन्धानलाई शुन्यबाट शुरु गर्नेसमेत बताइरहेको छ । तर आन्दोलन रोकिन्छ त भन्ने विषय अन्यौलमा रहेको छ । अप्रत्यक्ष रुपमा धेरैको सामाजिक प्रतिष्ठामा समेत आँच आएको छ । वास्तविक अपराधीको समयमै पहिचान नहुँदा र अनुसन्धान नै गतिलो नबन्दा यस्तो स्थिति आएको धेरैको बुझाइ छ । तर, प्रहरीले भने घटनास्थलमा भेटिएको प्रमाणका आधारमा नै निर्मला हत्याको कारबाही अगाडि बढेको बताएको छ ।
निलम्बित डिएसपी अंगुर जिसी के भन्छन् ?
कञ्चनपुरकी निर्मला पन्त हत्याको अनुसन्धानमा साउन १३ गते साँझ महेन्द्रनगर पुग्नुभएका सिआइबीका प्रहरी नायब उपरीक्षक अंगुर जिसीले आफ्नो अनुसन्धान कुनै पनि हालतमा फेल नखाने दाबी गर्नुभएको छ । उहाँले फिल्डमा देखिएका घटनाक्रमका आधारमा अनुसन्धान अगाडि बढेको र फेला परेका प्रमाणका आधारमा सत्यतथ्य छानबिन गरेको बताउनुभयो । जनता समाचार डटकमसँग कुरा गर्दै उहाँले हत्या गरिएकी निर्मला पन्तको शरीरबाट लिइएको भेजिनल स्वाबबाट नै घटनाको पुष्टि हुने भन्दै अनुसन्धान अगाडि बढाएको दाबी गर्नुभयो । अनुसन्धानकै क्रममा आफूहरुलाई त्यहाँ असहयोग भएको बताउँदै उहाँले छानबिनक्रममा काठमाडौं फर्किनुपर्ने बाध्यताप्रति दुःख व्यक्त गर्नुभयो ।
अडियो सुन्नुहोस्ः
[audio mp3="https://45.77.241.73/wp-content/uploads/2018/09/angur-gc.mp3"][/audio]
गृहमन्त्री र आइजीपीको मत बाझियो
कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा अनुसन्धानकर्ता ५ जना प्रहरी निलम्बन प्रकरणमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालबीच मतान्तर देखिएको छ । अनुसन्धानमा खटिएका प्रहरीलाई नै निलम्बन गर्नु दुर्भाग्य भएको खनालको भनाइ छ । उहाँका अनुसार गल्ती भेटिए जागिरबाटै निकालिनुपर्ने तर बिना प्रमाण अनुसन्धान अधिकारीलाई नै निलम्बन गर्दा संगठनभित्र राम्रो सन्देश नजाने उहाँको दाबी छ । गृहमन्त्री भने देशैभर चर्कन थालेको आन्दोलन मत्थर पार्न ती प्रहरी अधिकारीलाई निलम्बन गर्नुपर्ने पक्षमा रहनुभएको थियो । अन्ततः आइजीपीको असन्तुष्टिबीच शनिबार साँझ गृहमन्त्रालयले पाँच प्रहरीलाई निलम्बन गरेको छ । गृहमन्त्रालयले गठन गरेको उच्चस्तरीय छानविन समितिका संयोजक सहसचिव हरिप्रसाद मैनालीको प्रारम्भिक प्रतिवेदनका आधारमा उनीहरुलाई निलम्बन गरिएको गृहमन्त्रालयका सहसचिव एवम् प्रवक्ता रामकृष्ण सुवेदीले बताउनु भएको छ । गृहमन्त्रालयले अहिले ६ जना प्रहरीलाई निलम्बन गरे पनि पीडित परिवारको पक्षमा उठेको आन्दोलन आइतबार पनि रोकिएको छैन । बरु यो आन्दोलन कञ्चनपुरबाट विस्तारै राजधानीलगायत देशैभर फैलन थालेको छ ।