संयोग नेपालकाठमाडौं । नेपाली चलचित्र एवम् कलाकारिता क्षेत्रमा दीपकाराज गिरी र दीपाश्री निरौला नौला नाम होइन । विगत दुई दशक भन्दा लामो समयदेखि कलाकारिता क्षेत्रमा सक्रिय यो जोडी अहिले चलचित्र निर्माण तथा निर्देशनमा सक्रिय छ ।
२०७२ को भूकम्पअघिसम्म हास्यटेलि श्रृंखला ‘तितो सत्य’मा सक्रिय यो जोडीले त्यसपछि भने ‘तीतो सत्य’लाई निरन्तरता दिन सकेन । उसो त त्योभन्दा अघि मिडिया हब र नेपाल टेलिभिजनबीचको कुराकानी नमिल्दा टेलिश्रृंखला नियमित प्रसारणमा आइरहेको थिएन । ‘तीतो सत्य’ प्रसारण भइरहेको समयमा नै दीपक–दीपाले चलचित्र निर्माणमा हात हालिसकेका थिए । यद्यपि निर्देशन गर्ने आँट भने आइसकेका थिएन ।
एक सर्ट फिल्मको सीनमा दीपक–दीपा
पहिलो चलचित्र ‘६ एकान ६’ मा दिनेश डिसीलाई निर्देशक लिएका दीपक–दीपाले दोश्रो चलचित्र ‘वडा नम्बर ६’ उज्वल घिमिरेलाई निर्देशक बनाए । पहिलो चलचित्रमा अन्य चर्चित हास्यकलाकारले अभिनय गरे पनि निर्माताका रुपमा सहभागी नभए पनि दोश्रो चलचित्रबाट भने उनीहरु पनि निर्माताका रुपमा सहभागी भए । चलचित्र निर्माणमा हास्यकलाकार जितु नेपाल, केदारप्रसाद घिमिरे, सीताराम कट्टेलले पनि केही लगानी गरेको थिए ।
आफ्ना हरेका चलचित्रसँगै त्यहाँ समावेश गीतसंगीतलाई उच्च प्राथमिकता दिएको यो टीमले आफ्नो दोश्रो चलचित्रको गीत ‘सुर्के थैली’ले युट्युबमा रेकर्ड नै कायम ग¥यो । गीत नेपालकै पहिलो १ करोड भ्यूज पाउने गीत बन्न पुग्यो । पहिलो चलचित्रको गीत भने तत्कालीन समयमा चर्चामा आए पनि त्यसपछि खासै चर्चामा आउन सकेन ।
दोश्रो चलचित्रको ‘सुर्के थैली खै’ बोलको गीतमा संगीतकार तथा गायक राजनराज सिटौलाको शब्द, संगीत तथा स्वर छ । गीतमा चर्चित गायिका अञ्जु पन्तले साथ दिएकी छिन् । ‘सुर्के थैली खै’ बोलको गीतले चलचित्रको हाइप यति धेरै बढायो कि चलचित्र पनि बम्पर हिट भयो । त्यसपछि उनीहरुले निर्माण तथा निर्देशन गरेको चलचित्रका हरेकजसो गीतले युट्युबमा धमाका नै मच्चायो ।
दीपक–दीपाले बनाएको दोश्रो चलचित्र ‘वडा नम्बर ६’को ‘सुर्के थैली खै’ले अहिलेसम्म २ करोड ८६ लाखभन्दा बढी भ्यूज पाइएको छ । यस्तै, दीपाश्री निरौला निर्देशित हास्यलाकारहरुको समूहले निर्माण गरेको तेश्रो चलचित्र ‘छक्का पञ्जा’को ‘पूर्व पश्चिम रेल’ बोलको गीतलाई ३ करोड १९ लाखभन्दा धेरैपटक हेरिसकिएको छ । स्मरण रहोस्, यो चलचित्र नेपालको इतिहासमा नै सबैभन्दा धेरै पैसा कमाउने चलचित्र हो । चलचित्रले १६ करोड रुपैया ‘ग्रस कलेक्सन’ गरेको थियो ।
त्यस्तै ‘छक्का पञ्जा’टीमले नै निर्माण गरेको तेश्रो चलचित्र ‘छक्का पञ्जा २’ को ‘नाइलनको सारीमा’ बोलको गीत पनि उत्तिकै चर्चामा रह्यो । चर्चासँगै चोरीको भनेर विवादमा पनि तानिएको गीतलाई २ करोड ५० लाखभन्दा धेरैपटक हेरिसकिएको छ । अल्मोडा राना उप्रेती र सुजाता बर्माले गाएको गीतमा प्रिन्स नेपाली र स्वर्गीय कान्छा मगरको संगीत छ । गीतको शब्द भने प्रिन्स नेपाली र दीपकाराज गिरीले संयुक्त रुपमा लेखेका हुन् ।
यसैगरी, आगामी दशैँमा प्रदर्शन तयारीमा रहेको चलचित्र ‘छक्का पञ्जा ३’को ‘पहिलो नम्बरमा’ बोलको गीतले पनि छोटो समयमा १ करोड भ्यूज पाएको छ । गीतले ३७ दिनमा १ करोड भ्यूज पाएको हो । डेबिड शंकर र बिन्दु परियारको स्वरमा रहेको गीतमा राजेन्द्र थापाको शब्द तथा दीपक शर्माको संगीत छ ।
चलचित्र ‘छक्का पञ्जा ३’को पहिलो गीतले हाइप लिइरहेको अवस्थामा चलचित्रको दोश्रो गीत ‘पछि उमेर ढल्किन्छ’ बोलको गीत पनि सार्वजनिक भएको छ । भदौ २४ गते सार्वजनिक भएको गीतलाई १३ लाखभन्दा धेरैपटक हेरिएको छ । गीतमा नेपाल आइडलका फस्ट रनरअप निशान भट्टराई र एञ्जिला रेग्मीले स्वर दिएका छन् भने अर्जुन पोखरेलको शब्द तथा संगीत छ । अर्जुनलाई गीतको शब्द लेखनमा नायक तथा निर्माता दीपकराज गिरीले साथ दिएका छन् ।
एउटा चलचित्रलाई नसमेट्ने हो भने दीपक–दीपालगायतको हास्य कलाकारहरुको जम्बो टीमले बनाएको हरेक चलचित्रका गीतले करोड क्लबमा नाम लेखाएका छन् । गीतसंगीतको कुराकानी मात्र नभएर यो टीमले बनाएको हरेक चलचित्रले करोडौँको व्यापारसमेत गरिरहेको छ । यसरी हेर्दा करोड भ्यू र करोडौँको व्यापारले अहिलेसम्म ‘छक्का पञ्जा’ टीमलाई छोडेको छैन ।