अमरराज पुनरुकुम । पूर्वको रन्मामैकोट भौगोलिक रुपमा विकट ठाउँ । साविकको रन्मामैकोट गाविस हाल पुथा उत्तरगंगा गाउँपालिकामा पर्दछ । मगर समुदाय र मगर खाम भाषीले सुसज्जित मैकोटको आफ्नै पहिचान छ । हिमाली जडिबुटी र यार्साले परिचित मैकोटको पेल्मास्थित आधारभूत तहमा अध्यापनरत थिए शिक्षक मखन केसी । भदौ १२ गतेदेखि सम्पर्कविहीन केसी भेटिएका छैनन् । साउन ३१ गते पेल्मामा केही युवाले उनलाई कुटपिट गरेको खबरपछि केसी कहाँ छन् ? कुन अवस्थामा छन्, खुल्न सकेको छैन ।
को हुन् ? बेपत्ता शिक्षक मखन
रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्वर ६ मा मखन केसीको स्थायी घर हो । ५० वर्षीय केसी २०४७ मा अस्थायी शिक्षकका रुपमा पेल्मा मैकोटमा नियुक्त भए । करिब तीन वर्षजति पेल्मा विद्यालयमा शिक्षक बनेका केसी पुनः २०५९ मा पेल्मा गाउँकै शिक्षक बन्न पुगे । १६ वर्षदेखि लगातार शिक्षण पेशामा रहेर समाजसेवा गरिरहेका केसी साउन ३१ गते कुटिए । कुटपिटको भोलिपल्ट भदौ १ गते स्थानीय मेडिकलमा उपचारका लागि आएको र त्यसपछि भदौ १२ गतेदेखि सम्पर्कविहीन बनेको बताइएको छ । यता, केसीका सहोदर दाइ मोहनबहादुर केसीका अनुसार भाइ मखन असारमा पेल्मा गएको र परिवारसँग कुनै सम्पर्क नभएको तर कुटपिटको खबर सुनेपछि मात्र भाई बेपत्ता भएको जानकारी पाइएको बताउँछन् ।
कहाँ र कसले कुट्यो ? शिक्षक केसीलाईपुथा उत्तरगंगा गाउँपालिकाको वडा नम्वर २ पेल्मामा शिक्षक केसीलाई कुटपिट गरिएको हो । स्थानीय बलराज पुनको घरमा केसीलाई पुथा उत्तरगंगा गाउँपालिकाका चार युवाले कुटपिट गरेका थिए । वडा नम्वर २ का दुई स्थानीय र वडा नम्वर १० का दुई युवा मिलेर उनलाई कुटपिट गरिएको बताइएको छ ।
कुटिएको अवस्थामा कसरी सार्वजनिक भयो केसीको फोटो
बेपत्ता केसी परिवारबाट सम्पर्कविहीन बनेपछि दाइ मोहनबहादुर रुकुमकोटबाट भदौ २४ गते पेल्मा पुगे । तीन दिन पैदल यात्रापछि गाउँ पुगेका केसीका दाइले स्थानीय मेडिकलमा बेपत्ता भाइको उपचार भएको जानकारी पाए । गाउँमा स्थानीय ज्ञानराज पुनले निजी मेडिकल सञ्चालनमा ल्याएको र उनै ज्ञानराजले उपचारक्रममा केसीको फोटो खिचेको जानकारी दिए । भाइको खोजीमा गएका दाइ मोहनले नै ज्ञानराजको मोबाइलमा रहेको फोटो आफ्नो मोबाइलमा राखेर भाइ बेपत्ता भएको सार्वजनिक गरेका हुन् । मोहनका अनुसार पेल्मा विद्यालयले बेपत्ता मखन भदौ ११ गतेसम्म विद्यालयमा उपस्थित भएको जानकारी गराएको बताउँछन् । विद्यालयको हाजिरी रजिष्टरमा समेत भाइको दस्तखत गरिएको तर, त्यो दस्तखत नक्कली भएको केसीले जानकारी दिए ।
केसी परिवारको पीडा र आग्रह
साउन ३१ गते कुटपिटमा परेर बेपत्ता भएका शिक्षक केसीका परिवार चिन्तामा छन् । उनको खोजी गरिदिन सरोकारवालालाई सहयोग गर्न केसी परिवारले आग्रह गरेको छ । लामोसमय बित्दा पनि अवस्था अज्ञात हुनुले परिवारलाई पीडा थपिएको छ । केसीलाई कुटपिट गर्नेविरुद्ध उजुरी दिइसकेको र बेपत्ता भाइको खोजीका लागि प्रशासनलाई आग्रह गरिएको दाइ मोहनबहादुरले बताए । शिक्षक मखनलाई कुटपिट गर्दा विद्यालय परिवार मूकदर्शक बनेको र वडा कार्यालयले समेत कुनै चासो नदेखाएमा परिवारको आक्रोश छ ।
प्रशासन के भन्छ ?
शिक्षक मखन केसी बेपत्ता भएदेखि स्थानीय प्रहरी चौकी रन्मामैकोट र रुकुम पूर्वको रुकुमकोटबाट खटेर गएको प्रहरी टोलीले केसीको खोजी तीब्र पारेको जानकारी दिएको छ । परिवारको उजुरीका आधारमा केसीलाई कुटपिट गर्नेविरुद्ध समेत अनुसन्धान भइरहेको जिल्ला प्रशासन कार्यालय रुकुम पूर्वले जनाएको छ । बेपत्ता केसी खोजीका लागि पेल्मागाउँ र त्यस आसपासका ठाउँलगायत खोलानालामा प्रहरी खटिएको र घटनाका विषयमा सत्यतथ्य छानबिन हुने प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले बताए । ‘हामीले शिक्षक मखनको खोजी कार्य तिब्र पारेका छौँ, उहाँलाई कुटपिट गरेको भन्नेबारे पनि अनुसन्धान भइरहेको छ,’ उहाँले भन्नुभयो ।