काठमाडौं । प्रधानमन्त्री केपी ओलीको आलोचनामा समय बिताउनेको संख्या बढ्दो छ । सरकारमा गएको तीन महिना नपुग्दै प्रधानमन्त्री र सरकारको आलोचना शुरु भइसकेको थियो । यो क्रम बढेर पछिल्लो समय पार्टीकै नेताहरुले पनि सार्वजनिक सम्बोधनमा आलोचनाको मात्रा बढाएका छन् ।
तर, भारतका सञ्चारमाध्यमले भने लगातार प्रधानमन्त्री केपी ओलीको प्रशंसा गर्न थालेका छन् । भारतमा निर्वाचन आउँदैछ । प्रधानमन्त्री नरेन्द्र दामोदर दास मोदीको आलोचनामा नेपालमा जस्तै मिडियाले मात्रा बढाएका छन् ।
मोदीले अघोषित नाकाबन्दी लगाएको तर राष्ट्रियताका आडमा नेपालले नाकाबन्दी फिर्ता लिन बाध्य पारेपछि लगातार भारतलाई एकपछि अर्को प्रहारमा नेपालले सफलता पाइरहेको भन्दै भारतीय मिडियाले प्रधानमन्त्री मोदीको आलोचना गरिरहेका छन् । पछिल्लो समय चीनसँग चार वटा नाकामा पारवहन सम्झौता र पुनामा गरिएको संयुक्त सैन्य अभ्यासमा नेपाल सहभागी नभएको विषयले भारत आफ्नो कुटनीति र परराष्ट्र नीतिमा निकै कमजोर भएको भारतीय सञ्चार माध्यमको टिप्पणी छ ।
अघोषित नाकाबन्दी लगाएर छिमेकी मित्रलाई पेल्ने कामको कलंक पनि भारतीय जनता पार्टी (बिजेपी) र प्रधानमन्त्री नरेन्द्र मोदीले बेहोर्नु पर्ने मिडियाको टिप्पणी छ । यस्तै, सैन्य अभ्यासमा नेपाल नआउनु अनि भारतआश्रित दुई वटा नाकाबाहेक चीनसँग चार वटा नाकामा पारबहन सम्झौता हुनु भारत र भारतको कुटनीतिमै सर्वाधिक असफलताको घडी भएको र सत्तामा रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको सर्वाधिक सफलता रहेको भारतीय मिडियाको निष्कर्ष छ ।
केही मिडियाले भारतलाई यसरी नै नेपालले पेलिरहे फेरि नाकाबन्दीसम्म गरेर ‘तर्साउनु पर्ने’ लवजका समाचार दिए पनि अधिकांश मिडियाले भारतको हेपाहा प्रवत्तिको युग अन्त्य हुँदै गएको र एउटा स्वाभिमान मुलुकले छिमेकीसँग पारवहन सम्झौता गरेर अर्को छिमेकीको हेपाहा प्रवृत्ति अन्त्य गरिरहँदा भारतले नीति सुधार्नु पर्ने तर्क गरेका छन् ।
‘चीन लगातार नेपालको प्रिय मित्र बन्न लम्पसार परिरहेको छ,’ भारतीय मिडियाको तर्क छ, ‘भारतले अब कुटनीतिक सम्बन्ध, परराष्ट्र सम्बन्ध सुधार्न सकेन भने अरु दक्षिण एसियाका छिमेकी देशले पनि भारतलाई नेपालले झैँ व्यवहार फेर्नेमा शंका छैन ।’
राष्ट्रियताका सवालमा भारतका सञ्चार माध्यममा लोकप्रिय बनेका केपी ओलीले जनमुखी र जनप्रिय काम गरेको भनेर नेपाली सञ्चार माध्यममा कहिले आउला समाचार ? छिमेकी देशमा लोकप्रियताको उकालो चढिरहेको प्रसंग मात्र होइन, नेपालमा नेपाली सञ्चार माध्यमले र भारतमा भारतीय सञ्चारमाध्यले प्रधानमन्त्रीको आलोचना त फेरि समान ढंगले गरेकामा शंका छैन ।
[video width="640" height="360" mp4="https://45.77.241.73/wp-content/uploads/2018/09/INDIAN-MEDIA.mp4"][/video]