लोकेन्द्र प्रसाद जोशी
दार्चुला । अपिहिमाल । ७ नम्बर प्रदेशको प्रतिष्ठा । आरोहणका लागि आकर्षक हिमाल । र, केही विदेशी पर्वतारोही अपि हिमाल अरोहणका लागि गए । तर आरोहणको बाटो नै नपाइएपछि व्यास गाउँपालिकाको तम्पाकुबाटै फिर्ता भएका छन् । दुम्लिङदेखि ब्यास जाने बाटो ठाउँठाउँमा भत्केर तम्पाकुबाट अगाडि जान सकिने उपयुक्त बाटो नभेटेपछि टोली फर्किएको हो ।
२० वर्षपछि १० पर्यटक
झन्डै २० वर्ष पहिले अर्थात सशस्त्र द्वन्द्वकालयता आरोहण हुन नसकेको अपि हिमाल दुई दशकपछि पर्यटकको रोजाइमा परेको थियो । पहिलो पटक युरोपियन मुलुक चेक गणतत्रका आठ र २ नेपालीसहित १० जना दार्चुला आएको थियो । अपि हिमाल आरोहण गर्ने लक्ष्यका साथ संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालय, पर्यटन विभागको भदौ २२ गते ६० दिनको अनुमति लिएर आएको विदेशी टोलीले बाटो नपाएर फर्किनुपरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
कहाँ भयो खर्च ?
अपि हिमाल जाने बाटो ब्याससम्म (रुट) निर्माण गर्न व्यास गाउँपालिकाले गतवर्ष समेत लाखौँ रकम बजेट खर्च गरेको भए पनि गुणस्तरीय काम नहुदा २० वर्षपछि आएका पर्यटक फर्किनुपरेको हो । व्यासम्म पुग्ने पदमार्ग निमार्ण गर्न गतवर्ष २५ लाख रुपैयाँ र चालु आर्थिक वर्षमा २० लाख रुपैयाँ विनियोजन गरिएको छ । तर बाटो बनेको छैन । गतवर्ष ठेकेदारले काम नगर्दा ९ लाख रुपैयाँ मात्रै भुक्तानी गरिएको चालु आर्थिक वर्षमा काम नै शुरु हुन नसकेको व्यास गाउँपालिकाका प्रवक्ता धिरन सिंह बुढाथोकीले बताउनुभयो ।
काठमाडौंमै रोकिए विदेशी आरोही
काठमाडौंबाट अपि हिमाल आरोहणमा आउँन तयारी गरिरहेको नेदरल्यान्डका पर्यटकको टोली समेत बाटो नपाएर चेक गणतन्त्रका पर्यटक फर्केको खबर पाएपछि उतै रोकिएको बुझिएको छ । २०५६ पछि विदेशी नागरिक अपि हिमाल आरोहणका लागि नआएको अवस्थामा विदेशी टोली दार्चुला पुग्दा जिल्लाबासी खुसी भएका थिए । ७ हजार १ सय ३२ मिटर उचाइमा रहेको अपि हिमाल पर्यटकको आकर्षणको गन्तव्य भए पनि आवश्यक पूर्वाधार, दक्ष गाइड र उपयुक्त वातावरण नहुदा पर्यटक काठमाडौंबाट दार्चुला आउने आँट गर्नै छाडेका छन् ।अर्को रुट पनि छ
व्यास नपुग्दै फर्किएको पर्यटक टोलीले आधार शिविरसम्म पुग्न नसके पनि अर्को रुट प्रयोग गर्न सकिने विकल्प छ । गोकुलेश्वरबाट, लटिनाथ, घुसा हुँदै बेसक्याम्प पुग्न सकिने उपयुक्त मार्ग छ । यो बाटो भएर जाँदा गोकुलेश्वरदेखि पारी बगरसम्म यातायातबाट जान सकिन्छ । यो बेसक्याम्पसम्म सबैभन्दा छिटो पुग्न सकिने सम्भावना भएको रुट पनि हो । यस्तै, दोस्रो विकल्पका रुपमा खलंगाबाट खार, सितोला हुँदै अपि हिमाल आधार शिविरसम्म पुग्न सकिने रुट छ ।
५८ वर्षअघि नै आरोहणअपि हिमालमा पहिलो पटक सन् १९६० मा आरोहण गरिएको अभिलेख छ । अपि नाम्पा संरक्षण क्षेत्रभित्र ७ हजार १ सय ३२ मिटर उचाइको अपि हिमाल, ६ हजार ७ सय ५७ मिटर उचाइमा रहेका नाम्पा हिमाल, ६ हजार ८ सय ५० मिटर रहेको कापाचुली हिमाल, जेठबुहारी, व्यास हिमाल, लगायतका उच्च हिमशृंखला छन् ।
हजारौँ पर्यटक घुम्न आउने सम्भावना बोकेका पर्यटकीय क्षेत्र प्रचारप्रसार, उपयुक्त मार्ग, आवश्यक भौतिक पूर्वाधार अभावलगायतका कारण विदेशी पर्यटक आउन सकिरहेका छैनन् ।