सन्देश पौडेललमजुङ । लमजुङका पर्यटकिय गाउँहरु पछिल्लो समय म्यूजिक भिडियो तर्फ आकर्षित भएका छन् । गाउँको पर्यटन प्रवद्र्धनका लागि भन्दै जिल्लाका एकदर्जन भन्दा बढि गाउँहरुले म्यूजिक भिडियो बनाई सकेका छन् ।
गाँउको विबिधतासँगै स्थानिय सँस्कार, सस्कृति, भेषभुषा, प्राकृतिक सुन्दरता, धार्मिक आस्था, पुरातत्विक सम्पदाहरुको प्रचार गर्न म्युजिक भिडियो सजिलो माध्याम भएको छ । म्युजिक भिडियो बनेपछि पर्यटकहरुको आगमन पनि बढेको स्थानीय पर्यटन व्यवसायीहरु बताउछन् ।
म्युजिक भिडियो देखेपछि पर्यटक थप आकिर्षत भएको सिउरुङ ग्रामिण पर्यटन विकास समितिका सचिव उमरबहादुर गुरुङ बताउनुहुन्छ । “गाउँको बारेमा बनाईएका भिडियोमा देखिएका दृष्यको स्थलगत अवलोकन गर्नकै लागि पनि पर्यटकहरु आउने गरेका छन्” सचिव गुरुङले भन्नुभयो ।
शान्ति प्रक्रियापछि गाउँगाउँमा आन्तरिक पर्यटक बढेको र त्यसपछि गाउँ चिनाउने म्यूजिक भिडियो निर्माणले गति लिएको हो । देश विदेशमा प्रचार प्रसार गर्नको लागि अन्य माध्यम भन्दा म्युजिक भिडियो उत्तम माध्यम लागेको घलेगाउँ पर्यटन विकास समितिका अध्यक्ष प्रेम घलेले बताउनुभयो ।
स्थानीयको लगानीमा बनाइएका म्यूजिक भिडियोहरुले स्थानीय कला संस्कृतिलाई जगेर्ना गर्न पनि मद्धत पुगेको छ । पुरानो कला संस्कृति पछिल्लो पुस्तामा हस्तान्तरण गर्न तथा त्यसलाई जोगाउन म्यूजिक भिडियो उपयुक्त माध्यम बनेको ताघ्रिङका पर्यटन व्यवसायी नरबहादुर गुरुङ बताउनुहुन्छ ।
पश्चिमेली प्रभावमा परेको युवा पुस्तालाई पनि म्यूजिक भिडियोले आफ्नो संस्कृति र संस्कार तर्फ झुकाव गराएको युवाहरु बताउछन् । “युवाहरु दिन प्रतिदिन अवश्य पनि पुरानो भन्दा नयाँ नयाँ कुराको खोजिमा हुन्छौँ” कलाकार विष्णु गुरुङ भन्नुहुन्छ “तर सँस्कार र सस्कृतिमा नयाँ भन्दा पुरानो वास्तविकतालाई कसरी जोगाउने भन्ने हुने रैछ ।”
गाउँ गाउँमा म्यूजिक भिडियो निर्माण हुन थालेपछि नृत्य, अभिनय वा अन्य कुनै भूमिका निर्वाह गर्ने युवा पुस्ताको भित्रि चाहाना पनि कतिपयको पुरा भएको छ । स्थानीयस्तरमै बनेका म्यूजिक भिडियोहरुमा दर्जनौँ युवाहरुले भूमिका निर्वाह गर्न पाएका छन् ।
“गाउँमा हुने कार्यक्रमहरुमा राम्रो नाच्ने भाई बहिनीहरु हुन्छन्, उनिहरुलाई पर्दामा देखिने रहर पनि हुन्छ” ताघ्रिङका पर्यटन व्यवसायी बलबहादुर गुरुङ भन्नुहुन्छ “स्थानिय कलाकारले म्यूजिक भिडियो बनाउदा कम लगानी र मौलिक हुने रैछ ।”
पर्यटन प्रवद्र्धनकै लागी पर्यटकिय गाउँहरुले आफ्नै लगानीमा म्यूजिक भिडियो बनाउने गरेपनि उनिहरुले अन्य निकायबाट खासै सहयोग पाउन सकेका छैनन् । पर्यटन विकास मुलुककै समृद्धिको आधार भएकोले यस्ता क्षेत्रमा सरकारले पनि लगानी गर्नुपर्ने लमजुङ उद्योग बाणिज्य संघका अध्यक्ष राजेश थापा बताउनुहुन्छ ।
“पर्यटन प्रवद्र्धनमा सरकार र सरोकारवालाहरुले पनि सहयोग गर्नुपर्छ,” अध्यक्ष थापाले भन्नुभयो “स्थानिय सरकारले त झन विशेष प्राथमिकतामा राख्ने हो भने स्थानिय सरकारको नतिजामुखी काम हुन सक्छ ।”
गाउँको बारेमा गित लेख्ने, त्यहि गितको आधारमा भिडियो बनाउने र गाउँमा आएका पाहुनाहरुलाई त्यहि गीतमा नाचेर स्वागत गर्ने प्रायः गाउँको चलन छ । म्यूजिक भिडियो बनाईएका गाउँहरुमा हुने सभा, तथा अन्यत्र हुने विशेष कार्यक्रमहरुमा पनि तिनै गितहरुमा विशेष नाच देखाउने चलन छ ।
जिल्लामा घलेगाउँ, भुजुङ, ताघ्रिङ, पाचोक, नाल्मा, सिउरुङ, दुराडाँडा, समिभञ्ज्याङ, पुरानकोट, भोजे, मपिङ, बाहुनडाँडा भिरपुस्तुन, पसगाउँ, ढंगै लगायतका गाउँहरुमा म्यूजिक भिडियो बनिसकेका छन् । गीतहरु कतिपय गुरुङ भाषामै छन् भने पछिल्लो समय नेपाली भाषामा लेखिएका गीत बढीमात्रामा प्रयोगमा आउने गरेका छन् ।