-सेताम्मे फुलेका दाह्री, बुढ्यौलीले स्थायी बनेका कम्पन, खुट्टाले मेरो मात्रै भर नपर्नु भन्ने संकेत दिइसकेको बुढाका हातमा लठ्ठी टुट्थेन । आज उनका लागि नरमाइलो दिन भयो । गहभरी आँशु पार्दै थचक्क बसे । वयोवृद्ध पिताका आँखामा आँशु देखेर छोराछोरी चिन्तित भए । वरिपरी भेला भएर बुबासँग सोध्न थाले, ‘किन रुनु भयो ? के आवश्यकता प¥यो ? के अभाव भयो ? कसैले चित्त दुखाउने कुनै वचन लगायो कि ?’
बुढाले गम्छाले आँशु पुछ्दै भने, ‘आज बदना फुट्यो । अघि मैदानबाट फर्किँदा बाटोमा ठेस लागेर लडेँ ।’ बुबाको कुरा सुनेर छोराछोरी सामुहिक गलल हाँसे । जेठो छोराको मुखबाट निस्कियो, ‘हैट बुवा पनि । त्यो अदना चिज ‘बदना’का लागि बुबा रुनु पर्छ ? त्यो पनि माटोको बदना । बजारमा १० रुपैयाँभन्दा बढी पर्दैन ।’ अरु छोराछोरीले पनि त्यसरी नै बुढालाई सम्झाए । अलि निकै कमाउने एउटा छोरोले भन्यो, ‘नाथे माटोको बदना फुट्यो भनेर बुवा रुने, चाँदीको बदना बनाइदिन्छु ।’ छोराछोरीले अनेक किसिमले ढाडस् दिन खोजे तर बुढाको मन दुःखी भइरह्यो ।
बुढाले २५ वर्ष अगाडिका दुःखका दिन सम्झिए । घरभरी ७ जना भान्टाङभुन्टुङ बालबच्चा । इस्लाममा धार्मिक नियमले बन्ध्याकरण गर्न नमिल्ने । ‘अल्लाह’ ले जति दिन्छन् त्यति बालबच्चा जन्माउने । जन्माउने ‘अल्लाह’ हुन्, उनैले पाल्छन् भन्ने मान्यतामा अडिग बुढो । ७ छोराछोरी जन्माए । पालनपोषणमा चर्कै परेको थियो । दुईवटा लौका काटेर एक मुठी चामल मिसाएर खिचडी पकाएर छोराछोरीको भोक मेटेको दुःखको रात बुढाले झलझली सम्झिए । छोराहरु बढे, वैदेशिक रोजगारीमा गए । बुढाको आर्थिक अवस्था फेरियो । छोराले चाहे बुढालाई सुनकै बदना बनाएर दिन सक्ने । वयोवृद्ध बुबाको सेवा र इच्छा पूरा गर्न छोराहरु तम्तयार थिए । तर बुढाको मन दुःखी हुन छाडेन । आँशु तुर्किरह्यो ।
छोराहरुले सान्त्वना दिएपछि फेरि एकपटक काँधमा राखिएको गम्छाले आँशु पुछे । भने, ‘हेर बाबु हो, त्यो माटोको बदना अति दुःखका बेलामा बेसाएको थिएँ । जतन गरी चलाएको थिएँ । २५ वर्षदेखि त्यो बदना साथीजस्तै थियो । नमाज पढ्नुअघि वजू ( पवित्र) हुन त्यही बदनामा पानी लिन्थेँ । मैदान जान पनि त्यही बदना प्रयोग गर्थेँ । पैसाका हिसाबले १० रुपैयाँ ठूलो होइन । तर त्यो बदनाले मेरो इज्जत देखेको थियो, इज्जत धानेको थियो । अब अर्को नयाँ बदना त आउँछ । तर नयाँ बदनाले मेरो नाङ्गो शरीर देख्ने भयो । नयाँले मेरो इज्जत देख्ने भो । नयाँसँग व्यवहार गर्नु पर्ने भयो ।
पुँजीवादको बोलवाला भएको संसार छ । जहाँ पैसा कमाइ हुन्छ, त्यही स्थान प्यारो हुन्छ । फगत आकर्षक रोजगारीका लागि जन्मभूमि, राष्ट्र र राष्ट्रियता क्षणभरमा परित्याग गर्ने होड नै चलेको छ । मातृभूमि भनेर गर्व गर्ने दिन गए । उत्पत्तिका हिसाबले वंशजको नागरिकता भन्दा ‘पिआर’ प्रिय बन्न थाल्यो । नयाँ पुस्ताले १० रुपैयाँको पुरानो माटोको बदनाको साथ छुट्दा रुने बुढो र उनको जीवन र जगतप्रतिको धारणा उपयुक्त मान्ने कुरै भएन ।
तर जीवनमा कृतार्थ हुने भावको पनि महत्व छ । पुरानोप्रतिको मोह पनि अनुग्रहित हुने भावदशाबाटै उत्पत्ति हुन्छ । रातको अँध्यारोमा बाटो भुलेको बटुवाले कुनै परिचितको आवाज सुन्दा बत्ती बलेको अनुभव गर्छ । त्यसकारण जीवन जिउने क्रममा परिचितहरुको महत्व हुन्छ । मैले काम गर्ने संस्था छाडेर नयाँ ठाउँमा जाँदा नयाँसँग संगत होला । नूतन सिकाइ पनि होला । अत्याधुनिक थप सुविधा पाइएला । तर पुराना परिचितसँगको सहकार्य बिट मारिन्छ । चीरपरिचित हुने क्रममा नयाँले पनि मेरा ‘कैफियत’ थाहा पाउने छन् । पुरानो संस्थामा पेश्की तलब माग्दा सँगै काम गर्ने साथीले मेरो आर्थिक हैसियत थाहा पाएका थिए । मसँग सापटी माग्दा साथीभाइको दुःख र आवश्यकताको राम्रै ज्ञात थियो । अब नयाँ ठाउँ जाँदा मेरो आमद इज्जत नयाँले थाहा पाउने छन् । मन हुँडलिइरहेको छ ।