यार्सा टिप्न भएका बाबु फर्केनन्आमाले गरिन् दोस्रो विवाह बुहारीको खबरले ससुरालाई हृदयघात पाँच छोराछोरीको बिचल्ली
लोकेन्द्र प्रसाद जोशी
दार्चुला । बृद्ध बुवाआमा, श्रीमती र ५ जना छोरी, १ जना छोरा । १० जनाको ठूलो तर सुन्दर परिवार, छोराछोरीलाई उच्च शिक्षा दिने र जीवनशैलीमा परिवर्तन ल्याउने अभिलाषासहित नौगाड गाउँपालिका ४ होपरीगाडबाट जमन सिंह महता तीन बर्ष पहिले दार्चुला सदरमुकाम खलंगा आए । बृद्ध बुवाआमा गाउँमा छोडर छोराछोरीसहित श्रीमती र आफू खलंगा झरेर यतै घर निमार्ण गरे । जिल्ला सदरमुकाममा समेत घर जमिन जोडेर बसोबास शुरु गरेको केही महिनापछि, घर बनाउँदा लागेको ऋण तिर्न यार्सागुम्बाको व्यापारमा गएका जमन सिंह महता अपी हिमाल गाउँपालिकाको घुसा धन्बोरा भन्ने ठाउँमा अस्ताए ।
जमनसिंहको हत्या
यार्सागुम्बा र पैसाको साथमा व्यापार गर्न हिडेका जमनसिंह महताको २०७३ साल साउन १० गते पैसाको लोभमा कसैबाट हत्या भयो । घरको अभिभावक गुमाउनुपर्दा परिवारले निकै पीडा र बेसाहारा महसुस गर्यो । दुःखमा रोइकराइ, छोराको हत्यारा पत्ता लगाउन समेत सक्दो प्रयास गरे, प्रहरीसँग आलाप विलाप गरे तर अहिले हत्या भएको २ बर्ष २ महिना बित्दासमेत हत्यारा पत्ता लागेन । तरपनि बिस्तारै आफूलाई सम्हाल्दै दैनिकी चलाउनुको विकल्प थिएन । पैतृक सम्पतिबाट छोराछोरीको पढाइ खर्च र घरखर्च जेनतेन चलिरहेकै थियो ।
आमा पोइल गइन्
अपसोच, श्रीमानको हत्या भएको दुई बर्षपछि श्रीमती गीता महताको मन फेरियो । एक÷एक बर्षको मात्रै जन्मान्तर भएका ५ जना छोराछोरीलाई एक्लै छोडेर गत भदौ २५ गते कान्छी छोरीलाई समेत साथमा लगेर अन्तै गएको खबर परिवारमा आयो । बाबुको निधनपछि शोकाकुल परिवारमा आमाले समेत बिना जानकारी घर छोडेर अरुकै साथमा हिँडेपछि बालबालिका असहाय बनेका छन् । उता गाउँमा बुहारीले नातिनातिना छोडेर अरुसँगै गएको खबर सुनेर बाजेको समेत हृदयघात भएर मृत्यु भएको छ । बाजेको निधन भएर तीनजना दिदिबहिनी र भाइसमेत गाउँ गएपछि १५ वर्षीय सुर्मा महता महाकाली नगरपालिका–४ खलंगामा एक्लै बसेकी छन् ।
पाँच भाइबहिनीको बिचल्ली
बाबु, बाजेको मृत्यु र आमाले घर छोडेपछि दार्चुलाको नौगाड गाउँपालिका ४ होपरीगाड घरभई हाल जिल्ला सदरमुकाम खलंगामा बस्दै आएका पाँच भाईबहिनी असहाय बनेका छन् । बाबुको हत्या भएको घटनापछि निराश बनेका छोराछोरीलाई आमाले समेत बिना जानकारी छोडेर अन्तै गएपछि बालबालिकाहरुको बिचल्ली भएको हो । अहिले घरमा बज्यै धना महता र पाँच भाईबहिनी मात्रै रहेका छन् । भाइबहिनीसमेत सानै उमेरका भएको कारण विभिन्न समस्याको सामना गर्नुपर्ने चिन्ताले अहिलेदेखि नै सताइरहेको छ । आमा केही महिनायता भारतको धारचुला कालीका भन्ने स्थानमा काम गर्न जाने गरेकोले उतै कसैसँग विवाह गरेर बसेको हुन सक्ने परिवारले अनुमान गरेको छ ।
सहयोगको आश
जेठी बहिनी कक्षा ९ मा अध्ययनरत १६ वर्षीया भागरथी महता, १५ वर्षीया सुर्मा महता, कक्षा ७ मा अध्ययनरत १४ वर्षीय सरस्वती महता, कक्षा ६ मा अध्ययनरत १३ वर्षीया बाटुली महता र कक्षा ५ मा अध्ययनरत १२ वर्षीय सचिन महता सबै विद्यालय पढ्ने र आय श्रोतको माध्यम तथा साहारासमेत कोही नभएपछि समस्यामा परेको उनीहरुको दुखेको छ । आफन्तको सहयोग पाइएला भन्ने अपेक्षा भएपनि मनमा निराशा, एक्लोपना र डर भरिएको छ । सहयोगी निकाय संघ–संस्था हुन्छन भन्नेसम्म सुनेका उनीहरुले सहयोगको अपेक्षा गरेका छन् । कमाउने उमेर र अवस्था छैन, खलंगा घरनिमार्ण गर्दाको खर्चसमेत व्यवस्थापन भइनसकेको अवस्थामा पैतृक सम्पत्तिको भरमा कहिलेसम्म बाँचिएला उनीहरु आफैप्रति प्रश्न आएको छ ।