दमौली । नेपाली साहित्यका धरोहर आदिकवि भानुभक्त आचार्यको जन्मथलो तनहुँको भानु नगरपालिका चुँदी रम्घामा बनाउन लागिएको शिखर कटेरीको शिलान्यास गरिए पनि काम शुरु हुन सकेको छैन ।
विसं २०७३ चैत २२ गते ‘भानु शिखर कटेरी’ को तत्कालीन मुख्य सचिव डा सोमलाल सुवेदी, पूर्व मुख्यसचिव लीलामणि पौडेल र पश्चिमाञ्चल विकास मञ्चका अध्यक्ष रामकाजी कोनेले शिलान्यास गरेका थिए । पश्चिमाञ्चल विकास मञ्चले भानुभक्तको जन्मथलोमा खण्डहरको रुपमा रहेको ठाउँमा शिखर कटेरी बनाउन लागेको थियो ।
भानृ गृह करीब रु ६८ लाखको लागतमा निर्माण हुने भनिएपनि निर्माण कार्य शुरु नभएको भानु जन्मस्थल विकास समितिका कार्यकारी निर्देशक रानाभाटले जानकारी दिनुभयो । ‘‘निर्माणका काम अगाडि बढेका छैनन्,’ उहाँले भन्नुभयो, “आफैँ चन्दा उठाएर बनाउँछौँ भनेर हामीलाई भन्नुभएको छ ।”
पश्चिमाञ्चल विकास मञ्चसँग पटक पटक सम्पर्क गर्दा शिखर कटेरी हामीले नै बनाउने भनेर आफूलाई भनेको रानाभाटले जानकारी दिनुभयो । ‘‘तीन पटकसम्म घरको नक्सा परिवर्तन भइसक्यो,’’ उहाँले भन्नुभयो, “उहाँहरुले ठाउँ ओगटेर बस्नुभएको छ, त्यही भएर हामीले पनि केही गर्न सकेका छैनौंँ ।”
विसं २०५७ मा भानु जन्मस्थल विकास समितिको सहयोगमा ‘आदिकवि भानुभक्त’ नामक चलचित्र निर्माण गर्नका लागि भानुभक्तको घर पुनःनिर्माण गरिएको थियो । जङ्गलबीचको खरको छानोको घरमा २०६१ जेठमा आगलागी हुँदा करीब रु एक लाख २७ हजारको क्षति भएको थियो ।
साहित्यिक पर्यटकीय स्थलको रुपमा विकास गर्न र उक्त ठाउँलाई भानु ग्राम बनाउने उद्देश्यले मञ्चले गुरुयोजनासमेत बनाएको छ । गुरुयोजनाअनुसार भानुभक्तको घर दुई तलाको हुनेछ ।
दश रोपनी क्षेत्रफलमा फैलिएको जग्ग्गाभित्र भानुभक्तको घरसहित पोखरी, फूलबारी, घरवास, धर्मशाला, सङ्ग्रहालय, दृश्यावलोकन स्तम्भ, चौतारीलगायतका पूर्वाधार निर्माण हुनेछ । भानुको घर हालकै स्थानमा पुरानै शैलीमा निर्माण हुनेछ । तर, घरका लागि आवश्यक पर्ने सामग्री आधुनिक हुने बताइएको छ ।रामायण भवनको काम चल्दै सोही ठाउँमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आर्थिक सहयोगमा रामायण भवनको निर्माण कार्य भने चलिरहेको छ । भवनको हालसम्म ६० प्रतिशत कार्य सकिएको र चालु आर्थिक वर्षभित्रै सम्पूर्ण निर्माण कार्य सकिने भानु जन्मस्थल विकास समितिका कार्यकारी निर्देशक रानाभाटले बताउनुभयो ।
आचार्यको जन्मस्थल चुँदी रम्घाको जन्म घर खण्ड बन्दै गएपछि भानु जन्मस्थल विकास समितिले भानु शिखर कटेरी गुरुयोजना बनाएर भानुको जन्मस्थलको संरक्षणकोे काममा चासो देखाएको थियो ।
कार्यकारी निर्देशक रानाभाटले भवन निर्माणका लागि अहिलेसम्म रु दुई करोड ६० लाख खर्च भएको जानकारी दिनुभयो । उहाँका अनुसार चालु आर्थिक वर्षमा भवनका लागि रु एक करोड २५ लाख विनियोजन भएको छ । रामायण भवनको निर्माण कार्य सम्पन्न भएपछि १० रोपनी क्षेत्रफलभित्र भानु गृह, सङ्ग्रहालय, अतिथि गृहलगायत निर्माण गर्ने लक्ष्य समितिको रहेको छ ।समिति कुन सरकारमा रहने भन्नेमा अन्योल सङ्घीयतापछि कुन सरकार मातहत रहने भन्ने निश्चित नभएपछि समिति अन्योलमा परेको छ । यसअघि सङ्घीय सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत रहेको विकास समिति अब कुन सरकार मातहत रहने भन्ने निश्चित नहुँदा अन्योलमा परेको हो ।
कार्यकारी निर्देशक रानाभाटले सङ्घीय, प्रदेश र स्थानीय तहमध्ये कुन सरकारमा समिति हस्तान्तरण हुने हो भन्ने निश्चित नहुँदा विकास समितिको काम कारवाहीसमेत प्रभावित भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “कुन सरकार मातहत रहने भन्ने बारेमा अहिलेसम्म जानकारी आएको छैन । हामी पनि दोधारमा परेका छौं ।” उहाँले चालु आर्थिक वर्षका लागि विकास समितिलाई पूँजीगत तर्फ रु १० लाख र चालु तर्फ रु आठ लाख गरी रु १८ लाख विनियोजन भएको र उक्त बजेट प्रदेश सरकार मातहत गएको जानकारी आफूले पाएको बताउनुभयो ।
‘‘अन्यौलकै स्थिति भएकाले चालु आर्थिक वर्षको बजेट समितिले पाएको छैन,’’ उहाँले भन्नुभयो । बजेट अभावकै कारण केही दिनअघि मोतीराम भट्टको जन्मजयन्तीसमेत मनाउन नसकिएको उहाँले बताउनुभयो । भानुभक्तलाई चिनाउन मोतीराम भट्टको योगदान रहेको र जन्मजयन्ती मनाउन समितिसँग बजेट नभएको उहाँले बताउनुभयो ।
समितिमा खरिदार, कार्यालय सहयोगी र चौकीदार गरी तीनजना कर्मचारी कार्यरत छन् । उनीहरुले विगत १० वर्षदेखि पूरा तलब नपाएको समेत कार्यकारी निर्देशक रानाभाटले जानकारी दिनुभयो । बजेट अभावकै कारण चालुतर्फ विनियोजन भएको रकमबाट अलिअलि तलब मात्रै कर्मचारीलाई दिइएको उहाँले बताउनुभयो ।