कन्चनपुर भीमदत्तनगर–२, उल्टाखाम खोल्टीकी निर्मला पन्तको हत्या भएको दुई महिना अर्थात (६० दिन) पूरा भएको छ । तर, प्रहरीको अनुसन्धान उन्नति शून्य छ । कनै नौलो तथ्य बाहिर ल्याउन सकेको छैन । हत्यारा को हो ? किन पत्ता लाग्दैन ? हत्यारा कसको संरक्षणमा छ, कहाँ लुकेर बसेको छ ? के प्रहरीले साँच्चिकै निर्मलाको हत्यारा सार्वजनिक गर्न नसक्ने नै हो त ? के प्रहरी अनुसन्धानमा चुकेकै हो वा प्रहरीलाई कसैको दबाब छ ? यी सबै प्रश्न प्रहरीलाई रिंगाइरहेको छ ।
हरेक दिनजसो कञ्चनपुरवासी र सञ्चारकर्मी यी र यस्तै प्रश्न बोकेर प्रहरीकहाँ पुग्छन् । तर प्रहरीको एउटै उत्तर छ, ‘अनुसन्धान जारी छ ।’ प्रहरीले पनि थुप्रै प्रश्न जम्मा पारेको छ । जस्तो, ‘हामीलाई अनुसन्धान गर्न दिनुस् न ? सक्नु हुन्छ भने अनुसन्धानमा सघाउनुस् न ? तपाईंहरुले हामीलाई अनुसन्धानमा किन सघाउनु हुन्न ?’ जवाफ खोज्न गएका सञ्चारकर्मी प्रश्नमा पेलिएर फर्कन्छन् । पटकपटक अनुसन्धानका लागि प्रहरीले केन्द्रबाट खटाएका टोलीले अनुसन्धान जारी राखेको एकदिन अपराधी सार्वजनिक गर्ने भने पनि प्रहरीको प्रगति शून्य छ ।कञ्चनपुरबासी मात्र होइनन्, निर्मला हत्यारा सार्वजनिक गर भन्दै र न्याय माग्दै सिंगो देश आन्दोलित छ । अहिले पनि राजधानीसहित देशका विभन्न ठाउँमा निर्मलाको न्यायका निम्ति भन्दै प्रदर्शन तथा दबाब कार्यक्रम भइरहेका छन् । स्कुलका बालबालिकाहरु हरेक दिनजसो नारा जुलुस लगाइरहेका छन् । साना बालबालिकाले हाम्रा प्रधानमन्त्री र राष्ट्रपतिसँग न्यायको गुहार गरिरहेका छन् । शनिबार पनि काठमाडौँको माइतीघर मण्डलामा विद्यालय तथा क्याम्पसका विद्यार्थीले निर्मलाका न्यायका लागि भन्दै प्रदर्शन गरे ।
आन्दोलनको रापले तातिएपछि गृहमन्त्रालयले सहसचिवको नेतृत्वमा गठन गरेको उच्चस्तरीय छानबिन समितिले अनुसन्धानमा संलग्न प्रहरी अधिकारीलाई निलम्बनको सिफारिसबाहेक केही गर्न सकेन । त्यो समितिले घटनाका दोषीबारे कुनै ‘क्लू’ नै भेट्टाउन सकेन । भदौ ७ र ८ गते कञ्चनपुरमा भएको गोलीकाण्डलगत्तै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएका ठाकुरप्रसाद ज्ञवाली कञ्चनपुरमै हराए । उनको टोलीले दोषीबारे अहिलेसम्म कुनै प्रगति सुनाएको छैन । प्रहरीमाथि निकै आरोप प्रत्यारोप लाग्न थालेपछि प्रहरी प्रमुख सर्वेन्द्र खनाल नै कञ्चनपुर पुगे । खनालले निर्मलाका परिवारलाई दोषी पत्ता लगाउने र कडा कारबाही गर्ने आश्वासन दिए । तर खनालको बोली पनि बिकेन । निर्मलाका आमाबाबु न्याय माग्दै काठमाडौं आए । काठमाडौंमा छोरीको न्यायका लागि जहाँ पुगे, सबैबाट आस्वासन आयो, छिट्टै अपराधी पत्ता लाग्ने छ । कडा कारबाही हुनेछ । बाहिरबाट गएका प्रहरी टोली अनुसन्धानमा खरो नउत्रेपछि कञ्चनपुर प्रहरीलाई नै अनुसन्धानको जिम्मा दिइयो । र, सहयोगका लागि केन्द्रबाट एसपी दुर्गा सिंहको विशेष टोली कञ्चनपुर खटिएको छ । यतिबेला एसपी सिंह अनुसन्धानमै छिन् ।
एसपी सिंहलगायत कञ्चनपुरका प्रहरी प्रमुख कुबेर कडायत रातदिन नभनी आफूहरु काम गरिरहेको बताइरहेका छन् । तर प्रगति केही भएको छैन । कुनै प्रश्न लिएर जाने सञ्चारकर्मीसँग झोक्किएर बोल्ने स्वभावका कञ्चनपुर प्रहरी प्रमुख कडायत अघिल्ला एसपी डिल्लीराज विष्टका छोराले होटल ओपेरामा मनाएको जन्मदिनबारे प्रश्न गर्दा समेत खाउँला झैँ गर्छन् । जे कुरामा पनि शंका गर्नु हुन्छ, तपाईंहरु भन्दै उल्टो सञ्चारकर्मीसँग दोहोरी खेल्छन् कडायत । ‘निर्मला अनुसन्धान कहाँ पुगेको छ ? के हुँदै छ एसपी साब, समय त निकै भयो नि ? प्रश्नको जवाफमा कडायले भने धनगढीतिर, नेपालगञ्जतिर पुगेको छैन क्यारे । हामी यहीँ छौँ । अनुसन्धानमा जुटेका छौ ।’ हो कडायतको जवाफ प्रायः हरेक सञ्चारकर्मीको प्रश्नमा यस्तै हुन्छ ।
उनको यस्तो जवाफबाट स्पष्ट हुन्छ कि, अनुसन्धानमा अहिलेसम्म कुनै प्रगति भएको छैन र निर्मलाका खास हत्यारा पत्ता लाग्ने सम्भावना क्षीण हुँदै गएको छ । फेरि पनि प्रहरीले दीलिपसिंह विष्ट जस्तै अर्को फेक अभियुक्त खडा गर्ने देखिँदै छ । निर्मलाका आमा बाबुले गृहमन्त्री, प्रहरी प्रमुख र प्रधानमन्त्री समेतलाई भेटे । तर, प्रहरीले तथ्य लुकाउन अझै छोडेको छैन । मानसिक रुपमा अस्वस्थ दीलिपसिंह विष्ट र अर्का युवक चक्रदेव बडूको डिएनए निर्मलाको भेजाइनल स्वाबमा पाइएको डिएनएसँग नमिलेको तथ्य बाहिर आएपछि बढेको जनदबाबका कारण प्रहरीले एसपी डिल्लीराज विष्ट, उनका छोरा किरण विष्ट र आयुस विष्टको डिएनए परीक्षणका लागि रगतको नमूना लिएको थियो । तर ती तीनजनाको मात्रै रगतको नमूना लिएर त्यो क्रम त्यतिकैमा सेलाएको छ । निर्मलाको हत्या भएको दिन अर्थात् साउन १० गते एसपी डिल्लीराज विष्टका छोरा किरणसँगै होटल ओपेरामा देखिएका तेस्रा युवकको प्रहरीले खोजी गरेन । प्रहरीले अनुसन्धानक्रममा अन्य तीनजना युवकलाई पनि शंकाको घेरामा राखेको थियो । तर, उनीहरुको रगतको नमूना लिइएको छैन । किरणसँगै होटेल ओपेरामा देखिएका भीमदत्त नगरपालिका –२ बस्ने बुढा ऐर थरका युवक केही दिनयता सम्पर्कविहीन छन् । उनी १० साउनमा किरणसँगै होटल ओपेरा गएको स्थानीयले बताइरहेको छ । तर, यो कुरा कञ्चनपुर प्रहरी मान्न तयार छैन । बुढा ऐरलाई नेपालगञ्जमा राखिएको हल्ला छ ।
मोबाइल मर्मत गरेर घरखर्च चलाउँदै आएका ती युवकको खोजी गरी डिएनए परीक्षण गर्न प्रहरीले पहल गरेको छैन । बरु आर्थिक अवस्था निकै कमजोर भएका बुढा ऐरलाई अपराध स्वीकार गर्न बाध्य बनाउने खेलमा प्रहरी जुटेको तथ्य बाहिर आउन थालेको छ । बुढा ऐरले आफू अपराधी भएको स्वीकार गरे प्रहरीले डिएनए परीक्षण गर्नु नपर्ने गरी योजना बुनिरहेको स्रोतको भनाइ छ । यदि यसो हुने भने फेरि कञ्चनपुरमा अर्को आन्दोलन चर्किने सम्भावना बढेको छ ।