हुमाकान्त पोखरेल
गुल्मी । मुलुकमा नयाँ ऐन लागू भएपछि पुरुषहरु सम्बन्ध बिच्छेदको लागि धमाधम अदालत आउन थालेका छन् । नयाँ ऐनमा पुरुषले पनि सम्बन्ध बिच्छेद गर्न पाउने व्यवस्था भएपछि पुरुषहरु अदालत आउन थालेका हुन् । नयाँ ऐनसँगै सम्बन्ध बिच्छेदको लागि अदालत आउने पुरुषको संख्या ह्वात्तै बढेको छ ।
नयाँ मुलुकी संहिता लागू भएको १५ दिनसम्म जिल्ला अदालतमा सम्बन्ध बिच्छेद गर्ने महिला पुरुषको प्रतिस्पर्धा देखिएको थियो । तर पछिल्लो १५ दिनमा महिला भन्दा पुरुष बढी छन् । ऐन लागू भएदेखि १ असोजसम्म ३३ सम्बन्ध बिच्छेदका मुद्धा दर्ता भएको अदालतकी नायव सुब्बा सीता घिमिरेले जानकारी दिनुभयो । त्यसमा १३ महिला र २० पुरुष छन् ।
अदालतमा एकैदिन ३ पुरुष
नयाँ मुलुकी ऐनमा पुरुषले पनि सम्बन्ध बिच्छेद गर्न पाउने थाहा पाएपछि अदालतमा एकैदिन ३ पुरुषले समेत मुद्धा दर्ता गरेका छन् । ऐन लागू भएपछि ७ भदौमा पहिलो पटक छत्रकोट गाउँपालिका ६ का लक्ष्मण ज्ञवाली, इस्मा गाउँपालिका ५ का शोभाखर पन्थ र रेनपा ४ का राजेन्द्रबहादुर खत्रीले एकैदिन पत्नी विरुद्ध सम्बन्ध बिच्छेदको मुद्धा दर्ता गरे ।
भदौ १३ गते एकैदिन धुर्कोट गाउँपालिका १ का बाबुराम थापा र रेसुङ्गा नगरपालिका १३ का हरिबहादुर खत्रीले सम्बन्ध बिच्छेदको मुद्धा दर्ता गरे । नयाँ मुलुकी ऐन लागू भएकै दिन १ भदौमा एक महिलाले सम्बन्ध बिच्छेदको मुद्धा दर्ता गराइन् ।
सामाजिक सञ्जालदेखि बैदेशिक रोगजारीसम्मका प्रमुख समस्या
अदालतमा आएका सम्बन्ध बिच्छेदका मुद्धाको प्रकृति हेर्दा प्रमुख कारण बैदेशिक रोजगारपछिको पारीवारिक बिचलन रहेको छ । महिलाले दर्ता गरेका मुद्धामा कारण खान लगाउन नदिएको, गाली ग्लौज गर्ने र कुटपिट गरेको, पारीवारिक संरक्षण नभएको लगायतका छन् ।
अधिकांश पुरुषले श्रीमतीले घर व्यवहार चलाउन नसकेको, पैसा हिनामिना गरेको, परपुरुषसँग सम्बन्ध राखेको र आफूलाई मानसिक तनाव दिएको लगायतका कारण देखाउँदै सम्बन्ध बिच्छेदका लागि अदालतमा मुद्दा दर्ता गराएको श्रेस्तेदार दुर्गाप्रसाद बस्यालले बताउनु भयाे ।
यी सवैको गहिराइमा कारण बैदेशिक रोजगार रहेको उहाँले बताउनु भयाे । यस अघिका समग्र सम्बन्ध बिच्छेदको कारण भने पति विदेश पत्नी अर्कैसंग हिड्ने, कम उमेरमा बिबाह, मदिरा सेवन, सामाजिक संजालको दुरुपयोग लगायतका छन् ।