राजनीति कस्तो हुनु पर्ने, यी र यस्तै विषयमा धेरै लामो संघर्ष र बलिदानले मात्र देशमा परिवर्तन सम्भव भएको छ । हाम्रो हजुरबुबा, बुबा र हामी तीन पुस्तासम्म यही परिवर्तनका लागि संघर्ष गर्दा गर्दै बिते । अब देशमा संघीय शासनप्रणाली शुरुवात भएको छ । यो परिर्वतनलाई स्थायित्व दिनु सबै नेपालीको साझा दायित्व हो । अहिले पछिल्लो पुस्तामा राजनीतिप्रति यति वितृष्णा छ कि यसलाई बेलैमा सम्बोधन नगर्ने र सही बाटोमा ल्याउन नसक्ने हो भने हाम्रो देश अन्य मुलुकको क्रिडास्थल बन्नेमा दुविधा छैन । हाम्रा राजनीतिक दल, नेताहरु र जनप्रतिनिधिले यसतर्फ ध्यान दिन सकिरहेका छैनन् वा चाहेका छैनन् । मानव विकासको चक्र जस्तै हो राजनीति । यसमा पनि हामीले ज्ञान, सीप र प्रविधि हस्तान्तरण गर्न सकेनौँ भने यो व्यवस्था कुनै पनि समय दुर्घटनामा पर्न सक्छ ।
अहिले हामी कहाँ र के मा अल्झिरहेका छौँ ? राजनीतिक प्रविधि हस्तान्तरण कसले गर्ने, कहिले गर्ने, कसको दायित्व हो ? यी र यस्तै प्रश्नको उत्तर खोज्दैमा बितेको छ । यसैले हामीमात्र होइनौँ, सन्ततीलाई पनि उही परिवर्तनका लागि लड्न बाध्य पार्दैछौँ । के राजनीति पेशा वा नोकरी हो ? अहिले विश्लेषण गर्ने हो भने हाम्रो देशको राजनीति नोकरीकै वरिपरि घुमिरहेको देखिन्छ । कुनै पेशा वा व्यवसाय नगरेका नेताहरुको आलिशान महल, ऐस–आरामको जीन्दगी, विलासी गाडी, मोजमस्ति । यी र यस्तै कारणले राजनीतिलाई फोहरी खेल वा पेशाको रुपमा हेरिएको छ । घर या समाजमा पनि कुनै युवाले राजनीतिक कामप्रति झुकाव राख्यो भने राम्रो नजरले हेरिँदैन । राजनीतिप्रतिको यस्तो वितृष्णा हामीले बेलैमा सम्बोधन गरेनौँ भने चाहेको समाजवादमा पुग्न सक्दैनौँ । हाम्रो संविधानकै परिकल्पना असफल हुने छ । हामीले खोजेको समृद्धि, आर्थिक वृद्धिदर र समाजवाद केबल कागजमा मात्रै सीमित हुनेछ । राजनीतिलाई पेशा होइन सेवाका रुपमा व्याख्या गर्न ढिला भइसकेको छ ।
कहाँ चुक्दैछन् सरकार र राजनीतिक दलहरु ?
संविधानमा परिकल्पना गरिएको संघीयता कार्यान्वयनको पहिलो प्रयास हुँदै गर्दा राज्यले पर्याप्त गृहकार्य नगरी खटिएका जनप्रतिनिधिको निर्णयले देशमा अस्थिरता चाहने पश्चिमा राष्ट्रलाई मैदान खुला भएको छ । संघीयता कार्यान्वयनमा कुनै एउटा दल विशेषको मात्र नभई सम्पूर्ण राजनीतिक दलहरुको बराबर दायित्व छ । अर्थात् जुन ९० प्रतिशत जनताको योगदान छ, त्यसलाई नजरअन्दाज गर्ने दुस्साहस कसैले नगरे हुन्छ । जनप्रतिनिधि जनताले चुनेर पठाएका हुन् । उनीहरुको मुख्य काम संविधानले परिकल्पना गरेको व्यवस्था स्थापित गर्नु हो तर शुरु कहाँबाट भयो भने जनताबाट तिरेको कर विकास–निर्माण, शिक्षा–स्वास्थ्य, खानेपानीजस्ता जनताका दैनिक आवश्यकता पूरा गर्नुभन्दा पहिला आफ्नो सेवा–सुविधा तोक्ने, बिलासिताका साधन खरिद गर्ने र शासक बन्ने प्रवृति देखा प¥यो । जनप्रतिनिधि कस्ता चुनियो भने नेताका श्रीमती, पे्रमिका, छोराछोरी । यहीँबाट नै हाम्रा नेताको विश्वसनियतामा प्रश्नचिन्ह खडा भयो । हरेक राजनीतिक दलहरुमा चुनावमा पनि योग्य र दक्ष व्यक्तिलाई पछि पारियो । हाम्रा दलहरुमा क्षमतावान नेता नभएका होइनन् तर क्षमता भएका दक्षहरुलाई स्थान दिइएन । जससँग देश निर्माणको स्पष्ट भिजन छ, खट्न सक्ने क्षमता छ, देशकै लागि अहोरात्र खट्न तयार भएका, जनताले चाहेका व्यक्तिहरु गुट वा आस्थाका कारण योग्य ठानिएनन् । अथवा त्यस्ता व्यक्ति आएमा आफूहरुको राजनीतिक भविष्य संकटमा देखेर अघि सारिएन, यो हामीले देखे–बुझेकै कुरा हो । न योग्यता छ न अनुभव छ, ती र त्यस्ता व्यक्तिहरु प्रदेश र केन्द्रका मन्त्री र नीति निर्माण र राष्ट्रिय योजना र मन्त्रालयका सल्लाहकार ! देश र जनताको भाग्य निर्माण गर्ने ठाउँमा बसेका त्यस्ता मानिसहरुबाट के आशा गर्ने ?
संसदमा जनताको मत जितेर गएका सक्षम नेताहरु पनि मन्त्री बन्ने मापदण्डमा अटाएनन् । समानुपातिक, विज्ञ, योग्य र सल्लाहकारको ठाउँमा नातागोता र आफन्त भर्ति भए । प्रतिपक्ष जिम्मेवार प्रतिपक्ष बन्न सकेन । सरकार बाहिर बस्नु परेको पीडा, सत्ताको ¥याल चुहाउने र कुण्ठा पोख्नमै व्यस्त देखियो विपक्ष । न त कुनै योजना, न एजेण्डा । तराईकेन्द्रित दलको दहीचिउरे चरित्र घाम भन्दा छर्लंग छ । कहाँ र कोबाट परिचालित छ भन्नै नसकिने । संघीय प्रणालीको पनि उपभोग र संविधानको पनि विरोध ! यी र यस्तै कारण संघीयताप्रति वितृष्णा वृद्धि हँुदै गयो । विदेशी गुप्तचर निकाय, पश्चिमा राष्ट्रको धार्मिक, समाजिक र सांस्कृतिक आक्रमणको खुलेआम ताण्डव नृत्य अनि लम्पसारवादी सरकार र विपक्ष । यस्तो अवस्थामा जनप्रतिनिधि आफ्नो सुविधा वृद्धिका लागि कर बढाउनेतिर लाग्न नहुने थियो ।
सेवा–सुविधा वृद्धि र राज्य दोहनमा न प्रतिपक्ष, न मधेसी न त सत्ता पक्ष नै ! सबै एउटै ठाउँमा । एनसेल, चुडामणि शर्मा, दीपकराज जोशी, लोकमान अनि दिगम्बर झा ! सबै दल वा नेताका सामुहिक प्रतिनिधि । खोइ त प्रष्टिकरण, खोइ कारण ? के देश र जनताप्रति उत्तरदायी हुनु पर्दैन ? यदि होइन संस्थागत भ्रष्टाचार ? हाम्रा नेता र राजा ज्ञानेन्द्रमा कुनै भिन्नता देखियो ? यही हो जनताले चाहेको र ल्याएको परिवर्तन । राजनीतिक दलको पब्लिक अडिट पक्कै हुनेछ, चुनावका बेला । तर त्यतिखेरसम्म परिस्थिति धेरै बिग्रिसकेको हुनेछ । राज्य सञ्चालन करबाटै हुनेमा दुईमत छैन । हरेक देशको विकास करको वैज्ञानिक र दूरगामी दृष्टिकोण, स्रोत–साधनको उपभोग र स्पष्ट भिजनले निर्माण गर्दछ । तर हामीले चुनेका जनप्रतिनिधि र विज्ञ कस्ता भए भने पशुपतिमा छाडेका साँढे जस्ता । आफ्ना व्यक्तिगत स्वार्थ पूर्तिका लागि हद पार गर्न पनि पछि परेनन् । जनताले कर तिरेकै हो र तिर्नु पनि पर्छ तर राज्यले नागरिकबाट लिएको कर राज्यको सुधार र नागरिकलाई प्रत्यक्ष राहत हुने कार्यमा लगाउनु पर्दछ । कर तिर्नु जनताको दायित्व भएजस्तै सेवा दिने पनि राज्यको दायित्व हुनु पर्दछ । सामान्य पेशा वा व्यवसाय गरी बिहान–बेलुका हातमुख जोर्ने समुदाय, सडक पेटीमा मकै पोलेर गुजारा गर्ने जनता, खोलाको छेउमा गिट्टी कुटेर जीविकोपार्जन गर्ने गरिव एवम् निमुखा वर्गसँग कर लिएर करोडौँका गाडी खरिद गर्ने, विदेश शयर गर्ने र तारे होटलमा मोजमस्ती गर्ने ! यो संविधानले कल्पना गरेको समाजवाद उन्मुख अर्थनीति थिएन ।
के सुधार सम्भव छ ?
अहिलेको चेतनशील युगमा असम्भव केही छैन । छ त केवल इच्छाशक्तिको खाँचो । देश हाम्रो हो भने सुधार गर्ने दायित्व पनि हाम्रै हो । हामीले नै हाम्रा सन्ततिलाई बाटो देखाउने हो । व्यक्ति, समाज र राष्ट्र परिवर्तन गर्न राजनीति भन्दा उपयुक्त अर्को क्षेत्र छैन । राम्रो पढेलेखेका मान्छेहरु राजनीतिमा नआएमा देश अयोग्य एवम् लफंगाहरुको हातमा जानेछ । अहिलेको राजनीतिक सिण्डिेकेट तोड्न पनि सबैले निडर भएर अगाडि बढ्न आवश्यक छ । हामीले आफ्ना सन्तानको गाँस काटेर तिरेको करको सदुपयोग भयो वा दुरुपयोग ? खबरदारी गर्ने अधिकार हाम्रो हो । अब देशमा राजनीतिका लागि योग्यता पनि शिक्षा र दक्षता नै हो । हाम्रा अग्रजहरुको त्याग र बलिदानलाई नजरअन्दाज गर्न मिल्दैन । उहाँहरु जुन उद्देश्यका लागि लड्नु भयो, जुन समाजको परिकल्पना गर्नु भयो, त्यसको परिणामस्वरुप जनताद्वारा जनताका लागि लिखित संविधान पायौं । यो संविधान जहिले हाम्रो लागि अपूरो लाग्छ, त्यतिबेला संशोधन गर्न जनताकै साथ हुनेछ । अब व्यवस्था परिवर्तनका लागि कसैले रगत बगाउनु पर्ने छैन । नेपाल आमाले छोराछोरी गुमाउनु पर्ने छैन र नपरोस् पनि ।
जनप्रतिनिधि भनेका शासक होइनन्, हाम्रा काम गर्न गएका प्रतिनिधि हुन् । जनतालाई करको दर एक्कासी बढाउने जनमत थिएन । पहिले राज्यले दिने न्युनतम सुविधा देऊ सरकार, दर होइन दायरा बढाऊ, कर लेऊ जनताले चाहेको यति हो । संविधानले परिकल्पना गरेको संघीयताअनुसार गाउँगाउँमा सरकार रहेको आभाष देऊ । विदेशमा रहेका पौरखी युवालाई स्वदेशमा फर्काउने नीति बनाऊ । उद्योग कलकारखाना स्थापना गर । उद्योगी व्यवसायीलाई गरिखाने वातावरण बनाइदेऊ । उनीहरुका लागि राज्यबाट के सुविधा दिनु पर्ने हो, छलफल गर । लगानी सुरक्षाको ग्यारेण्टी गर । गरिब असहायको घाउमा मलम लगाऊ । स्वास्थ्य, शिक्षा र रोजगारी ग्यारेण्टी गर । विदेशीसँग घुँडा टेकेर होइन, आँखामा आँखा जुधाएर विकास निर्माणका योजना पेश गर । राष्ट्रलाई घात हुने कुनै सन्धी–सम्झौता नगर । हाम्रा प्राकृतिक स्रोतसाधन भरपुर सदुपयोग गर । युवालाई स्थान देऊ । पाका नेताहरु योजनाको अनुगमनमा लाग । बाटो बिराउन लागे खबरदारी गर । हाम्रालाई होइन राम्रालाई स्थान देऊ । अनि नेपाललाई स्वीट्जरल्याण्ड होइन समृद्ध नेपाल बनाऊ । योभन्दा पवित्र काम के हुन सक्छ ? संघीयता नेतृत्वले लादेर होइन, जनताको रहरले चल्ने व्यवस्था बनाऊ । नेता र नेतृत्व चुन्ने व्यवस्था बन्दैमा नयाँ नेपाल बन्दैन । सबैले महसुुुस गर्न सके अपनत्व लिनसके मात्र समाजवादी व्यवस्था लागु गर्न सकिनेछ ।
अन्त्यमा
तिमीले गरेका राम्रा कामको लिष्ट लिएर जनतामा जाऊ । जनता राम्रालाई अनुमोदन गर्न फूलमाला लिएर बसेका छन् । तिमीहरुलाई स्वागत फूलमालाले गर्ने कि जुत्ताको मालाले ? माला नै हो ! यस कुरालाई सोच है साथी हो । सही बाटो हिँड्ने हो भने अहिले मिहिनेत गर, चुनावमा ढुक्कसँग आराम गर । अहिले मिहिनेत गर्ने हो भने चुनावमा सजिलो हुने छ । तिम्रा प्रतिस्पर्धी कोही हुने छैनन् । तिम्रो भोट तिमीले माग्नु पर्दैन, जनता आफैँले माग्ने छन् । देश हाँक्ने सुनौलो अवसर छ अहिले । फेरि यस्तो अवसर आउने छैन । तिमी जिम्मेवार बन । भ्रष्टाचार रोक्ने आँट भाषणमा होइन, व्यवहारमा लागु गर । जनताको करबाट सुविधा लिएर उदघाटन, सभा, समारोहमा भाषण गर्न होइन गाउँ, प्रदेश र देशको विकास निर्माणको मासिक, त्रैमासिक, अर्धवार्षिक र वार्षिक योजना बनाइ पब्लिक अडिटमा पेश गर । तिम्रो मूल्यांकन तिमीले होइन, तिमीलाई भोट दिने जनतालाई गर्न देऊ । अनि देश त्यस्तो देश हामी र हाम्रा सन्ततिले अनुभूत गर्नेछन् । राजनेता गर्भमै कोही बन्दैन । परिस्थिति र समयले बनाउने हो । मण्डेला, महाथिर वा लेण्डुप दोर्जे के बन्ने ? रोजाइ तिमीहरुकै हातमा छ । हाम्रा नेता गणको अग्निपरीक्षा हो यो । आफ्नो हातले आफ्नै भविष्य निर्धारण गर्ने बेला छ अहिले । भनिन्छ नि, ‘भाग्य विधाता नै तिमी, कस्तो लेख्ने तिम्रै भाग्य तिम्रै हात आफैँ जगन्नाथ ।’ पाठकहरु, हामी राजनीतिलाई सुधार गर्ने र राम्रो नजरले हेर्ने वातावरण बनाउदैनौँ, भ्रष्टाचार र मनपरीतन्त्र देखेर पनि बोल्दैनाैँ भने हामीसँग आलोचना गर्ने पनि नैतिकता र अधिकार पनि रहनेछैन ।