श्रवण थापा सर्लाही । एकताका ‘लिटिल बुद्ध’ को उपमा र पगरीले समेत पुकारिएका बाराका धर्मभिरु रामबहादुर बमजन सर्लाहीको पत्थरकोटमा छन् । दुई साताअघि रौतहटकी गंगा तामाङले काठमाडौं आएर आफूलाई १८ पटक बलात्कार गरेको आरोपसहित पत्रकार सम्मेलन गरेपछि विवादमा तानिएका बमजनको थप विवादित कृयाकलाप बाहिर आएका छन् । आश्रमको ८ लाख रुपैयाँ चोरीको बात लगाएर निकालिएपछि बमजनको बदनाम गरेको भन्दै बमजन पक्षधरले काठमाडौंमा पत्रकार सम्मेलन गरेपनि बमजनको थप अपराधमाथि पर्दा हाल्न सकिएको छैन ।
अपहरण आतंकबमजनको संगति (धार्मिक समूह) ले सर्लाहीमा अपहरण आतंक मच्चाउन थालेको छ । आश्रमबाट भागेर पलायन भएकी पूर्व आनी (सेविका) किशोरीलाई भेटेर धम्की दिने काममा बमजनका संरक्षक र सहयोगीहरु लागेका छन् । असोज ४ गते बिहीबार बिहान ९ बजे सर्लाहीको बागमती नगरपालिका–१ डुमाजोरबाट १७ वर्षीया किशोरी सिर्जना बमजन अपहरणमा परिन् । किशोरी अपहरण घटनाले गाउँ नै आतंकित बन्यो । बागमती–१ स्थित जनता माध्यमिक विद्यालयमा ८ कक्षामा अध्यनरत सिर्जना बमजनलाई अपरिचित व्यक्तिको समूहले नियन्त्रणमा लियो । एउटा भ्यानमा राखेर अज्ञातस्थल पु¥यायो ।
पूर्वमन्त्रीकै पत्नी अपहरणमा संलग्नस्कूल हिँडेकी सिर्जना बाटैबाट अपहरण परेको समाचार गाउँमा फैलियो । परिवारजनले इलाका प्रहरी कार्यालय बागमतीमा जानकारी गराए । प्रहरी कार्यालयमा गाउँलेहरुको भिड लाग्यो । अपहरण गर्नेहरुले सिर्जना बमजनका बाबु दुर्गा बम्जनलाई फोन गरेर प्रहरीमा उजुरी नगर्न धम्की दिए । गाउँलेहरुको दबाबपछि प्रहरीले अपहरणकारीलाई फोन ग¥यो । अपहरित सिर्जनालाई इलाका प्रहरी कार्यालय कर्मैयामा उपस्थित गराउन भनियो । प्रहरीको दबाबपछि अपहरणकारीले ४ घण्टा पश्चात सिर्जनालाई उनकै घर छेउमा छाडेर भागे । सिर्जनालाई नियन्त्रणमा लिएर अज्ञातस्थल लैजाने काममा पूर्व स्वास्थ्यमन्त्री मणि लामाकी पत्नी पनि जोडिएकी छिन् । आफूलाई महिला अधिकारकर्मी बताउने आशा लामाको पनि संलग्नता रहेको सिर्जनाका अभिभावकको आरोप छ ।
किन गरियो अपहरणरामबहादुर बमजनका विषयमा सत्य कुरा बाहिर नबोल्नु भन्ने चेतावनी दिन गुम्बाबाट भागेकी सिर्जनालाई अपहरण गरिएको थियो । बमजनले बलात्कार गरेको आरोप लगाउने किशोरी गंगा मोक्तानको पक्षमा आश्रम छाडेर बाहिरिएकी अन्य आनीहरुले पनि बोल्नसक्ने डरले रामबहादुर बमजन र उनलाई देखाएर धर्मका नाममा व्यापार गर्नेहरु आत्तिएका छन् । अनि आफूलाई रामबहादुर बमजनका समर्थक भन्नेहरुले आनीहरुको मुख बन्द गर्ने प्रयास गरिरहेका छन् । पूर्व आनीहरु र सञ्चारकर्मीहरुबीच भेट नहोस् भन्ने उनीहरुको पहिलो चाहना छ ।
अरु पनि अपहरितअपहरित सिर्जनालाई लगेर बन्द कोठामा राखियो । त्यहाँ सीता घलान पनि पहिला नै अपहरण गरेर ल्याइएको रहेछ । रामबहादुर बमजनका संगतिका मानिसले दुवै किशोरीलाई बन्दकोठामा थुनेर राखे । रामबहादुर बमजनबारे नराम्रो नभन्न आग्रह गरे । फेरि फर्केर आश्रममा आउन धम्की मिसिएको अनुरोध गरे । सीता घलानलाई पनि जबर्जस्ती आश्रम लगिएको छ ।
को थिए अपहरित युवतीहरुअपहरणमा परेकी सिर्जना र सीता घलान कुनै बेला रामबहादुर बमजनलाई भगवान मानेर आश्रममा आनी बन्न गएका थिए । अनुयायी बनेर हिँडेकी सिर्जना र सीता रामबहादुर बमजनको आश्रममा हुने अनाचार र अत्याचारबाट आजित भए । अन्ततः २०७५ जेठ २४ गते विहीबार सर्लाहीको पत्थरकोट आश्रमबाट राति ९ बजे सिर्जना बमजन भाग्न सफल भइन् ।सिर्जनासँगै बागमती नगरपालिका–१ का वडा अध्यक्ष गम्भीरसिंह पाख्रिनकी छोरी सरिता पाख्रिनलाई पनि अपहरणकारीले लैजाने योजना बनाएका थिए । तर वडाअध्यक्ष पाख्रिन घरमै थिए । उनले छोरीलाई लैजान नदिने भन्दै प्रतिरोध गरेपछि संगतिका मानिस फर्किए ।
सरिता पाख्रिन लगभग २ वर्ष रामबहादुर बमजनकै गुम्बामा बसेर पर्किएकी हुन् । गुम्बामा ज्ञानको भण्डार हुने विश्वाससहित आनी बन्न परिवारसमेत त्यागेर बमजनको शरणमा पुगेकी सरिता तपस्वी भनिएका रामबहादुर बमजनको अश्लिल हर्कत र व्यवहार देखेर त्यहाँबाट बाहिरिएकी थिइन् ।
११ आनी भागेसर्लाहीको पत्थरकोटमा रहेको बमजनको आश्रमका १४ आनी मध्ये पटकपटक गरेर ११ जना बाहिरिएका छन् । सर्लाहीको बागमती–१ की सिर्जना बम्जन, शर्मिला थोकर, लालबन्दीकी प्रमिका बल, सिन्धुली क्यानेश्वरकी कमली मोक्तान र सिन्धुली बरुणकी डोल्मो थिङ बमजनको आश्रमबाट भागेका आनीहरु हुन् । उनीहरु २०७५ साल जेठ २४ गते बिहीबार बमजनको आश्रम भागे । त्यसैगरी २०७५ असार २२ गते रौतहटको गुजारा नगरपालिका–२ की गंगा मोक्तान, उनको भाइ दावा मोक्तान र बागमती–२ की सीता घलान पनि गुम्बामा फस्टाइरहेको पाप उद्योगको उत्पादन देखेर विरक्त लागेर भागे । केही समयपछि बागमती–१ डुमाजोरकी मनिका लो, हरिवन–८ की सन्जु घलान, बागमती–१ की सरिता पाख्रिन र धादिङकी मनमाया थोकर पनि सिन्धुलीको गुम्बाबाट बाहिर निस्कन सफल भए ।
आनीबाट आत्महत्या प्रयासआश्रमभित्र कतिसम्म शोषण र दमन हुँदोरहेछ भन्ने उदाहरण पनि युवतीहरुले बाहिर ल्याएका छन् । गंगा र सीताले आत्महत्याको प्रयास समेत गरेका थिए आश्रममै । पछि आश्रम सचालकहरुले भित्रका नराम्रा कुरा बाहिर नलैजाने शर्तमा छाडेका थिए ।
बमजनकी पत्नी नै पाप संरक्षक ?रामबहादुर बमजनले रोजेर सेविका आफूसँग राख्छन् । गुम्बाभित्र सबैभन्दा कडा नियम हो, अनुमति नलिई रामबहादुर बमजनको कोठामा पस्न र पसेपछि बाहिर निस्कन पाइँदैन । गुम्बाबाट बाहिर निस्कदा गुरुआमा अर्थात रामबहादुर बमजनकी पत्नी दीपशिखाले गुम्बाभित्रको कुनै कुरा बाहिर नबताउन बारम्बार अनुरोध गर्छिन् ।
एउटी आनी बेपत्तातपस्वी भनिएका रामबहादुर बमजनमाथि यौनशोषण र बलात्कारको आरोप लागिसकेको छ । उनका आश्रमबाट बेलाबखत महिला बेपत्ता हुनु पनि नौलो होइन । सर्लाहीको बागमती नगरपालिका–१२ साविक कर्मैया–३ काजीराम टोलका रीता बोट बमजनको आश्रमबाट बेपत्ता बनाइएकी छन् । हलखोरिया जंगलबाट बाहिरिएपछि रामबहादुर बमजन र रीता कर्मैया आएका थिए । त्यसपछि रीता कहाँ छिन्, कसैलाई थाहा छैन । उनी बेपत्ता पारिएकी हुन् । परिवार नै त्यागेर बमजनको आश्रम छिरेकी रीताको खोजी गरिएन । रीताका भाइ कमल बोटले दिदीको बिषयमा सामान्य सोधपुछ गरे पनि प्रहरीमा रिपोर्ट नगरिएको बताए ।
६ वटा आश्रममा के हुन्छ ?रामबहादुर बमजनको सर्लाही, बारा, चितवन, लमजुङ, सिन्धुली र सिन्धुपाल्चोकका ६ स्थानमा फराकिलो क्षेत्रफल भएको गुम्बा छ । ती गुम्बाहरु गोप्य राखिएका छन् । सरकारलाई पनि उनको गुम्बा कहाँ कति छ भन्ने जानकारी छैन । गुम्बामा कसैलाई प्रवेश अनुमति छैन । अनुमतिविना गुम्बाबाट बाहिर निस्कन पनि पाइँदैन । आखिर धार्मिक स्थानमा यस्तो सख्त पहरा र नियम किन ? बमजनका गुम्बा धार्मिक स्थान हुन् कि जेल ? समाजले औँला उठाउन थालेको छ ।
को हुन् बमजन२०६२ जेठबाट बाराको रतनपुरी जंगलमा ६ वर्ष लामो तपस्यामा बसेका रामबहादुर बमजन चर्चाको शिखरमा पुगे । गुम्बाकी सेविका (आनी) लाई बलात्कार गरेको पीडितले खुलासा गरेपछि बमजन १३ वर्षपछि फेरि चर्चामा छन् । रामबहादुर बमजन एक छोरा र पत्नीसहित ललितपुरकोे सिभिलहोम मेनगेट–२१ नम्बर कोलनीमा पनि बस्छन् । उनको आश्रम समाज र राज्यको निगरानी र पहँुच बाहिर राख्ने हो भने भारतका कथित बाबा रामरहिम र हनिप्रित जस्तै घटना हुनसक्ने सम्भावना रहेको भागेर निस्केका आनीहरुले औंल्याएका छन् ।
यसअघि के आरोप थियो बमजनलाई ?–एक युवकमाथि तरबार प्रहार–गोठालालाई नियन्त्रणमा राखेर कोर्रा प्रहार–विदेशी महिला मारिचीलाइ महिनौँ दिन बन्धक– एक वृद्ध महिला र आनीलाई बन्धक–आफनै दाजुबहिनीमाथी कुटपिट (घरायसी विवाद)
तस्बिरः बमजनको आधिकारिक वेबसाइट maitriya.info बाटhttps://www.youtube.com/watch?v=9dXxH2qZfMc