शरद ऋतुको आगमनसँगै नृत्यांगनाहरु एकसुरमा नाचेझैँ धानका बाला, भविष्यको सानो आशामा फुल्दै गरेको बारीको कोदो अनि दशैँको सम्झना दिलाउन उड्ने दशैँकीरो उही तवरले हर्षबढाइँ गरिरहेकै थिए । वर्षा ऋतुले यो वर्षकै अन्तिम सास फेरिसकेको थियो । बारीभरिका बोडी र काँक्राका झालहरु सकेजति बचेरा उत्पादनमा अभ्यस्त थिए । स्कुस र घिरौँलाको लहरो पनि आकाश नै छुन्छु भनेजस्तै गरी उकालो लागिरहेका थिए । बिर्खे र कालेदाइहरु पनि विविध कामहरु थाँती राखेर फर्किसकेका थिए आफ्नै गाउँ ।
सूर्यको तेज विस्तारै मन्द हुँदै चमक दिन अल्छी मान्न थालिसकेको थियो । विस्तारै चिसो बढेको अनुभव हुँदै थियो । दिनभर अफिसको कामले थाकेको बटुवा घर फर्किए । उज्यालो पनि आफ्नो काम सम्पन्न भयो भने झैँ फर्कियो आफ्नै देश अर्थात् अध्याँरो बढिरहेको थियो । विविध कार्यव्यस्तताले थाकेका जनमन निन्द्राको चरम गहिराइमा डुबिसकेका थिए । बाहिर सुनसान थियो, टाढाबाट कुकुर भुकेको आवाजले झस्काइरहेको थियो । सदा झैँ आउने दशैँले एकदमै गिज्याएको अनुभव भइरहेको थियो ।
२ वर्ष अगाडिसम्म दशैँको आगमनसँगै मृगशावकहरु जस्तै उफ्रन्थेँ, हाँस्थेँ, नाच्थेँ । तर समयको गतिले खुशी सहन गर्न सकेन । हाँस्ने मुखमा टेप लगाएजस्तै मुखमा पनि समयले टेप लगाइदियो । अनि मानसपटलभरि आएर ती दिनहरु बज्रिन थाले । सम्झिन थालेँ, त्यही फूलपातीका दिन । जुन दिनबाट हाँसो आसुमा बदलियो । दशैँ आएको खुसीयालीमा दशैँको तयारीमा जुटिसकेका थियौँ । दिदीहरु घर रङ्ग्याउन माटो लिन गए । म पनि जंगलतिर बाख्रा लिएर बर र पीपलको लहरा समाउँदै ‘हुर्रे हुर्रे’ भन्दै पिङ खेल्न थालेँ ।
सम्झन पनि चाहन्नँ त्यो क्षण, विलीन भएँ यो संसारबाट
बा दशैँका सर्जाम लिन बजार पुग्नुभएको थियो । आमा पनि दशैँका लागि पात टिप्न जंगल जानु भएको थियो । यसपाली पनि सदाजस्तै दशैँलाई भव्य मनाउने सोच थियो । एक्कासी कुद्दै आएका माथ्लाघरका सिने काकालाई देखेर झसङ्ग भएँ । उनले रुख चढेको देखेर हतारमा तल आउन लगाए र हात समातेर कुदाए । अक्क न बक्क भएँ । के भयो काका, प्रश्न गरे ? उनी छिटो हिँड भन्दै स्वाँस्वाँ गर्दै लामो सुस्केरा हालिरहेका थिए । कौतुहलता र डरले मुटुको धड्कन बढिरहेको थियो कि मानौँ काकाले पनि मुटुको धड्कन सुनिरहेका छन् ।
तान्दै गैरीको जंगलतिर घिच्याए । छक्क परेँ किन लगे त काकाले जंगल ? मनमा त्रासको अग्नि जल्न थाल्यो, कताकता गोडाहरु कामेझैँ भयो । अनि टक्क रोकाए । डराइरहेको थिएँ स्वर पनि स्पष्ट थिएन । अनि विस्तारै सुस्ताए, काका यहाँ किन ल्याउनुभयो ? त्यही समयमै कोलाहाल गर्दै गाउँभरिका देखा परे । असमञ्जसमा परेँ, के भयो यहाँ ? मुटुको धड्कन पलपल बढिरहेको थियो । सबै आइसकेपछि काकाले हातले इशारा गरे । सबैजना डिलनिर पुगेर तल हेर्न थाले । त्यहाँ त आमाको लाश पो रहेछ । मम्झन पनि चाहन्नँ त्यो क्षण । त्यो देखेपछि त के भयो भन्ने नै थाहा छैन । आफैँ विलीन भएँ यो संसारबाट ।
कस्तो थियो त्यो नियतिको खेल । दशैँ धुमधामले मनाउन जंगलमा पात टिप्न गएकी आमा सदाका लागि नर्फकिने गरी जानुभएछ । सामान किन्न बजारसम्म पुग्नुभएका बा सामान नै नकिनी घर फर्किनुभएछ । हाँस्दै र आफैँले बिहान खान खुवाएर पठाएकी प्रियाले कहिल्यै नभेट्ने गरी छाडेर गएपछि बा एकतमासको हुनुभयो । खुसीले भरिएको घडा कहिल्यै नभरिने गरी पोखियो । अब हामीमा खुसीको कुनै आश रहेन । ब्युँझिँदा आमालाई आर्यघाट लैजाने तयारी रहेछ । यी सबै दृश्य एउटा सपनाझैँ भएको थियो । मानिस भेला भएर आमालाई बाँसको खटियामा हाली सेता कपडाले छोपेर डोरीले हातगोडा बाँधिरहेका थिए । कस्तो सन्तान थिएँ म ! आफूलाई यो संसारमा ल्याएर, हरेक दुःखका साथ दिने मेरी आमालाई बाँधेर घाटतर्फ लैजाँदा पनि म एकदमै मौन थिएँ ।
त्यो दृश्य टुलुटुलु हेरिरहेको थिएँ तर कुनै प्रतिक्रिया थिएन । मलाइ देखेर गाउँका मानिस सम्झाउन आए, न म रोएँ न कुनै प्रतिक्रिया नै दिएँ । उनीहरुले जता लान्छन्, जे भन्छन् बलीको बोको जस्तै भएर घिच्चिरहेको थिएँ । चिच्याएर रुन खोज्थेँ तर आवाजविहीन हुन्थेँ, हास्न खोज्थेँ ओठ नै खुल्दैनथ्यो । केहीबेरपछि आमाको लाश बोकेर गाउँका सबै ओरालो झरे । मलाइ पनि समातेर लिएर हिँडेँ । अवाक रहेँ । केहीछिनपछि आमाको लाश घाटतिर पुर्याएर बिसाए । त्यतिबेरसम्म मौन रहेँ । मानौँ कि आमाको मृत्युले मलाई केही फरक नै परेन । त्यसपछि जब सबै मिलेर रगतले लतपतिएका बस्त्र आमाको शरीरबाट निकाल्न थाले । अनि हान्नेँ गोरुझँै एक्कासि त्यहाँबाट उठेर ती मानिसलाई धमाधम पिट्न थालेँ ।
छोड, मेरी आमालाई छोड
किन लुगा फुकाल्देको तिमीहरुले, नचलाओ, मेरी आमालाई केही भएको छैन भन्दै मूढो भइसकेको आमाको लाश उठाएर काखमा राखेँ । भनेँ आमा छिट्टो उठ्नू न । हामी यहाँबाट भागौँ, यिनीहरुले तपाईंलाई मार्छन् । हामी शहर जाउँ के आमा, म तपाईंलाई जसरी पनि पाल्छु । घरमा बाले दशैँका सामान लिएर आइसक्नुभएको छ के, छिटो हिँड्नु न । आमालाई बेस्सरी घच्घच्याउँन थालेँ । तर जड भइसकेकी आमाले केही प्रतिक्रिया दिनुभएन । निरास भएँ अनि बेजोडले कराउन थालेँ । आमा छिटो उठ्नू न ।
रोएँ, चिच्याउँदै रोएँ, उफ्रिँदैँ रोएँ, अदृश्य रहेको भगवानसँग
आमाको अवस्था अहिले सम्झन्छु । शरीरभरि पूरै रगत लत्पतिएको, मखमली चोली पनि च्यातिएर धुजाधुजा भएको, हातका औँलाहरु पनि दुईवटा मात्र बाँकी रहेको, राम्ररी नहेरी मुख पनि नचिनिने रगतमा मुछिएको शरीर अनि झिंगाहरु पनि भन्किन थालेका थिए । सास रहुन्जेल त हो नि जिन्दगीको आश नत्र त जडबस्तु बन्दिँदोरहेछ । म रोएँ, चिच्याउँदै रोएँ, उफ्रिँदैँ रोएँ, अदृश्य रहेको भगवानसँग आमालाई फर्काइदिए जस्तो पनि बदला दिनसक्छु भन्दै हात जोडेँ । तर केही सीप लागेन । अब आफैँलाई दुःख दिनुबाहेक कुनै उपाय रहेन । आफैँलाई भुत्ल्याउन थालेँ । सबै आएर सम्झाउन थाले ।
म पागलसरि बालुवा किनारामा दर्गुन थालेँ, के के गरेँ । राम्ररी याद पनि आउन्न । पछि जबर्जस्त ल्याएर आमाको शरीरमा आगो लगाए । बेजोडले चिच्याउँदै थिएँ, नाइँ–नाइँ । केहीबेरमै आमाको जड शरीर बल्न थाल्यो । मानिसहरु त्यसमा अझै अगुल्टोले घोचिरहेका थिए । आमालाई पोल्यो निकाल–निकाल भन्दै उफ्रिन थालेँ । केहीबेरमा बिहानसम्म सुम्सुम्याएर अमूल्य जीवन दिने आमाको शरीर खाक भयो । थाहा छैन, आमा कहाँ जानुभो ? अझै पनि लाग्छ कि, आमा फर्केर आएर कपाल सुम्सुम्याउँदै भन्नुहुन्छ ।
बाबु हामी गरिबका छोराछोरी ठूलो मान्छे बन्नुपर्छ है ! अनि यी दुःखका पहाड छिचोल्दै अघि बढ्नुपर्छ । यी शब्दले काँडाले झैँ घोच्छन् अनि एक्लै बसेर सुनसान शहरमा चिच्याउँदै भन्छु, ‘जहाँ मैले जति चिच्याए पनि कसैले सुन्दैन र कसैले सोध्दैनन् ।’ ‘तलाईं के भो,’ रुँदै एक्लै भन्छु, ‘आमा तपाईंको चाहना अवश्य पूरा गर्नेछु ।’ मेहेनतले धेरै धनी बन्नेछु । अनि तपाईंको फोटोमा आएर सफलताको माला अवश्य चढाउनेछु ।
तीनघरे, सिन्धुपाल्चाेक