काठमाडौं । विश्व जनसंख्याको एक चौथाई शारीरिक कसरतका कार्यमा बिल्कुलै पछि रहेको तथ्यांक छ विश्व स्वास्थ्य संगठनको । सन् २००१ देखि शारिरीक कसरत गर्ने व्यवहारमा कुनै पनि उल्लेख्य प्रगति गराउन नसकेको तथ्यांक देखाउँदै विश्व स्वास्थ्य संगठनले १ अर्ब ४० करोड विश्वको जनसंख्यामा विभिन्न स्वास्थ्य समस्या देखिन थालेकोमा सजग गराएको छ । शारिरीक कसरतको अभावमा अहिले विश्वमा मधुमेह टाइप–२, मुटुुरोग र केही क्यान्सर जस्ता विभिन्न नसर्ने दीर्घरोगहरु वृद्धि भइरहेको विश्व स्वास्थ्य संगठनको दाबी छ । यो तथ्यांकले विश्वमा हरेक चारमध्ये १ को जीवन जोखिममा रहेको निष्कर्ष निकालेको छ । द ल्यासेन्ट पब्लिक हेल्थका लागि अध्ययन प्रतिवेदन सार्वजनिक गर्ने क्रममा विश्व स्वास्थ्य संगठनका अनुसन्धानकर्ताले विश्वका १ सय ६८ देशका नागरिकको व्यवहार अध्ययन गरेको थियो ।
अध्ययन प्रतिवेदनअनुसार, उच्च आम्दानी भएका बेलायतसहितका देशका नागरिकसमेत शारिरीक व्यायामका विषयमा अत्यन्तै कम सक्रिय रहेको पाइएको छ । अझ अचम्म त प्रतिवेदनमा के छ भने, एसियाका पूर्वी र दक्षिण पूर्वी दुई क्षेत्रबाहेक विश्वका सबै देशका महिलाहरुको शारिरीक कसरतमा निष्क्रियता बढेको छ । बेलायत र अमेरिका जस्ता उच्च आय भएका मुलुकमा व्यायामको सवालमा निष्क्रिय रहने बानी सन् २००१ मा ३२ प्रतिशत रहेकामा बढेर ३७ पुगेको छ भने कम आय भएका मुलुकमा १६ प्रतिशतमा स्थिर छ । यो तथ्यांकलाई आधार मान्दै अनुसन्धानकर्ताले सन् २०२५ सम्म शारीरिक व्यायाम र सक्रियतामा १० प्रतिशत वृद्धि गर्ने विश्व स्थास्थ्य संगठनको लक्ष्य पूरा नहुने चेतावनी दिएका छन् । विश्व स्वास्थ्य संगठनले भने विश्वभरका मानिसमा बढिरहेको निष्क्रियताका कारण जनस्वास्थ्यमा गम्भीर असर पर्नेतर्फ सचेत रहन आग्रह गर्दै आएको छ ।
शारिरीक कसरतमा निष्क्रियताको आधारमा अगाडि रहेका देशहरु- कुबेतः ६७ प्रतिशत- साउदी अरेबियाः ५३ प्रतिशत- इराकः ५२ प्रतिशत- युगाण्डा र मोजाम्बिकः ६ प्रतिशत
१९ वर्षदेखि ६४ वर्षसम्ममा गर्नु पर्ने व्यायामका सुझावहरु
कति गर्ने ?- हरेक हप्ता कम्तीमा १५० मिनेटको मध्यम एरोबिक अथवा ७५ मिनेटको भारी व्यायाम- शरीरका हरेका मांशपेशीमा बल पुग्ने गरी भारी व्यायाम कम्तीमा हप्ताको दुई दिन- लामो समयसम्म बसेर कार्य गर्नेहरुले समय समयमा हल्का कसरत गर्ने
मध्यम एरोबिकमा के के पर्छ?- छिटो छिटो हिँड्ने- थोरै उकालोमा साइकल चलाउनु- डबल टेनिस खेल्नु- हाइकिङ- भलिबल, बास्केटबल खेल्नु
भारी कसरतहरु- जगिङ वा दौडनु- छिटो पौडिनु- उकालोमा छिटो साइकल चलाउनु- फुटबल, रग्वी, हकी खेल्नु- डोरी खेल्नु- मार्शल आर्टस्
मांशपेशी बलियो बनाउने कसरतहरु- वजन उठाउनु- पुस अप वा सिट अप जस्ता आफ्नै शरीरको वजनलाई बल दिएर गरिने कसरत- खन्ने, जोत्ने जस्ता बागवानी वा खेतीका कार्य- योगा
-एजेन्सी