संयोग नेपालकाठमाडौं । नेपालमा रियालिटी शो हेर्ने दर्शकको सङ्ख्या वृद्धि भइरहेको छ । नेपालमा भनेजस्तो रियालिटी शो प्रसारण नहुँदा नेपाली भारतीय टेलिभिजनमा आउने रियालिटी शो हेर्न बाध्य थिए । तर अब भने दर्शकले नेपाली रियालिटी शो नै बढी हेर्न थालेका छन् । नेपालमा सबैभन्दा धेरै हेरिने रियालिटी शोमा ‘नेपाल आइडल’ र ‘द भ्वाइस अफ नेपाल’ पर्छ । गायनमा आधारित यी दुई शोलाई दर्शकले अत्यधिक रुचाएका पनि छन् । हामी यी दुई शोमध्येबाट एक ‘द भ्वाइस अफ नेपाल’ बारे केही जानकारी दिनेछौँ ।
ड्रेस विवादःपहिलोपटक नेपालमा आएका हरेक शोहरु विवादित भइरहँदा ‘द भ्वाइस अफ नेपाल’ अहिलेसम्म ठूला विवादमा रुमल्लिएको छैन । यद्यपि सानातिना विवादहरुले यसलाई पनि छाडेको छैन । ‘भ्वाइस अफ नेपाल’मा पछिल्लो समयमा विवादमा आएको विषय डे«सअपको विषय हो । कार्यक्रममा रहेका ४ जना कोच दीप श्रेष्ठ, अभया सुब्बा, प्रमोद खरेल र सनुप पौडेलको साथमा कार्यक्रमका होस्ट सुशील नेपालले लगाएको ड्रेस कार्यक्रमको १० औँ श्रृंखला सकिँदासम्म पनि एउटै देखिएपछि विभिन्न टिकाटिप्पणी आए ।
धेरै नै टिकाटिप्पणी हुन थालेपछि शोका कोचमध्येका एक प्रमोद खरेलले ट्विटरमार्फत स्पष्टिकरण नै दिनुपर्यो । कार्यक्रमको फरम्याट नै त्यस्तो भएको कुरा उनले आफ्नो ट्विटमा उल्लेख गरेका छन् । यस्तै, उनले एक अन्तर्वार्तामा समेत यसबारे स्पष्टिकरण दिएका छन् । ‘करोडौँ खर्च गरेर बनाएको शोमा एउटा डे«सलाई किन कञ्जुस्याइँ गरिन्थ्यो होला र ?’ प्रमोद भन्छन्, ‘शो को फरम्याट नै त्यस्तो हो, ब्लाइन्ड अडिसनमा एकैकिसिमको डे«स हुन्छ भने ब्याटल अडिसनमा चेन्ज हुन्छ ।’
उनी थप्छन्, ‘तर एउटा राउन्डसम्म एकैकिसिमका ड्रेस लगाउने त्यो शो कै फरम्याट हो । तपाईंले चाहनुभयो भने अमेरिकन भ्वाइस, अस्ट्रेलियन भ्वाइस र युरोपियन भ्वाइस हेर्न सक्नुहुन्छ ।’
भ्वाइसको सुटिङ चलिरहँदा सबै कोच व्यस्त छन् । कोचहरुले आफ्ना विभिन्न कार्यक्रम नै स्थगित गरेका छन् । तीमध्येका एक कोच प्रमोद खरेलले त आफ्नो डेढ महिना लामो अमेरिका यात्रासहितको टुर नै छाडेको बताए । मिडियासँग कुराकानी गर्दै प्रमोदले यस्तो बताएका हुन् । ‘शो को लागि धेरै रेकर्डिङ र कन्सर्टहरु छाडेँ,’ प्रमोद भन्छन्, ‘अमेरिकाको डेढ महिनाको टुर थियो, दुई दिनमा फर्कनुपर्यो ।’ कोचहरुलाई ‘भ्वाइस अफ नेपाल’ले सबै कुरा मूल्याङ्कन गरेर पाश्रिमिक दिएको प्रमोदको भनाइ छ ।
आफ्ना सम्पूर्ण काम थाँती राखेर दत्तचित्त भई लागेकाले शोले दर्शकको मन जितेकामा प्रमोद सन्तुष्ट छन् । कुराकानीक्रममा प्रमोदले आफूले अर्को रियालिटी शो ‘नेपाल आइडल’ पनि हेर्ने गरेको बताए ।