नवलपरासी । पश्चिम नवलपरासीमा प्रतापपुर–३ अमवास्थित गोल्डेन लाइफ इंग्लिश स्कुल का सञ्चालक तथा प्रिन्सिपल हरेन्द्र बडै शर्मासहित ५ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा शर्मा, भानु मुसहर, प्रतापुर–३ का ५५ वर्षीय ठगई प्रसाद मुसहर, उनका छोरा १८ वर्षीय बलिराम र गुल्मी अर्बौनी घर भई सुनवल नगरपालिका– १२ भूमहीमा बस्दै आएका ३२ वर्षीय तिलक भट्टराई छन् ।
प्रहरी कार्यालय सेमरीका अनुसार, प्रतापुर गाउँपालिका–३ धनेबा खोलानजिकै शनिबार राति १० बजे पीपलबोटमा पूजा गरेको र त्यसको ५ सय मिटर टाढा खोलाछेउमा खाडल खन्दै गरेको माछा मार्न गएका स्थानीयले देखेपछि प्रहरीमा खबर गरेपछि घटना बाहिर आएको हो । प्रहरी राति १ बजेर ३० मिनेटमा पुग्दा बलिरहेको बत्ती, माटोको भाँडामा पकाइएको खिर, सानो खराउ र खाडल खन्न प्रयोग गरिएको फरुवा फेला परेको थियो । प्रहरी पुग्दा भागेका बडै र भानु मुसहर आइतबार पक्राउ परेका हुन् ।
'प्रिन्सिपलबाट महिला बली प्रयास' प्रिन्सिपल बडैले यसअघि विद्यालय प्राङ्गणमा खाल्डो खनेर पूजा गरी महिलालाई बली दिन लागेको आरोप लागेको थियो । जेठ १८ गते विद्यालय प्राङ्गणमै रातको समय विशेष पूजा लगाउँदा महिला बली दिने प्रयास भएको भन्ने आरोप लागेकाले पूजा पूरा गर्न दोश्रोपटक प्रयास गरेको हुनसक्ने बताएका छन् । जेठमा भएको घटनामा बली दिन लागिएको भनिएकी प्रतापपुर–३ अमवाकी फूलमति मुसहरले आफूलाई बली दिने प्रयास गरिएको भन्दै प्रहरीमा जाहेरी दिएकी थिइन् । प्रहरीले घटनालाई गम्भीररुपमा नलिएको र मिलापत्रमै टुंगाएकोले पनि दोश्रोपटक उस्तै प्रकृतिको घटना भएको स्थानीयको भनाइ छ ।
के भन्छन् सिडिओ/डिएसपीपश्चिम नवलपरासीको प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले सम्बन्धित व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरिसकेकाले दोषी ठहर भए कडा कारबाही हुने बताए ।
‘घटनामा अनुसन्धान भइरहेको छ,’ डिएसपी मोहनबहादुर खाणले भने, ‘अनुसन्धानक्रममै रहेकाले अहिले केही भन्न सकिएन ।'
हराइरहेका छन् बालकअसोज २ गतेदेखि पाल्हिनन्दन गाउँपालिका– १ शंकरपुरका १२ वर्षीय रोहित चौधरी हराइरहेका छन् । यही बेला बडैले खाडल खनेर पहिले झैँ पूजा गरेको देखेपछि गाउँले सशंकित भएका हुन् । साइकलमा साथीको घरमा गएको भनिएका रोहितको अहिलेसम्म बेखबर छन् ।
हराइरहेको छोरो घर फर्किन्छ कि भन्ने आसामा रहेको चौधरीमा बाबुआमा यो घटना बाहिर आएपछि निकै आत्तिएका छन् । जेठ महिनामा भएको घटना र अहिले भएको घटना प्रकृति उस्तै भएकोले छोरा खोजी कार्यमा सहयोग गरिदिन आइतबार जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीमा अभिभावकले निवेदन दिएका छन् ।