काठमाडौं । यो तस्बिर देशको ऐतिहासिक सम्पदासूचीमा प्राथमिकतामा परेको सम्पदा अर्थात् नुवाकोटको साततले दरबार क्षेत्रको हो । विदुर–२ स्थित यो दरबार भूकम्पले भत्काएको सम्पदा हो र पुनर्निर्माणमा सरकारको चासो नपुग्दा झ्याउले झांगिएको छ र सरकारलाई, त्यसमा पनि पर्यटन वर्ष, भ्रमण वर्षका नाममा २० लाख भन्दा बढी पर्यटक ल्याउने भनेर गफिँदै हिँडेका सरकारका मन्त्री, सचिव, कर्मचारीलाई जिस्काउने तस्बिर हो ।
यो तस्बिर र आलेख सरकारी समाचार बुलेटिन राससमा छापिएको सामग्री पनि हो । जहाँ भनिएको थियो, यसको जीर्णोद्वारमा चीनको प्राविधिक टोलीसँग सल्लाह हुनै बाँकी छ । अर्थात् पर्यटक आउँदा यो ‘लार्के’ हुन बेर लगाउँदैन ।लार्के भनेको एकप्रकार पानीमा उम्रिने झार हो । ठूला ढुंगा पानीमा डुब्दा माथि उम्रेर लहलह भएको झारलाई लार्के भनिन्छ । दुनियाँलाई के भ्रम हुन्छ भने खोलामा लार्के छ, लार्के होइन, मुनि ठूलो ढुंगा छ भनेर थाहा पाउन झार हटाउन पर्छ, त्यस्तै होला भन्ने डर छ साततले दरबारमा ।
पर्यटन मन्त्री रविन्द्र अधिकारीको पर्यटन भित्र्याउने महात्वाकांक्षी योजना छन् । उनले अनेक योजना सुनाएका थिए । ती योजनाहरुमा यो दरबार किन परेन ? परेको भए अहिलेसम्म पुनर्निर्माणको काम किन भएन ? मीठा कुरा सुनेर ‘मधुमेह’ हुन लागेका नागरिकलाई यो तस्बिरले पक्कै पनि झस्काउँछ । हो, पर्यटनमन्त्रीलाई जिस्काउने यो तस्बिर भन्दा फरक नपर्ला ।
अब बाँकी राससका लागि नुवाकोटबाट नवदीप श्रेष्ठ अजनवीले लेखेका शब्दहरु जस्ताको तस्तैः
भूकम्पले भत्काएको ४१ महिनासम्म पनि सम्पदा पुनर्निर्माणका सरकारको ध्यान नपुग्दा अलिअलि जोगिएको सम्पदा पनि नाश हुन थालेको छ । भूकम्पले नुवाकोट दरबार क्षेत्रको मुख्य आकर्षण मानिएको साततले दरबारलाई चिरा चिरा बनाएर चार्काएको छ भने रंगमहल, गारदघर, भैरवी मन्दिर, तुलजा भवानीको मन्दिर, नारायण मन्दिर लगायतको सम्पदाहरु भत्काएको थियो ।
भूकम्पले भत्काएको बेलामा खासै क्षति नभएको संरचना पनि भूकम्प पछिको चार वर्खामा सुरक्षित गर्न नसक्दा भत्किदै गएको विदुर नगरपालिका वडा नं. २ का वडाअध्यक्ष वीरेन्द्रकुमार शाहीले बताउनुभयो । ‘भूकम्पछि तत्काल नेपाल सरकारले चासो दिएर भएको सम्पदा जोगाउन मात्र ध्यान दिएको भए अहिलेको जति क्षति हुने थिएन’ वडाअध्यक्ष शाहीले भन्नुभयो ‘भूकम्पले जीर्ण बनेको सम्पदालाई जोगाउन चासो नदिदा वर्षातको पानीले भत्कायो ।’
भूकम्पले माथिल्लो एक तलामात्र भत्किएको तुलजा भवानीको मन्दिर रहेको दरबार वर्षातको पानीबाट जोगाउन नसक्दा भत्किएको छ । गत वर्ष साउनमा मन्दिरको उत्तरपटि पाखोको जगैसम्म भत्किएको छ । ‘तत्काल पुनर्निर्माण गर्न नसकेको भए पनि भूकम्पले भत्काएपछि मन्दिरभित्र वर्षातको पानीमात्र रोक्न सकेको भए भत्किने थिएन’ नुवाकोट सम्पदा मञ्चका अध्यक्ष पुष्कर शर्मा रिमालले भन्नुभयो ।
नुवाकोट दरवार क्षेत्रको ऐतिहासिक सम्पदाहरु भूकम्पले कम सरकारले बढी भत्काएको स्थानीयको भनाई छ । भूकम्पले थोरै भत्काएको सम्पदाहरुलाई जोगाउन सरकारको बेलैमा ध्यान नपुग्दा वर्खाको पानीले भत्काउँदै माटोमै मिलाउन थालेको नुवाकोट सम्पदा मञ्चका अध्यक्ष रिमालले बताउनुभयो ।
भूकम्प गएको चार वर्ष पुग्न लाग्दा पनि नुवाकोटको पुरातात्विक महत्वको सम्पदा कहिले बन्द भनेर कसैलाई थाह छैन । ‘चीन बनाईदिन्छ भन्ने सुनेका छौं । पुरातत्व विभागका अधिकारीहरु आउँदा पनि चीनले बनाइदिन्छ भन्छन् । तर, कहिले बनाउन थाल्छ उनीहरुले नै थाह नभएको बताउँछन्’ वडाअध्यक्ष शाहीले भन्नुभयो ।
नुवाकोटको प्रमुख पुरातात्विक, ऐतिहासिक तथा पर्यटकीय थलोको पुनर्निर्माणले गति लिन नसक्दा अस्तित्व नै समाप्त हुने चरणमा पुगेको छ । भूकम्पपछिको चार वर्खा झेल्दा सम्पदा संकटमा परेको हो । काष्ठकलामा अनुपम नमुना मानिएको दरवार र मन्दिरमा कुँदिएका कलात्मक टुँडालहरु कुहिसकेको छ । सयौं वर्ष अघि कुँदिएका यी काष्ठकलाहरुलाई जोगाएर भावी पुस्तालाई हस्तान्तरण गर्न नसके आउँदो पुस्ताले पक्कै धिक्कार्ने छ भन्छन् स्थानीय ईन्द्रबहादुर पण्डित ।
भूकम्पले माथिल्लो तलामात्र भत्काएको तुलजा भवानीको मन्दिर भत्किइसकेको छ । यस्तै, साततले दरबारको प्राङ्गणमा रहेको गारद घर पनि भूकम्पले माथिल्लो तलामात्र भत्काएको भएपछि वर्खामा जोगाउन नसक्दा गारद घरको अस्तित्व माटोमा मिल्नमात्र बाँकी रहेको छ । हाम्रो आफ्नो ऐतिहासिक सम्पदा हामी आफैले पुनर्निर्माण गर्न नसकेको विदेशीलाई दिने हो । तर, विदेशीलाई दिने भनिए पनि बेलैमा सरकारले पहल गरी पुनर्निर्माण नथालिदा देशकै महत्वपूर्ण सम्पदाको सकिने तरखरमा पुगेको छ ।
भूकम्पले जीर्ण बनाएको साततले दरबार टेकोले धानेर अड्याएको छ । टेकोले धानेको दरबारको पनि लगातारको झरीको छानाका झिगटीमात्र नभई माथिल्लो तलाका इटाहरुसमेत खस्न थालेको छ । चीन सरकारले बनाइदिने भने पनि कहिलेबाट यसको काम शुरु हुने थाहा नभएको पुरातत्व विभागको स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका प्रमुख अर्जुन फुँयालले बताउनुभयो । ‘चीनले दशैंपछिबाट पुनर्निर्माण थाल्ने भनेको जानकारी आएको छ । तर, दशैं पछिबाट साच्चै शुरुवात होला भन्ने एकिन आफूलाई पनि जानकारी छैन’ उहाँले भन्नुभयो ‘यहाँको अवस्थाको बारेमा पटक पटक विभागमा जानकारी गराएको छु । मेरो काम नै जानकारी गराउने र यहाँको भत्किदै गएको सम्पदाहरु टुलुटुलु हेरेर बस्नेमात्र भएको छ ।’
चीनका प्राविधिकहरुले गतवर्ष नुवाकोट दरबार क्षेत्रमा आएर एकसातासम्म बसेर सर्भे गरेका थिए । त्यो सर्भेपछि तत्काल दरबारको पुनर्निर्माण हुने आशा पलाएको पनि एक वर्ष भईसकेको छ । भूकम्प गएको केही महिनापछि नै नुवाकोट दरबार क्षेत्रको पुनर्निर्माणमा चीनले सघाउने सार्वजनिक भएको थियो । चीनले पुनर्निर्माण गरिदिने समाचार पढेर दंग भएका स्थानीय अहिले निराश बनेका छन् । ‘चाडै दरबार क्षेत्र भूकम्प प्रतिरोधी संरचनाको रुपमा निर्माण हुने भो भनेर खुशी भएका थियौं तर अहिलेसम्म पुनर्निर्माणको चालचुल केही छैन’ वडाअध्यक्ष शाहीले भन्नुभयो ।
विदुर नगरपालिकाका उपमेयर गीता दाहालले सांस्कृतिक सम्पदाहरुको पुनर्निर्माण तथा संरक्षणको लागि जुनसुकै संस्था जिल्लामा भित्रिएपनि नगरपालिकाकासँग समन्वयन हुन नसकेको बताउनुभयो । दाहालले पुरातत्व विभाग र चीन सरकारले साततले दरबार तथा भैरवी मन्दिरको अवलोकन गरी पुननिर्माण गर्ने चासो देखाएको जानकारी आफूलाई भएपनि संस्थागत रुपमा कुनै जानकारी नभएको र दरबार क्षेत्रका पुनर्निर्माणको कुनै काम शुरु नभएको बताउनुभयो ।पृथ्वीनारायण शााहको पालामा निर्मित पुरातात्विक सम्पदा साततले दरबारको पुरानै शैलीमा पुनर्निर्माण गरिनु अहिलेको आवश्यकता रहेको भन्दै उनीहरुले छिटो भन्दा छिटो पुरातत्व विभागसँग समन्वय गरी दरबार र आसपासका मन्दिरको पुननिर्माण कार्यलाई तिब्रता दिन स्थानीयले आग्रह गरेका छन् । साततले दरबारभन्दा कयौं वर्ष पुराना तुलजा मन्दिर मन्दिर लगायतको पनि तत्काल पुनर्निर्माण गर्न माग गरेका छन् ।
सम्पदा गाउँनुवाकोट दरबार क्षेत्र वरपरको वस्तीलाई पुरातात्विक शैलीमा पुनर्निर्माण गर्ने अभियान नै चलाइएको छ । नीजि आवास समेत पुरातात्विक शैलीमा पुनर्निर्माण भईरहेको बेलामा आफ्नो ठाउँको सम्पदाहरु भने असरल्ल परेको स्थानीय आनन्द श्रेष्ठले बताउनुभयो ।दरबार क्षेत्र वरपरका पाँच दर्जन घरहरु पुरातात्विक शैलीमा निर्माण भईरहेको सम्पदा गाउँका सदस्य ध्रुव थापाले बताउनुभयो । ‘स्थानीयले थप रकम लगानी गरेर सम्पदा क्षेत्रको स्वरुप झल्कने घर बनाइरहेका छन्’ थापाले भन्नुभयो ‘सरकारले भने भएको सयौं वर्ष सम्पदा वेवास्ता गरिरहेको छ । सरकारी वेवास्ताले सम्पदा नै सकिने खतरा बढेको छ ।’दरवार क्षेत्रका घरहरु सम्पदा शैलीमा पुनर्निर्माण गर्दा सरकारले दिने तीन लाख अनुदानमा थप रु. ५० हजार पाउने छन् । यस्ता घर निर्माण गरेका विदुर नगरपालिकाले पनि थप रु. ४० हजार अनुदान दिने भएको छ ।
भैरवी मन्दिर अझै अधुरैनुवाकोट दरबार क्षेत्र चीनले पुनर्निर्माण गरिदिने भने पनि भैरवी मन्दिर भने पुरातत्व विभागले नै पुनर्निर्माण गरिरहेको छ । जिल्लाको प्रमुख मन्दिर तथा प्रमुख मेला लाग्ने थाले भैरवी मन्दिरको पुनर्निर्माण पनि गत असारमै सकिने गरी ठेकेदारसँग सम्झौता भएको भए पनि अझै पुनर्निर्माण सकिएको छैन ।
भूकम्पले भत्काएको मन्दिरको पुनर्निर्माण रु.४ करोड ६० लाख लागतमा हुँदैछ । पुरातत्व विभागका सवइन्जिनीयर गोविन्द अधिकारीले भूकम्प लगतै भारत सरकारले लगाएको नाकाबन्दी, प्राचीनकालका काठ तथा इट्टा उपलब्ध गराउन असहजता र ठेकेदारको निर्माण कार्यमा ढिलासुस्तीका कारण पनि दरबार र दरबार आसपासका मन्दिरमा पुनर्निर्माणले गति लिन नसकेको बताउनुभयो । अहिले पुरातत्व विभागले नुवाकोट क्षेत्रको इन्द्रायणी मन्दिर, बुढी देवता, सरस्वती मन्दिर, गणेस्थान लगायत साना मन्दिरहरु पुनर्निर्माण गरिरहेको छ ।
पर्यटक प्रभावितनुवाकोट आउने अधिकांश आन्तरिक तथा बाह्य पर्यटकहरु एक पटक साततले दरबार क्षेत्रमा पुग्ने गरेको थिए । कतिपय पर्यटकहरु नुवाकोट दरबार अवलोकन गर्नकै लागि यहाँसम्म धाउने गरेका थिए । भूकम्पले दरबार क्षेत्र तहसनहस बनाएपछि आन्तरिक तथा बाह्य पर्यटकको आगमन निकै घटेको छ ।
साततले दरबारलाई संग्रालयमा रुपान्तरण गरि पर्यटकको लागि खुला गरिएपछि यहाँ दरबारको सातौ तलाबाट नुवाकोट र रसुवाका हिमाला, डाडाकाडा र फाँटहरु अवलोकन गर्न आउनेको भीड लाग्ने गरेको थियो । भूकम्पले दरबार जीर्ण बनाएपछि प्रवेश रोकिएको छ । दरबार अवलोकनमा आउने आन्तरिक तथा बाह्य पर्यटकको आगमन ठप्प भएको साततले दरबार संग्रालयका कर्मचारी रोजिना श्रेष्ठले बताउनुभयो ।
भूकम्प अघि दरबार अवलोकन गर्नमात्र वर्षमा २० हजार भन्दा आन्तरिक तथा वाह्य पर्यटक आउने गरेका थिए । रसुवाको लाङटाङ क्षेत्रमा घुमेर आउने सयौं विदेश पर्यटक नुवाकोट दरबार हेर्नको लागि आउने गरेका थिए भन्नुहन्छ स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका प्रमुख अर्जुन फुँयाल ।
नुवाकोट दरबार क्षेत्रलाई भूकम्पले क्षत विक्षत बनाएपछि सुनसान बनेको छ । पुनर्निर्माणले समेत गति नलिदा यहाँका स्थानीय निराश बनेका छन् भन्नुहुन्छ प्रमुख फुँया । उहाँ भन्नुहुन्छ ‘सयौं वर्ष पुराना देशकै महत्वपूर्ण भनेका सम्पदाहरुको यो हालत देख्दा स्थानीयमात्र होइन जो कोही सम्पदाप्रेमी निराश बन्छ ।’